ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चीनबाट ३ दिनभित्र स्वास्थ्य उपकरण ल्याउने तयारी

२०७६ चैत, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । सरकारले चीनबाट कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा उपचारमा आवश्यक पर्ने स्वास्थ्य उपकरण ३ दिनभित्र ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा चीन सरकारले उपलब्ध गराउने उपकरण अबको ३ दिनभित्रै ल्याउने गरी तयारी भइरहेको बताए । 

त्यसरी ल्याइएका स्वाथ्य उपकरण तथा साधनहरू प्रदेश, जिल्ला र स्थानीय स्तरमा पठाइनेछ । ती उपकरण सम्बद्ध ठाउँमा पठाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जिम्मेवारी दिनेगरी समिति गठन गरिएको ढकालले बताए । 

कोरोना नियन्त्रणका लागि नेपालले आफ्ना दुई नजीकका छिमेकी भारत र चीनसँग स्वास्थ्य सामग्री तथा उपकरण मगाएको छ । 

सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि आवश्यक स्वास्थ्य उपकरण अन्तरराष्ट्रिय बजारबाट ल्याउन निजीक्षेत्रलाई मंगलवार आह्वान गरेपछि चीनको क्वाङझाओमा उपकरणहरू संकलन भइरहेको केमिकल तथा मेडिसिन आपूर्ति संघले बताएको छ । ‘३० टन जति सामान संकलन भएपछि सरकारले उपलब्ध गराउने हवाई साधनबाट समान ल्याइने योजना छ । सकेसम्म शुक्रवार नभए शनिवारसम्म उपकरण आउँछ,’ संघका अध्यक्ष सुरेश घिमिरेले भने ।

संघले स्थानीय स्तरमा उपलब्ध सामग्रीबारे बुधवार तथ्याङ्क संकलन गरी स्वास्थ्य मन्त्रालयलाई बुझाएको छ । ‘चीनबाट ल्याउने सामग्रीेबारे संघको छुट्टै टीमले काम गरिरहेको र हाल नेपालमा उपलब्ध सामानहरूको सूची सरकारलाई उपलब्ध गराइएको हो,’ संघका महासचिव विनोद मानन्धरले बताए । 

क्वारेन्टाइनका लागि नगरकोटदेखि दुवाकोटसम्मको ‘फिल्ड भिजिट’
पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरस संक्रमितहरूका लागि क्वारेन्टाइन निर्माणका गर्न विभिन्न स्थानहरूको स्थलगत निरीक्षण गरेका छन् । भट्टराईले बुधवार काठमाडौंको नगरकोट, दुवाकोट र पशुपति धर्मशालाको स्थलगत निरीक्षण गरेर सरोकारवालाहरूसँग छलफल गरेका थिए । उनी सरकारले गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजकसमेत हुन् । 

क्वारेन्टाइन व्यवस्थापन मापदण्ड–२०७६ तयार पारेर स्वीकृत भएलगत्तै मन्त्री क्वारेन्टाइन निर्माणका लागि दौडधुपमा छन् । मंगलवार पनि दिनभरिजसो क्वारेन्टाइन निर्माणका लागि स्थलगत निरीक्षण र छलफलमा जुटेका भट्टराईले बुधवार नगरकोटका होटल व्यवसायीसँग त्यहाँका होटलमा क्वारेन्टाइन निर्माण बारेमा छलफल गरे । 

नगरकोटमा उपलब्ध करीब २ हजार कोठामध्ये पहिलो चरणमा ५ सय कोठालाई क्वारेन्टाइन निर्माण गरिने भएको छ । 

बुधवार नै भट्टराईले भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजको पनि निरीक्षण गरेका छन् । दुवाकोटमा क्वारेन्टाइनका लागि ४ सय ५० बेड र आइसोलेशनका लागि ५ वार्ड तयारी अवस्थामा राखिएको छ । 

मन्त्री भट्टराईले अन्तरराष्ट्रिय मापदण्डअनुसारको १ लाख ३० हजार क्वारेन्टाइन निर्माणको तयारी भइरहेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)