चैत १८, रौतहट । रौतहटमा रहेका खाद्यान्न पसल बन्द भएपछि उद्योग वाणिज्य संघले घरमै सामान पुर्याउने (होम डेलिभरी) सेवा शुरू गरेको छ । लकडाउनलाई प्रभावकारी बनाउन रौतहट प्रशासनले उद्योग वाणिज्य संघको सहकार्यमा गौर तथा चन्द्रपुर नगरपालिकामा खाद्यान्न सामग्रीका लागि होम डेलिभरी सेवा शुरू गरेको हो । कोरोना भाइरस (कोभिड १९) को जोखिम कम गर्न ११ ओटा खाद्य पसलमार्फत सर्वसाधारणलाई होम डेलिभरीको व्यवस्था मिलाइएको रौतहट उद्योग वाणिज्य संघ संघका अध्यक्ष पण्डित जयसवालले बताए ।
उपभोक्ताका लागि खाद्यान्न पसलको नाम र मोबाइल नम्बर सार्वजनिक गरिएको उनले जानकारी दिए । खाद्यान्न पुर्याएबापत बिल अनुसार भुक्तानी गर्न समेत उनले सर्वसाधारणसँग आग्रह गरे । चन्द्रपुर नगर उद्योग वाणिज्य संघले उपभोक्तालाई खाद्यान्न पुर्याउनका लागि होम डेलिभरी सेवा दिने निर्णय गरेको छ । चन्द्रपुर नगरपालिकाको १० ओटा वडाका बासिन्दालाई माग अनुसारको खाद्यान्न सामग्री पुर्याउन खाद्य पसल तोकिएको छ । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा सोमवार बसेको बैठकले दैनिक उपभोग्य वस्तु उपभोक्ताको घर घरमा पुरयाएर विक्री गर्ने निर्णय गरेको छ । चन्द्रपुर नगरक्षेत्रभित्र रहेका ३५ ओटा खाद्य किराना पसललाई होम डेलिभरी गर्ने जिम्मेवारी दिएको छ । वडा वडामा रहेका खाद्य पसलले त्यहाँका बासिन्दालाई सेवा सुविधा दिने चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष सुनील जयसवालले बताए ।
खाद्यान्न पसलहरू सञ्चालन गर्न दिँदा बजारमा स्थानीयको भीड बढ्न थालेपछि स्थानीय प्रशासनले चैत १६ गतेदेखि ‘सट डाउन’ गरेको छ । अत्यावश्यक औषधि खरीदका लागि भने रोक नलगाएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । खाद्यान्न र उपभोग्य सामग्री ढुवानीका सवारीसाधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि पसल, प्रशासनबाट पास लिएका व्यक्ति वा सवारीसाधनबाहेक अन्य सवारी, व्यक्ति तथा पसल पूर्णरुपमा बन्द गर्न भनिएको छ ।