ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाली काँग्रेसको आग्रह : सरकारले हालसम्मको कार्यप्रगति र कमजोरीको वस्तुगत समिक्षा  गरोस्

साना व्यवसायी, मजदूर,विद्यार्थी तथा बेरोजगारको हकमा छुट्टै राहत प्याकेज ल्याउन माग

२०७६ चैत, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

चैत १८, काठमाडौं  । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चीनबाट आयात पश्चात् पनि पीपीई लगायत अत्यावश्यक सामग्री कयौं ठाउँमा नपुगेको विवरण प्राप्त भएको भन्दै तत्काल सामग्री पुर्‍याउन र हालसम्मको आफ्नो कार्यप्रगति र कमजोरीको वस्तुगत समिक्षा गरेर सरकारलाई प्रभावकारी रूपमा गति बढाउन आग्रह गरेका छन् । 

‘विषम अवस्थामा कष्ट भोगिरहेका बेरोजगारहरु एवं अध्ययनका लागि शहरी क्षेत्रमा डेराबसेका बिद्यार्थीलाई फरक राहतको कार्यक्रम ल्याउनु सरकारको दायित्व रहेकोे फेरि पनि स्मरण गराउंदछु’, सभापति देउवाद्वारा मंगलवार जारी विज्ञप्तिमा उल्लेख छ । 

उनले कोरोनाको प्रभावको कारण सरकारले ल्याएको आर्थिक राहतको सकारात्मक भएपनि पर्याप्त नभएको भन्दै साना व्यवसायी, मजदूर, विद्यार्थी तथा बेरोजगारको हकमा छुट्टै राहत प्याकेज ल्याउन आग्रह गरेका छन् । 

सभापति देउवाले व्यवसायीको हकमा व्याजको किस्ता तिर्ने समयावधि थपेर मात्र नपुग्ने भन्दै सबैखाले व्यवसायीको ऋणको व्याज घटाएर राज्यले प्रतिकुलतामा राहत अनुभुती गराउने हुनुपर्ने, रु.२० लाखसम्म ऋण लिएर व्यवसाय गरिरहेका साना व्यवसायीका हकमा ३ महीनासम्मको व्याज मिनाहा नै गर्न सरकारलाई अपिल गरेका छन् । 

नेपालमा रहेका आफ्ना नागरिक कयौं देशले चाटर्ड विमानद्वारा उद्दार गरि स्वदेश लगिरहेको सन्दर्भमा विभिन्न देशबाट आफ्नो देश फर्कन चाहनेहरुको हकमा तथा अध्ययन, श्रम र तिर्थ यात्राक्रममा भारतको विभिन्न राज्यमा अड्किएका नेपालीहरुको उद्दार गर्न सरकारले जरुरी कुटनीतिक पहल गर्न र उद्दार पुर्वको अवस्थामा आवस्यक गाँसबासको ब्यवस्थापनका लागि दूतावासमार्फत स्थानीय रूपमा पहल गर्न पनि उनले भनेका छन् । 

यस्तै भारतको विभिन्न ठाउँमा रहेका नेपाली महाकाली पारी सयौंको संख्यामा आइपुगेर दार्चुला प्रवेश गर्न चाहँदा उत्पन्न जटिलताको व्यवहारिक हल खोज्न र कडाइका साथ प्रवेश,परिक्षण र क्वारेन्टाइन सुनिश्चित गर्न या अन्य वैकल्पिक प्रक्रियाले तत्काल समस्या समाधान गर्न पनि उनले ध्यानाकर्षण गराएका छन् । 

विज्ञप्तिमा लकडाउनले बिज्ञापन व्यवसाय र यसको सोझै आघात संचार माध्यमहरुलाई परेकोले राज्यको चौथोअंग तथा त्यसमा कार्यरत श्रमजिवी पत्रकारको हकमा अलग्गै राहत योजनाको निर्माण गर्न, ज्यालादारी श्रमिकलाई राहत यथाशिघ्र पुरयाउने फास्ट ट्रयाकको विधि निर्माण र कार्यान्वयन गर्न म तिनै तहको सरकारलाई अपिल गर्दछु भनिएको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरससँग जुध्न नेपाल सरकारले निर्धारण गरेका रणनीतिहरुलाई सबैले आत्मसात गर्न आवश्यक रहको बताउँदै सभापति देउवाले आजको चुनौती सामना गर्न सरकारलाई हरतरहले सघाउन नेपाली कांग्रेस तत्पर रहेको बताएका छन् ।

 ‘यो हामी सबैको साझा संघर्ष हो, अतः सरकारमा सँगै नरहेर पनि यस्तो अभियानमा सँगै लड्न सकिन्छ भन्ने भावनामा हामी दृढढंगले प्रतिबद्ध छौं’, विज्ञप्तिमा भनिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)