ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउन प्रभाव : अधिकांश ठूला पूर्वाधार आयोजना ठप्प

केहीमा भने काम हुँदै

२०७६ चैत, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारले मुलुकभर १ हप्ता लकडाउन गरेपछि ठूला पूर्वाधार निर्माणमा प्रत्यक्ष प्रभाव परेको छ । कोरोना भाइरसका कारण यसअघि नै पूर्वाधार निर्माणका कामहरू प्रभावित भएका थिए । केही आयोजनामा भने काम भइरहेको सम्बद्ध आयोजना प्रमुखहरू बताउँछन् । तर, अधिकांश आयोजना प्रमुखहरू अहिले लकडाउन खुल्ने समयसम्मका लागि ‘पर्ख र हेरको’ अवस्थामा छन् ।

कोरोना भाइरस र लकडाउनका कारण नेपालको पहिलो सडक सुरूङमार्गका रूपमा परिचित नागढुंगा—नौबीसे सुरूङमार्ग, भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, नारायणगढ—बुटवल सडक खण्ड चौडा गर्ने काम पनि प्रभावित भएको छ । त्यस्तै, भारतीय लगानीको अरूण तेस्रो जलविद्युत् आयोजनाको काम पनि बन्द छ । 

लकडाउनको अवस्थामा पनि आयोजना तथा निर्माणाधीन स्थलभित्रै रहेका कामदारबाट केही आयोजनामा भने काम भइरहेको छ । तिनमा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना पर्छन् । त्यस्तै, हुलाकी राजमार्ग तथा नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजनामा प्रक्रियागत कामहरू छिटफूट रूपमा भइरहेका छन् । 

चिनियाँ कामदार संलग्न केही पूर्वाधार आयोजना कोरोनाका कारण जनवरीदेखि नै प्रभावित हँुदै आएका थिए । चिनियाँ कामदारहरू चिनियाँ नयाँ वर्ष मनाउन चीन गएर नेपाल फर्कन नसक्दा विमानस्थल, सडक, जलविद्युत्जस्ता पूर्वाधार आयोजनाहरूको निर्माणमा असर परेको थियो । 

सन् २०२१ जुलाईसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको पोखरा विमानस्थल आयोजनाले हाल विमानस्थलभित्र रहेका चिनियाँ तथा केही नेपाली कामदारमार्फत काम जारी राखेको बताएको छ । आयोजना प्रमुख विनेश मुनकर्मीले आर्थिक अभियानसँग कुरा गर्दै भने, ‘लकडाउनको अवस्थामा हामीले विमानस्थलभित्र कोही पस्न दिएका छैनौं भने विमानस्थलमा बाहिरबाट पनि कोही आउन पाएका छैनन् । तर, विमानस्थलभित्रै रहेका कामदारबाट नियमित रूपमा सुरक्षित तवरबाट काम भइरहेको छ ।’

विमानस्थलका लागि मगाइएका उपकरण केरूङ नाकामै रोखिनु तथा सिमेन्ट अभाव अहिलेको प्रमुख समस्या रहेको उनले बताए । मुनकर्मीका अनुसार अहिले निर्माणाधीन विमानस्थल भित्र रहेका करीब ३०० कामदार तथा कर्मचारीबाट काम भइरहेको छ । तीमध्ये झन्डै २०० चिनियाँ कामदार रहेका छन्् । 

मेलम्ची खानेपानी आयोजनामा पनि आयोजनास्थलमा रहेका चिनियाँ र केही स्थानीय कामदारले सुरक्षाका उपाय अपनाएर काम गरिरहेको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए । 

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता पन्तले सुरक्षाका उपायहरू अवलम्बन गरी काम गर्न भनिएको जानकारी दिए । उक्त आयोजनाको १ किलोमीटर सुरूङमा केही दिनअघि पानी परीक्षण सफल भएपछि आगामी असारसम्ममा काठमाडौंको सुन्दरीजलमा मेलम्चीको पानी आउने दाबी सरकारले गरेको थियो । हुलाकी राजमार्गमा पनि छिटफुट रूपमा केही खण्डमा काम भइरहेको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताए । लकडाउन हुनासाथ कतिपय कामदार घर जान नपाएको र साइटमै क्याम्प बनाएर काम गरिरहेको जानकारी आएको उनले बताए । 

नागढुंगा—नौबीसे सुरूङमार्ग आयोेजनाका प्रमुख श्याम खरेलले आयोजनामा १३ जना जापानी कामदार रहेको र १७० जना स्वदेशी कामदारमार्पmत काम भइरहे पनि लकडाउनपछि भने काम पूर्णरूपमा ठप्प रहेको बताए । उनका अनुसार लकडाउनको अवधि कति लामो हुने भन्ने विषयले नै आयोजनाका काम अब कसरी अघि बढ्छ भन्ने यकिन हुनेछ । 

यसैगरी गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख प्रवेश अधिकारीले अहिले कामदारहरू क्याम्पमा बसेको तर सिमेन्ट, बालुवा र उपकरणहरू नआउँदा काम अघि बढाउन नसकिएको बताए । नियमति रूपमा काम हुन सकेको भए चैतभरिमा आयोजना सम्पन्न गर्ने कार्यतालिका थियो । अब भने त्यो कार्यतालिका प्रभावित हुने देखिएको छ ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ—बुटवल सडक खण्डको विस्तार पनि अहिले रोकिएको छ । चिनियाँ कामदार आयोजनास्थलमा आइसकेका छन् र उनीहरूमा कोरोना भाइरस पनि देखिएको छैन । तर, भौतिक काम भने अहिले नभएको आयोजना प्रमुख सुजन अधिकारीले बताए । 

बहुप्रतीक्षित काठमाडौं–तराई द्रुतमार्गको काम पनि रोकिएको छ । आयोजनाको मुख्य काम भने आगामी पुसदेखि हुने भएकाले द्रुतमार्गमा लकडाउनको खासै प्रभाव नपर्ने आकलन गरिएको छ । अहिले आयोजनाले नीतिगत प्रक्रिया तथा परामर्शदाता छनोटको काम गरिरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)