ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना भाइरसको जोखिमलाई बीमाले के गर्छ ?

संक्रमित भई उपचार गर्नु परेमा जीवन बीमालेखले खर्च बेहोर्ने तर स्वास्थ्य बीमालेखले नबेहोर्ने 

२०७६ चैत, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

चैत १५, काठमाडौं । नेपालका निर्जीवन बीमा कम्पनीहरूले कोरोना भाइरसबाट हुन सक्ने सम्भावित जोखिमलाई बीमाले रक्षावरण गर्न नसक्ने बताएका छन् । कोरोना भाइरसको संक्रमणलाई विश्व स्वास्थ्य संगठनले महामारीका रूपमा घोषणा गरिसकेको छ ।

महामारीलाई बीमाले रक्षावरण नगर्ने भएकाले कोरोना भाइरसबाट हुने जोखिम बीमा कम्पनीको दायित्वभित्र नपर्ने बताइएको छ । 

निर्जीवन बीमा कम्पनीहरूले स्वास्थ्य बीमाको पोलिसी जारी गर्दै आएका छन् । बीमित बिरामी भएमा सोही बीमालेखको अधीनमा रहेर निर्जीवन बीमा कम्पनीहरूले उपचार खर्च बेहोर्नुपर्छ । तर सम्बद्ध बीमित कोरोना भाइरसबाट संक्रमित भएर उपचार गर्नु परेमा उक्त बीमालेखले खर्च नबेहोर्ने बीमा कम्पनीहरूको भनाइ छ ।

बीमा कम्पनीहरूले जारी गर्ने स्वास्थ्य बीमालेखमा महामारीबाट आउने जोखिमलाई रक्षावरण नगर्ने उल्लेख गरिएको हुन्छ । यो अन्तरराष्ट्रिय अभ्यास नै हो । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको रूपमा घोषणा गरिसकेको छ । यस अवस्थामा कोरोना भाइरसको जोखिम सरकारको नै दायित्वभित्र पर्ने निर्जीवन बीमा कम्पनीहरूको तर्क छ ।

हाल नेपालमा पाँच व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । संक्रमित व्यक्तिको उपचार सरकारले नै गर्न सक्ने भएकाले यस विषयमा आत्तिनुपर्ने स्थिति नरहेको कम्पनीहरू बताउँछन् । 

बीमा एक अन्तरराष्ट्रिय सञ्जाल व्यवसाय पनि हो । निर्जीवन बीमा कम्पनीहरूले आपूmले लिएको जोखिममध्ये सीमित अंश आपूmले राखेर बाँकीको पुनर्बीमा गर्छन् जसअनुसार दाबी भुक्तानीमा सम्बद्ध पुनर्बीमा कम्पनीको ठूलो भूमिका हुन्छ । 

तर पुनर्बीमा कम्पनीहरूले कोरोना भाइरसको जोखिमलाई कभर गर्छौंं भनिसकेका छैनन् । पुनर्बीमा कम्पनीहरूले फागुनमा नै ‘ट्राभल मेडिकल इस्योरेन्स’मा कोरोना भाइरसबाट हुने जोखिमलाई कभर नगर्ने भनेर नेपाली बीमा कम्पनीहरूलाई पत्र पठाइसकेका छन् ।

सम्भवतः अन्य प्रकारका बीमामा पनि सोही प्रतिक्रिया हुन सक्ने बताइएको छ । नेपाल बीमक संघका सचिव चंकी क्षत्रीले कोरोना भाइरसको जोखिम महामारीअन्तर्गत पर्ने भएकाले बीमामार्पmत रक्षावरण गर्न नसकिने बताए ।

‘महामारीलाई बीमाले कभर नगर्ने अन्तरराष्ट्रिय अभ्यास नै हो, तसर्थ कोरोना भाइरसले ल्याउने जोखिमको दायित्व हामीले लिँदैनौं,’ उनले भने, ‘यसमा सरकारको नै दायित्व हुन्छ जस्तो लाग्छ ।’ 

यस्तै युनाइटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेशकुमार भट्टराई र नेको इन्स्योेरेन्सका सीईओ अशोक खड्काले पनि कोरोना भाइरसको जोखिम बीमाको दायित्वभित्र नपर्ने बताए । 

यद्यपि सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमाले भने यो जोखिमको रक्षावरण गर्ने बताइएको छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेश पोखरेलले तोकिएको सीमामा रहेर औषधि उपचार खर्च बेहोर्न सक्ने बताए । 

यस्तै जीवन बीमालेखले भने कोरोनाको जोखिम कभर गर्ने बताइएको छ । जीवन बीमामा बीमितको मृत्यु भएपछि मात्र दाबी भुक्तानी दिइने हो, जसअनुसार कोरोना भाइरसका कारण बीमितको मृत्यु भएमा दाबी भुक्तानी दिइने जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले बताए । 

उनले भने, ‘जीवन बीमामा यो कारणले मरेपछि मात्र दाबी भुक्तानी दिने भन्ने हुँदैन, यदि कोरोना भाइरसका कारण कुुनै बीमितको मृत्यु भयो भने हामी बीमालेखअनुसार दाबी भुक्तानी गर्छांै ।’

यस्तै कोरोना भाइरसका कारण वैदेशिक रोजगारमा रहेको नेपाली कामदारको मृत्यु भए पनि भुक्तानी दिइने बताइएको छ । वैदेशिक रोजगारमा जाने नेपाली कामदारमा नेपाली बीमा कम्पनीमा अनिवार्य रूपमा म्यादीबीमा गर्नुपर्ने प्रावधान छ । उक्त बीमाले पनि कोरोना भाइरसको जोखिम रक्षावरण गर्ने अध्यक्ष पाण्डेको भनाइ छ । 

अहिले लाखौं नेपालीमा वैदेशिक रोजगारमा छन् । तर कतार, मलेशिया, बहराइनजस्ता श्रम गन्तव्य मुलुकमा पनि कोरोनाको संक्रमण फैलिएको छ । यदि यस्तो अवस्थामा नेपाली कामदारको विदेशमा मृत्यु भएमा नेपाली बीमा कम्पनीले दाबी भुक्तानी दिने अध्यक्ष पाण्डेको भनाइ छ ।

 उनले भने, ‘पहिला बीमालेख गर्दा यो यो भाइरस थिएन, त्यो बहानामा हामीले दाबी भुक्तानी दिँदैनौं भन्न मिल्दैन, कामदारको मृत्यु भएको खण्डमा हामी दाबी भुक्तानी गर्छौैं ।’
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)