ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशबाट भित्रिएकालाई अबिलम्व क्वारेन्टाइनमा राख्न ढिला नगरौं 

२०७६ चैत, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि आचार्य

चैत १५, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न तथा न्यूनिकरणका लागि सरकारले मुलुकमा लकडाउन गरेको शनिवार पाँच दिन पुग्दैछ ।

चैत  ११ गतेबाट शुरु भएको लकडाउनको यो अवधिसम्ममा नागरिकले अनेकन सास्ती खेपी रहनु परीरहेको  छ । अझ कति  दिन  यो अवस्था जारी रहने हो अहिल्यै भन्न सकिने अवस्था पनि  छैन । 

सरकारले  संक्रमण फैलन नदिन तथा पूर्वसावधानी अपनाउन अनेक प्रयासहरु जारी राखेको छ । निजी क्षेत्रले पनि  सरकारको यो कदममा साथ दिइरहेका छन् । सरकारले प्रदेश सरकार तथा स्थानीय तहलाई क्वारेन्टाइन बनाउन निर्देशन दिइरहेको छ । 

नागरिकतहमा सहायता पुग्ने गरी विभिन्न तहबाट क्वारेन्टाइन मात्र होइन होम क्वारेन्टाइनमा बस्न खवरदारी भइरहेको छ । सुरक्षानिकायले यसतर्फ गम्भिरताका साथ पहल गर्दै सडक तथा सार्वजनिक स्थानमा जमघट हुन नदिन आवागमनमा लगभग रोक लगाएको अवस्था छ ।

छिमेकी राष्ट्र चीन हुँदै फैलिएको कोरोना भाइरसको संक्रमणले यतिखेर समग्र यूरोप अनि अमेरिका र खाडी राष्ट्रलाई  पिरोलि रहेको छ । डिसेम्वर महीनाको अन्तिमसाताबाट चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण यो अवस्थामा आइपुग्दा कयौंको अकालमा ज्यान गएको छ ।

ठूलो आर्थिक क्षति भएको छ । आर्थिक गतिविधि लगभग ठप्प अवस्थामा छ । बेरोजगारी दर बढ्दो अवस्थामा छ । यो अवस्था कति दिनका लागि हो भन्ने अन्यौल बढ्रदै गर्दा सरकारले संक्रमण नियन्त्रण तथा नागरिकको उपचारको साटो आर्थिक  सहायताका प्याकेजहरु ल्याउनु परिरहेको छ ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न समयमा नसक्दा  चीनले  हजारौं आफ्ना नागरिकहरु  गुमाउनु पर्‍यो । त्यहाँ महीनौंसम्म उद्योगधन्दा कलकारखाना तथा पाठशालाहरु बन्द हुन पुगे ।

अझै स्थिति सामान्य बनिसकेको अवस्था भने छैन । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले पूर्व चेतावनी दिदादिदै पनि चीनले बेहोर्नु परेको नागरिक तथा आर्थिक क्षतिलाई  चीन  बाहेका अन्य मुलुकले समयमै पाठ लिन नसक्दा विश्वभरी नै यो भाइरसको संक्रमण फैलिइसकेको छ । 

अझ भन्ने हो भने त चीनले भोगेकोभन्दा बढी क्षति यूरोप तथा अमेरिकाले भोगिरहेको तथ्य संचारमाध्यमहरुबाट सार्वजनिक भइरहेको छ । त्यहाँ यसरी  दिनप्रतिदिन क्षति बढ्दै जानुमा कोरोना भाइरसप्रतिको बेवास्ता  र गैरजिम्वेवारी पनि मुख्य कारण थियो । यो त त्यहाँको सरकार र नागरिकको तहबाट लापरवाहीको पराकाष्ठा नै थियो भन्दा अतिसयोक्ति नहोला ।

नेपालको सन्र्दभमा हेर्ने हो भने भाइरसको संक्रमणको संख्या हालसम्म चार पुगेको छ । जसमा २ जनाको टेकुस्थित अस्पतालमा उपचार भइरहेको छ भने अर्का १ जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बाँकी अर्का १ जना निको भएर घर फर्किएका छन् ।  यसले के पुष्टि गर्दछ भने नेपालमा पनि पूर्व सावधानी नअपनाउने र चुस्तदुरुस्त भएर रोकथाम तथा नियन्त्रणका लागि नबस्ने हो भने भयाबह अवस्था सृृजना हुन सक्दछ ।

