ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज सुक्खा बन्दरगाहमा थुप्रिए २५ सय कण्टेनर

२०७६ चैत, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

विरगञ्ज । लकडाउनका कारण ढुवानीका साधन र मजदूर आपूर्ति ठप्प हुँदा वीरगञ्ज सुक्खा बन्दरगाहमा कन्टेनर थुप्रिन थालेका छन् । भारतको कोलकाता र विशाखापत्तनम् बन्दरगाहबाट रेलमार्फत वीरगञ्ज आइपुगेका कन्टेनर व्यवसायीले बन्दरगाहबाट निकाल्न पाएका छैनन् । 

सरकारले अत्यावश्यकीय वस्तुको ढुवानी र ओसारपसार बन्द नहुने बताएको छ । तर, ढुवानीका साधन र मजदूर उपलब्ध नभएका कारण बन्दरगाहमा आइपुगेका कन्टेनर अड्किएको बन्दरगाह सञ्चालनको जिम्मा पाएको हिमालयन टर्मिनल प्रालिका अधिकृत अनिमेष कुमारले बताए । बिहीवारसम्म बन्दरगाहमा २ हजार ५ सय कन्टेनर थन्किएका छन् । 

तीमध्ये आयातित सामानका १ हजार ५ सय र १ हजार खाली कन्टेनर रहेको जानकारी अनिमेष कुमारले दिए । ‘बन्दरगाहबाट कन्टेनर निकाल्न नपाएपछि व्यवस्थापन अस्तव्यस्त भएको छ । अब आउने कन्टेनरलाई कहाँ राख्ने भन्ने समस्या छ,’ उनले आर्थिक अभियानसित भने । 

अहिले कोलकाता र विशाखापत्तनम्बाट हिँडेका २७ ओटा कन्टेनर बोकेका र्‍याक बाटोमै रहेको बन्दरगाहले बताएको छ । यी  र्‍याक १ हप्ताभित्रै वीरगञ्ज बन्दरगाहमा आइपुग्छन् । यसबाट २ हजार ४ सय ३० कन्टेनर थपिन्छन् । 

फलाम उद्योगका कच्चा पदार्थ बोकेका पाँच र बोराबन्द कार्गोका तीनओटा र्‍याक पनि वीरगञ्ज बन्दरगाहतर्फ आइरहेका छन् । सबै रेल वीरगञ्ज आइपुगेपछि अनलोडमा समस्या हुने चिन्ता बन्दरगाह सञ्चालकलाई थपिएको छ । 

बाटोमा रहेका ३५ ओटा र्‍याक वीरगञ्ज आइपुग्दा सामान ओराल्न ठाउँ नपुग्ने टर्मिनलले बताएको छ । ‘बाटोमै रेल उभ्याउँदा आयातकर्ताले जरीवाना तिर्नुपर्छ । बन्दरगाहमा अनलोड भएका कन्टेनर उठाउन नसकेपछि बन्दरगाहलाई जरीवाना बुझाउनुपरेको छ,’ आयातकर्ता प्रदीप केडियाले गुनासो गरे । 

प्रहरीले आयातकर्ताका प्रतिनिधिलाई समेत आवागमनमा रोक लगाएको छ । कन्टेनर र फलाम अनलोड गर्ने मजदूर र ढुवानीका साधनलाई प्रहरीले आउन नदिएकाले समस्या भएको टर्मिनलले बतायो । पास बोकेका मजदूरलाई समेत प्रहरीले कुटपिट गरेको व्यवसायीहरूले बताएका छन् । 

३ दिनमा ग्यासका ८४ बुलेट 
वीरगञ्ज भन्सार कार्यालयले यो नाकाबाट पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी, चामल र अन्य व्यापारिक प्रयोजनका सामग्री भित्रिएको बताएको छ । भन्सारका सूचना अधिकृत विमल शाहले बितेको ३ दिनमा ८४ बुलेट ग्यास आयात भएको जानकारी दिए । केही परिमाणमा औद्योगिक कच्चा पदार्थ पनि आएको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)