ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बारा–पर्साका अधिकांश उद्योगको उत्पादन बन्द

२०७६ चैत, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । कोरोना संक्रमण रोक्न लगाइएको लकडाउनका कारण कामदार आवागमन र ढुवानी अवरुद्ध हुँदा बारा–पर्सा औद्योगिक कोरिडोरका अधिकांश उद्योगको उत्पादन बन्द भएको छ । 

कतिपय उद्योगले नाकामा आएर अड्किएको कच्चा पदार्थ उद्योगसम्म लैजान पाएका छैनन् । कच्चा पदार्थ मौज्दातमा राखेका उद्योगले पनि कामदारको अभाव र उत्पादनको ढुवानी गर्न नसक्दा उत्पादन रोक्न बाध्य छन् । कोरिडोरमा रहेका औषधि उद्योग सञ्चालनमा रहे पनि अत्यावश्यकीय भनिएका अन्य उद्योगहरू न्यून परिमाणमा उत्पादन गरिरहेका छन् ।

अत्यावश्यक मानिएको खाद्यान्न उद्योगको उत्पादन पनि प्रभावित भएको नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । ‘अत्यावश्यक वस्तु भनिए पनि ढुवानीमा अवरोध भएकाले उत्पादन घटेको छ । अहिले सामान्य अवस्थाको तुलनामा २० प्रतिशत पनि ढुवानी हुन पाएको छैन,’ वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका गुप्ताले आर्थिक अभियानलाई बताए । 

ढुवानी साधनको आवागमन अवरोधले कच्चा पदार्थ र तयारी वस्तुलाई एक ठाउँबाट अर्को ठाउमा लैजान नसकिएको उद्यमीले बताए । लकडाउनका कारण मुलुकभरका करीब ३ हजार खाद्यान्न उद्योगको उत्पादन प्रभावित भएको गुप्ताको दाबी छ । तीमध्ये २ हजारको हाराहारीमा चामल उद्योगमात्रै छन् ।

कोरिडोरका अन्य उद्योगको उत्पादन करीब ठप्प रहेको उद्योगीले बताएका छन् । मजदूर अभाव र ढुवानीमा समस्याले निर्माण सामग्रीका उद्योगसमेत उत्पादन रोक्न बाध्य भएको नारायणी रोलिङ मिल्सका सञ्चालक राजेश क्यालले बताए । ‘उद्योगमा कच्चा पदार्थ भएर पनि मजदूर उपलब्ध नहुँदा उद्योग चलाउन सकिएको छैन,’ उद्योगी क्यालले बताए, ‘ढुवानीका साधन नचल्दा ‘अर्डर’को सामान पनि पठाउन सकिएन ।’ यो कोरिडोरमा निर्माण सामग्री, खाद्यान्न, दाना, औषधि, प्याकेजिङलगायत करीब १ हजार उद्योग छन् ।

लकडाउन र कोरोनाको त्रासका कारण कामदार उद्योगमा आउन सकेका समेत छैनन् । स्थानीय प्रशासनले अत्यावश्यकीय उद्योगका लागि पास उपलब्ध गराउने बताएको छ । तर, आवागमनको समय तोकेको छ । बिहान ९ बजेसम्म उद्योगमा प्रवेश गरेका कामदार साँझ ६ बजेपछिमात्रै उद्योगबाट निस्किन पाउने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । 

स्थानीय सुरक्षा निकाय र उद्यमीबीच तोकिएको समयमा मजदूर र ढुवानीका साधन सञ्चालन गर्ने समझदारी भएको थियो । उद्योगमा सतर्कताका उपाय अपनाएर उत्पादन गर्ने जिम्मा उद्योगलाई दिइएको थियो । मजदूर साइकलबाट आउजाउ गर्न पाउँछन् । ओसारपसारका लागि अन्य साधनलाई अनुमति दिइएको छैन । यसले गर्दा कोरोनाको डर र सडकमा प्रहरीको कडाइका कारण कामदार आउनै छोडेको उद्यमीले बताए ।

लकडाउनले आवागमन सीमित हुँदा भन्सारबाट छुटेका कच्चा पदार्थ उद्योगमा पुर्‍याउनै समस्या भएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का उपाध्यक्ष अशोककुमार वैदले बताए । ‘बिहान ९ बजे उद्योगमा प्रवेश गरेका गाडी र चालकसमेत बेलुका ६ बजेसम्म त्यहीँ रोकिनुपर्ने अवस्था छ,’ वैदले भने । 

सामान्य अवस्थाको तुलनामा अहिले ढुवानी २० प्रतिशतमा खुम्चिएको अध्यक्ष गुप्ताले बताए । वीरगञ्जका भन्सारबाट छुटेका गाडी बाराको जितपुरसम्म मात्र जान दिइएको छ । यसले कच्चा पदार्थ र उत्पादनको आपूर्तिमात्र प्रभावित भएको छैन, वीरगञ्ज क्षेत्रबाट बाहिर पठाउनुपर्ने वस्तु भन्सारमै अड्किएका छन् । 
आयातित मालवस्तु भन्सारमा थुप्रिन थालेपछि वीरगञ्ज भन्सारले केही दिनअघि सूचना निकालेर आयातकर्तालाई त्यस्ता वस्तुको जँचपास गराउन आग्रह गरेको थियो । अहिले वीरगञ्ज

भन्सारबाट मालसामान छुटाउने क्रम केही बढेको छ । तर, भारतमा जारी लकडाउनका कारण सडकमार्गबाट हुने आयात घटेको भन्सारका प्रमुख प्रशासक ढुण्डीप्रसाद निरौलाले बताए । सामान्य अवस्थामा दैनिक ६÷७ सय गाडी भित्रिनेमा सोमवार ३७ ओटामात्र आएको जानकारी निरौलाले दिए । 

सडक मार्गबाट हुने ढुवानी घटे पनि रेलतर्फबढेको छ । आयातित कन्टेनर जाँचपास नहँुदा बन्दरगाहमा कन्टेनर थुप्रिएका छन् । अहिले वीरगञ्ज सुक्खा बदरगाहमा आयातित सामानका २२ सय र खाली ४०० कन्टेनर रोकिएका छन् । कन्टेनरका २२, बोराबन्द कार्गो दुई र फलामका पाँचओटा ¥याक बाटोमा रहेको बन्दरगाह सञ्चालक हिमालयन टर्मिनलले बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)