यतिखेर छिमेकी राष्ट्र भारत पनि लकडाउनमा  छ । कोरोना भाइरस सम्वन्धि विश्वको तथ्यांक राख्दै आउको वल्र्ड मिटर्स इन्फोलाई आधार मान्ने  हो भने भारतमा पनि कोरोना  भाइरसको संक्रमित संख्या १ हजार पुग्न लागिसकेको अवस्था छ । मर्नेको संख्या २०  को हाराहारीमा रहेको छ । ८३ जना निको भएका छन् । चीनमा हालसम्म ३ हजार २९५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ८१ हजार ३९४ रहेको  छ । ७४ हजार ९७१ निको भएका छन् ।

कति संख्यामा संक्रमित छन् भन्न यकिन भइरहेको छ । चीन तथा भारतको  बीचमा रहेको नेपालमा  संक्रमण फैलिए यता कति मानिसहरु सिमानाका हुँदै भित्रिए त्यसको यकिन गर्न गाह्रो भइरहेको छ ।

अहिलेसम्म  भाइरस संक्रमित मुलुकहरु खाडी तथा यूरोपबाट कति आफ्ना नागरिकहरु नेपाल आएभन्ने बारे नत सरकारको अभिलेख छ यात अन्य निकायको नै ।अहिलेसम्मको स्थिति र तथ्यांकले के देखाउँछ भने नेपाली नागरिकहरु खााडी मुलुक तथा यूरोपबाटै संक्रमित भएर आएका हुन् ।

नेपालमा संक्रमितहरुको संख्या कति छ भन्ने बारे सबै निकाय अनभिज्ञ रहेको अवस्थामा अझै पनि  विदेशबाट नेपाल आएका,निश्कासन भएर आएका नै किन नहोस् सवैको यकिन तथ्यांक  राखेर सुक्ष्म अनुसन्धान, निगरानी र क्वारेन्टाइनमा नराख्ने हो भने अपुरणीय क्षति बेहोर्न नेपाल पनि तयार हुनुपर्ने अवस्था आउन सक्छ  । 

सरकारले यसवीचमा विदेशबाट आएका स्वदेशी तथा विदेशी नागरिकहरुको निगरानी र क्वारेन्टाइनमा राख्न प्रयास गरेतापनि ढिला भइसकेको प्रमाण संक्रमितको संख्या बढ्ने घटनाक्रमले नै पूष्टि गर्दछ ।

 

हुन त अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले ढिलाभएपनि विदेशबाट घरमा आएका  नागरिकहरुको यकिन तथ्यांक राख्न शुरु गरेको रहेछ । त्यस्तै भक्तपुरको सुर्यविनायक नगरपालिकाले पनि तथ्यांक राख्न शुरु गरेको छ । 

यसको सिको गर्दै सरकार, प्रदेश अनि मुलुकमा सबै स्थानीय तहले विदेशबाट आएकाहरुको तथ्यांक राख्ने, अद्यावधिक गर्ने अनि क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्दछ । 
स्वास्थ्यकर्मीहरुले पनि आफ्नो स्वास्थ्यको ख्याल राख्दै उपचार गर्न हिचकिचाउनु हुँदैन, यदि आनाकानी गरेमा वा भएमा पेशा तथा नेपाली  नागरिकप्रति गम्भिर गद्दारी ठहरिने छ ।

क्वारेन्टाइनमा बसेका  व्यक्तिहरुको उपचार गर्न सरोकारवाला निकायहरुले ठोस पहलकदमी गर्न अव ढिला गर्नु हुँदैन । अव पनि ढिला गर्ने हो भने, त्यो भन्दा लापरवाही अरु हुने छैन ।
विदेशबाट आएका नेपालीहरुको लगत यसरी केहि स्थानीय तहले राखेका छन् ।

हेरौं तालिकामा


     

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)