ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनमा ढुवानी सहजीकरण : भारतीय रेलवेले दियो जरीवाना छूट, सिपिङ कम्पनीले निःशुल्क समय थपे

२०७६ चैत, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण ढुवानी सुस्त भएपछि त्यसलाई गति दिन भारतीय रेलवे र सिपिङ कम्पनीले जरीवानामा छूट दिएका छन् । भारतीय रेलवेले विलम्ब शुल्क नलिने भएको छ । सिपिङ कम्पनीहरूले कन्टेनर फिर्ताका लागि आयातकर्तालाई दिइएको निःशुल्क समय बढाएका छन् । 

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लगाएको लकडाउनमा ढुवानीमा अवरोध भएको भन्दै भारतीय रेलवेले ढुवानीमा डेमरेज र वारफेज दुवै जरीवाना छूट दिएको हो । रेलवेले मार्च २२ देखि अप्रिल १४ सम्म यो छूट लागू हुने बताएको छ । भारतीय रेलवे मन्त्रालयले मातहतका सबै क्षेत्रीय कार्यालयलाई पत्राचार गरी जरीवाना मिनाहा गर्न भनेको छ । अहिले नेपाल र भारत दुवैतर्फ लकडाउन लागू गरिएको छ ।

यसअघि रेलमार्फत आएको मालसामान अनलोडमा ढिलाइ भएमा प्रिमियमसहित जरीवाना लाग्ने गरेकोमा अहिले छूट दिएको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए । यो अवधिमा लाग्ने जरीवाना पूरै मिनाहा हुने राजपालले जानकारी दिए । यसअघि यस्तो छूट १० प्रतिशतसम्म थियो । 

भारतीय रेलवेको यो निर्णय भारतीय रेल स्टेशनमा अनलोड भएर भित्रिने मालसामानमा लागू हुनेछ । नेपालसम्म सीधै ढुवानी हुने वीरगञ्ज सुक्खा बन्दरगाहमा आउने रेलमा के हुने भन्ने पत्रमा उल्लेख छैन । कोरोनाका कारण असहजता खेपिरहेको ढुवानीलाई भारतीय रेलवेको जरीवाना छूटले राहत मिलेको नेपाल उद्योग वाणिज्य महासंघ पारवहन समितिका अध्यक्ष अशोककुमार टेमानीले बताए । ‘भारतीय रेलवेको यो निर्णय प्रशंसनीय छ । तर, नेपालको अधिकांश रेल कार्गो आउने वीरगञ्ज सुक्खा बन्दरगाहमा यो नियम लागू हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन,’ टेमानीले भने । 

रेलमार्फत आउने अधिकांश ढुवानी वीरगञ्ज सुक्खा बन्दरगाहमै हुने बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल प्रालिका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले बताए । चौधरीका अनुसार रेलबाट ९० प्रतिशतभन्दा बढी ढुवानी वीरगञ्ज बन्दरगाहमा आउँछ ।
.
भारतीय रेलवेको जरीवाना छूट सुक्खा बन्दरगाहका लागि पनि लागू गर्न सरकारले पहल गर्नुपर्ने व्यवसायीको माग छ । यसैगरी भारतको कोलकाता र विशाखापत्तनम् बन्दरगाहबाट नेपालका लागि कन्टेनर कार्गो ढुवानी गर्ने सिपिङ कम्पनीले पनि जरीवाना छूट दिने भएका छन् । मर्क्स  र एमएससीले यस्तो सहुलियत दिएका हुन् । यी कम्पनीले कन्टेनर फिर्ताका लागि दिइएको निःशुल्क समय बढाएर सहुलियत दिएका हुन् । 

यही २५ मार्चदेखि ७ अप्रिलसम्मका लागि यस्तो छूट दिइने ती कम्पनीले बताएका छन् । यो सडक र रेल दुवै मार्गका लागि हुनेछ । सिपिङ कम्पनीले कोलकाताबाट सडक मार्गमार्फत हुने ढुवानीमा १४ दिनसम्म निः शुल्क समय दिने गरेका छन् । 

यसअघि वीरगञ्ज सुक्खा बन्दरगाहमा कन्टेनर अनलोड गरेपछि ५ दिन निःशुल्क समय दिएका थिए । यो सहुलियतअनुसार २५ मार्चमा बन्दरगाहमा अनलोड भएका कन्टेनरले ७ अप्रिलसम्म फिर्ताको निःशुल्क समय पाउने मर्क्स  सिपिङ लाइनका नेपालस्थित कार्यालय प्रमुख सुदीप समदरले बताए । कोलकाता बन्दरगाहमा २५ तारीखमा अनलोड भएको कन्टेनर फिर्ता पठाउन दिइने १४ दिन निःशुल्क समयको गणनासमेत ८ अप्रिलदेखि नै हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)