ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तातोपानी र रसुवागढी नाका खोल्न अझै विलम्ब

२०७६ चैत, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । सरकारले रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरे पनि नाका खोल्न अझै बढी समय लाग्ने देखिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत बुधवार रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो ।

तर, नेपालका तर्फबाट सञ्चालनमा तयारी पूरा हुन नसक्दा दुवै नाका खुल्न ढिला हुने भएको हो । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार सामान ओसारपसारमा संलग्न ड्राइभर, कामदार तथा कर्मचारीलाई कोरोना भाइरस संक्रमण जाँच गरेर मात्रै नाका खुलाउने चीनसँग समझदारी बनेको थियो । तर, नाकामा स्वास्थ्य परीक्षण गर्न आवश्यक पूर्वाधार खडा हुन सकेको छैन । क्वारेन्टाइन स्थल निर्माण गर्न स्थानीय निकायले ढिलाइ गरेको छ । कृषिजन्य वस्तुको परीक्षण गर्न पूर्वाधार निर्माणको कामसमेत भएको छैन । 

‘पूर्वाधार निर्माणको काम भन्सार विभागले गर्ने होइन, तीन तहका सरकारबीच समन्वय नहुँदा सरकारले निर्णय गरे पनि भन्सार नाका खुलाउन ढिलाइ भएको हो,’ उनले भने । 

भन्सार विभागका अनुसार अबको १ हप्ताभित्रै दुवै नाकालाई निर्बाध रूपमा सञ्चालनमा ल्याउन विभागले आवश्यक समन्वय गरिरहेको छ । तर, चीनमा अझै कोरोना संक्रमितहरू देखिइरहेकाले उनीहरू नै नाका खुलाउने पक्षमा अझै पूर्णरूपमा सहमत नदेखिएको दाहालको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाकी सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले स्थानीय तहसँग नाका खुलाउन प्रयत्न भइरहेको बताइन् । उनका अनुसार चीनमा अझै कोरोनाको त्रास कायमै रहेकाले स्थानीयहरूले नाका नखुलाउन प्रशासनलाई दबाब दिँदै आएका छन् । 

‘आवश्यक स्वास्थ्य जाँचपछि मात्रै नाकाबाट सामान ल्याउन दिन प्रशासनले अनुरोध गरिरहेको छ । तर, स्थानीयहरूले तत्कालै खुलाउँदा जोखिम बढ्ने भन्दै मानिरहेका छैनन्, सम्झाउने प्रयास भइरहेको छ,’ उनले भनिन् । नाकामा स्वास्थ्य जाँच गर्न र क्वारेन्टाइन निर्माण गर्न स्थानीय तहलाई पत्राचार गरिसकिएको उनले बताइन् । 

रसुवागढी नाकाबाट २०७२ मंसिरदेखि सामान आयात हुन थालेको हो । यो नाकालाई २०७४ भदौ १४ गते चीन सरकारले ‘अन्तरराष्ट्रिय नाका’ घोषणा गरेपछि सीमामा व्यवसायी र सवारीसाधनको चाप बढ्दै गएको थियो । नेपालको वैदेशिक व्यापारमा चिनियाँ सामग्रीको अंश १६ प्रतिशत छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले उच्चस्तरीय समितिबाट नाका खुलाउन पत्राचार भए पनि चिनियाँ पक्षबाट सहमति नआउँदा ढिलाइ भइरहेको बताए । ‘चिनियाँ पक्ष नै नाका खुलाउनेबारे निचोडमा पुगेको देखिएन, तातोपानी नाकामा हाम्रो तयारी करीब पूरा गरिसकेका छौं,’ उनले भने । 

भन्सार विभागका अनुसार दुई मुख्य नाका बन्द हुँदा नेपाली व्यापारीका ५०० भन्दा बढी कन्टेनर चीनको केरुङ र खासामा रोकिएका छन । ती कन्टेनरमा रू. ३ अर्बभन्दा बढीको सामग्री रहेको व्यापारीहरूको भनाइ छ । दुई मुख्य नाका अझै लामो समय बन्द भएमा बजारमा चिनियाँ सामानको अभाव हुने व्यवसायी बताउँछन् । नेपालले चीनबाट आयात गर्ने मुख्य वस्तुहरूमा इलेक्ट्रोनिक वस्तुहरू, मेशिनरी सामग्री, तयारी पोशाक, खेलौना, दूरसञ्चार सामग्री, फुटवेयर तथा रबर र प्लास्टिक, विद्युतीय बत्तीलगायत पर्छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)