ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पछिल्लो ५ महीनादेखि निरन्तर घट्दै विप्रेषण

कोरोनाका कारण थप प्रभावित हुँदै

२०७६ चैत, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले मुलुकमा विप्रेषण आप्रवाह अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ५ प्रतिशत घटेको देखायो । कोरोना भाइरसका कारण अहिले प्रमुख श्रम गन्तव्य मुलुकहरूमा वैदेशिक रोजगारीका लागि जान बन्देज लाग्दा तथा ती मुलुकहरू समेत लकडाउनको अवस्थामा पुग्दा विप्रेषण आप्रवाह आउने दिनमा नराम्ररी प्रभावित हुने देखिएको छ । 

विप्रेषण आउने प्रमुख मुलुकहरू कोरोना संक्रमणलाई नियन्त्रण गर्न कर्फ्यू  तथा लकडाउन जस्ता नीति लिइरहँदा अहिले ती मुलुकबाट विप्रेषण भित्रने क्रम स्वात्तै घट्न थालेको छ । रेमिट्यान्स कम्पनीहरूका अनुसार पछिल्लो समय विप्रेषण आप्रवाहमा करीब २५ प्रतिशत कमी आइसकेको छ । 

त्यसो त पछिल्ला ५ महीनायता नेपाल भित्रने विप्रेषणको रकम क्रमैसँग घट्दो अवस्थामै छ । चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा रू. ७५ अर्ब ४० करोड विप्रेषण नेपाल भित्रिएको थियो । भदौमा साउनको भन्दा रू. २ अर्ब ९३ करोड बढेर रू. ७८ अर्ब ३३ करोड विप्रेषण भित्रियो । त्यसपछिका प्रत्येक महीना विप्रेषण निरन्तर घट्दै गएको छ । माघमा चालू आवकै सबैभन्दा कम रू. ६५ अर्ब ९५ करोड बराबरको विप्रेषण नेपाल भित्रिएको छ । 

विप्रेषण आप्रवाहको मुख्य स्रोत नै वैदेशिक रोजगारी हो, तर कोरोनाका कारण नेपालको वैदेशिक रोजगार व्यवसाय प्रभावित भइसकेको छ । सरकारले श्रम स्वीकृति दिन बन्द गरिसकेको छ भने प्रमुख श्रम गन्तव्यहरू स्वयम् विदेशीलाई आफ्ना मुलुकमा आउन प्रतिबन्ध लगाउँदा नेपाली कामदारहरू त्यहाँ जानबाट रोकिएका छन् । 

राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालमा आउने विप्रेषणको ठूलो अंश मूलतः मलेशिया, कतार, साउदी अरब, अमेरीका, भारतलगायत मुलुकबाट हुने गर्छ । अहिले यी सबै मुलुक कोरोनाबाट प्रभावित छन् र विदेशीहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएका छन् । 

कोरोनाका कारण श्रम गन्तव्य मुलुकहरूमा आर्थिक गतिविधिमा कमी आएमा त्यहाँ रहेका नेपाली कामदारको रोजगारीका साथै विप्रेषणमा पनि ठूलै असर पर्नेछ । विप्रेषण आप्रवाहमा हुने नकारात्मक परिवर्तनले नेपालमा बहुआयामिक प्रभाव पार्नेछ । नेपालका लागि वस्तु आयात गर्न आवश्यक विदेशी मुद्रा विप्रेषण र पर्यटनबाटै आउने गरेको छ । त्यसमाथि नेपालका अधिकांश घरपरिवार विदेशबाट आउने विप्रेषणमा आश्रित छन् । 

अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले कोरोना भाइरसको संक्रमण लम्बिएमा सैद्धान्तिक रूपमा विप्रेषण आप्रवाह घट्न सक्ने बताए । ‘अमेरिका, चीन यूरोप जस्ता मुलुक नै सुस्ताउनु र श्रम गन्तव्य मुलुकहरू कोरोनाले प्रभावित हुने जस्ता कारणले विप्रेषण आप्रवाहमा असर गर्न सक्छ,’ उनले बताए । 

