ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाको कहर : लकडाउनका कारण ५० हजार चिया मजदूर संकटमा

२०७६ चैत, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । लकडाउनका कारण चिया उद्योगमा कार्यरत मजदूरहरू चरम आर्थिक संकटमा परेका छन् । लकडाउन शुरू हुँदा आधा महीना काम गरिसकेका मजदूरले रकम भुक्तानी पाएका छैनन्, जसका कारण उनीहरू अहिले समस्यामा रहेका छन् ।

इलाम नगरपालिका ७ की सरस्वती चम्लागार्इंले उद्योगले पाकेको आधा महीनाको ज्याला भुक्तानी रोकेको र अहिले काम नहुँदा चरम आर्थिक संकटमा परेको बताइन् । ५ जना परिवारको बिहान बेलुकाको छाक टार्नसमेत उनलाई मुश्किल हुन थालेको छ ।

उनीलगायत २२ जना त्रिवेणी ग्रूपको चिया कमानमा स्थायी मजदूर छन् भने अस्थायीसमेत गरी ५५ जना उक्त कम्पनीमा काम गर्छन् । चम्लागार्इं जस्तै कुमारी देवान पनि अहिले आर्थिक समस्यामा छिन् । उनको पनि पाँच जनाको परिवार पाल्न समस्या भएको छ । उद्योगले काम गरेको ज्याला नदिएको र अहिले विनाकुनै आम्दानी खर्च टार्न निकै कठिनाइ भएको उनले बताइन् ।

इलाम, झापा, पाँचथर, धनकुटालगायत एक नम्बर प्रदेशमा ५० हजारभन्दा बढी मजदूर चिया बगानमा कार्यरत छन् । जसको अन्य रोजगारीको विकल्पसमेत छैन । सरकारले चिया मजदूरको समस्यालाई छुट्टै सम्बोधन गर्नुपर्ने र उनीहरूलाई राहत दिनुपर्ने मजदूरहरूको माग छ ।

काम नभएका कारण चिया मजदूरहरूलाई दुई छाक टार्न समस्या भएको छ भने चिया किसानहरू बगानमा नै चियाका पात र मुना छिप्पिएका कारण चिन्तामा छन् । कोरोना भाइरसको संक्रमण पैmलन नदिन सरकारले चैत ११ गतेबाट मुलुकभरि लकडाउन घोषणा गरेपछि चिया किसानहरू प्रभावित भएका हुन् । सबैभन्दा महँगोमा विक्री हुने अर्थाेडक्स चिया टिप्ने सिजन चैत महीनामै लकडाउन भएपछि किसानहरूले आम्दानीको ५० प्रतिशत अंश गुमाउने सूर्योदय नगरपालिका ७ कन्यामका चिया किसान डम्बर कटुवालले बताए । उनले भने, ‘चैत महीनामा तीन पात सुइरोसहित टिपेर चिया उद्योगलाई विक्री गर्दा किलोको ८० रुपैयाँ पाइन्थ्यो । तर, अब पात छिप्पिएपछि किलोको ४० रुपैयाँमा विक्री गर्नुपर्ने बाध्यता छ ।

किसानले बैंकबाट लिएको ऋण तिर्न समस्या रहेको उनले बताए । उनी भन्छन्, ‘बैंकको साँवाब्याज तिर्न एकातिर समस्या छ भने अर्काेतिर घरखर्च चलाउनै मुश्किल पर्ने अवस्था आएको छ ।’ सरकारले चिया मजदूर र किसान दुवैलाई बचाउन राहतका कार्यक्रम ल्याउनुपर्ने माग उनको छ ।

५० रोपनी जमीनमा चियाखेती गर्दै आएका कटुवालले वार्षिक १५ हजार किलो चिया संघाई ग्रूपलाई विक्री गर्दै आएका थिए । उनका अनुसार किसानले उद्योगलाई ४० देखि ८० रुपैयाँसम्म मूल्यमा चिया विक्री गर्दै आएका छन् । 

अन्तरराष्ट्रिय बजारमा समेत राम्रो माग भएको अर्थाेडक्स चिया यसपटक टिप्न नपाएपछि उद्योगहरू समेत संकटमा रहेको उनले बताए ।

नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले प्रदेश १ मा रहेका ठूला र साना गरी करीब २५० चिया बगानमा स्थायी र अस्थायी रूपमा मजदूरी गर्ने करीब ५० हजार श्रमिक अहिले दुई छाक टार्न नसक्ने अवस्थामा पुगेको बताए । सरकारले चिया मजदूरलाई कम्तीमा लकडाउनभरिका लागि खाद्यान्नको व्यवस्था गरिदिनुपर्ने उनले माग राखे ।

बगानमा चियाका पात छिप्पिँदै गएको र मजदूरहरू लकडाउनका कारण समस्यामा रहेकाले सुरक्षित तबरले चिया टिप्ने वातावरण सृजना गर्न उद्योग, मजदूर र स्थानीय सरकारसँग आपूmहरूले पहल गरिरहेको बताए । उनले भने, ‘हामीले उद्योगीलाई भनेका छौं कि मजदूरलाई रोजगारी देऊ कि त बिहान बेलुका छाक टार्न दाल चामल देऊ ।’

भारतको आसाममा समेत ठूलो मात्रामा चिया मजदूर रहेका र उनीहरूले यो सातापछि नै चिया मजदूरको स्वास्थ्यलाई कुनै हानि नहुने किसिमले चिया टिप्ने व्यवस्था मिलाउने तयारी गरिरहेकाले आफूहरूले पनि उनीहरूको तरीका हेरेर चिया टिप्ने वातावरण बनाउन पहल गरिरहेको बताए । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले किसानको वर्षभरिको मेहनत खेर जाने भएकाले चिया बगान र कारखाना सञ्चालनका लागि पहल थालिएको जानकारी दिए । उनले थोरै कामदारले सम्बद्ध निकायको निगरानीमा बसेर चिया टिप्ने वातावरण निर्माण गर्न चिया उद्योगी र किसानसँग परामर्श भइरहेको जानकारी दिए । उनले भने, ‘चिया बोटमै खेर जाने अवस्था आइसकेकाले हामी चाँडै निर्णय गरेर सहज वातावरण बनाउँछांै ।’ उनले राष्ट्रिय चिया तथा कफी विकास बार्डसँग समेत छलफल भइरहेको जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)