त्यस्तै भनाइ अर्का अर्थविद् केशव आचार्यको पनि छ । उनका अनुसार मुख्य श्रम गन्तव्य मुलुक मानिने कतार र मलेशियाले विदेशीलाई प्रवेश गर्न रोक लगाइसकेका छन् । ‘दक्षिण कोरियामा रहेका नेपाली कामदारहरू पनि काम नगरी बसेका छन् । यसको असर पक्वै नेपाल आउने विप्रेषणमा प्रतिबिम्बित हुनेछ,’ उनले बताए । 

पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा तेलको मुल्यमा आएको कमीले समेत नेपाल प्रभावित हुने तर्क आचार्यको छ । ‘नेपालका अधिकांश कामदारहरू तेल निर्यात गर्ने मुलुकमा छन् । अहिलेको जसरी तेलको मुल्य घटिरहेको छ, त्यो लम्बियो भने ती मुलुकको अर्थतन्त्रमा असर पक्कै पर्छ । त्यस्तो अवस्था आएमा ती मुलुकमा रोजगारीमा कटौती हुन सक्छ,’ उनले बताए ।

नेपालमा सबैभन्दा बढी विप्रेषण भित्र्याउने रेमिट्यान्स कम्पनी आईएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलका अनुसार पनि निकट भविष्यमा विप्रेषण आप्रवाह घट्ने सम्भावना उच्च छ । ‘आउँदा दिनमा विप्रेषण घट्न सक्छ,’ उनले बताए, ‘कतार, दक्षिण कोरिया, जापान, मलेशिया जस्ता विप्रेषण आउने मुलुक लकडाउन जस्तै भएका छन् । यो अवस्थामा कोरोना संक्रमण लम्बियो भने विप्रेषणमा भारी कमी आउन सक्छ ।’

विप्रेषणको मुख्य स्रोत मुलुकहरू नै बन्दको अवस्थामा रहँदा त्यहाँबाट आउने रकममा असर पर्नु स्वाभाविक रहेको आईएमई रेमिटका पोखरेलको भनाइ छ । ‘अहिले मलेशिया लकडाउनको स्टेजमा छ । त्यहाँ भएका हाम्रा काउन्टरहरू सबै बन्द छन्,’ उनले बताए । 

यूरोप र अमेरिकामा जस्तो खाडी मुलुकका नेपालीहरू डिजिटल माध्यमबाट पैसा पठाउन नसक्ने भएकाले पनि विप्रेषण कम आउने रेमिट्यान्स कम्पनीहरूको भनाइ छ । ‘खाडी मुलुकमा काम गर्न गएका नेपालीहरू रेमिट्यान्स कम्पनीको काउन्टरमै गई पैसा नेपालमा पठाउने गर्छन्, जुन अहिले त्यहा सम्भव छैन,’ पोखरेलले बताए । भारतमा रहेका नेपालीहरू स्वदेश फर्कने क्रम शुरू भएकाले त्यहाँबाट आउने विप्रेषण यस वर्ष प्रभावित हुने देखिएको छ । पछिल्लो समय भारतबाट भित्रने विप्रेषण निरन्तर बढ्दै गएको थियो । गतवर्ष भारतबाट १२४ अर्ब बराबरको विप्रेषण भित्रियो, जुन नेपाल आउने कुल विप्रेषणको १४ प्रतिशत हो । 

उता, नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष भुवनकुमार दाहाल अहिले स्वास्थ्यपछि ठुलो चिन्ताको विषय नै विप्रेषण भएको बताउँछन् । ‘विदेशी मुद्रा आउने ठूलो आधार नै पर्यटन र रेमिट्यान्स हो । नेपालजस्तो आयातमा निर्भर मुलुकमा विदेशी मुद्राको ठूलो महत्त्व हुन्छ,’ उनले भने, ‘अहिले हामीसँग साढे ८ महीनाको आयात धान्न पुग्ने विदेशी मुद्रा छ । यदि, कोरोना संक्रमण लम्बिएर विप्रेषणमा कमी आयो भने हाम्रो विदेशी मुद्रा सञ्चितिमै असर पर्ने देखिन्छ ।’ 

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट पनि अबका दिनमा विप्रेषण आप्रवाहमा दबाब आउन सक्ने स्वीकार्छन् । ‘तथ्यांक आइनसके पनि फागुनसम्म  विप्रेषण आप्रवाहमा ठूलो असर परेको देखिएको छैन । तर, पछिल्लो स्थिति हेर्दा अबको दिनमा विप्रेषणमा ह्रास नआउला भन्न सकिन्न,’ उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)