ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

र्‍यापिड टेस्ट किट तत्काल प्रयोग नगरिने

२०७६ चैत, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण जाँच्न आयात गरिएको र्‍यापिड टेस्ट किटको प्रयोग अहिले नगर्ने भएको छ । किटको गुणस्तरका बारेमा सार्वजनिक रूपमा विभिन्न टिप्पणी आएपछि मन्त्रालयले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै तत्काललाई किट प्रयोग नगर्न निर्देशन दिएको छ ।

सरकारले किटको गुणस्तर जाँच्न स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरेको र परिषद्ले योग्य भनेर सिफारिश गरिसकेपछि र सम्बद्ध निकायले प्रमाणित गरेपछि मात्र प्रयोगका लागि वितरण हुने मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले खरीद गरेको र्‍यापिड टेस्ट किट गुणस्तरीय छ या छैन यकिन भएपछि मात्र प्रयोग हुने मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सञ्चारमाध्यममा अनधिकृत स्रोतबाट ल्याइएको परीक्षण किट वितरण तथा प्रयोग भइरहेको भन्ने खबर सत्य नभएको पनि विज्ञप्तिमा उल्लेख छ । सरकारले खरीद गरेर ल्याएको र्‍यापिड टेस्ट किट चीन सरकारले प्रमाणित गरेको समेत दाबी गरिएको छ । एकैपटक हजारौं टेस्ट गर्नुपरेको अवस्थामा पीसीआर मेशिनले धान्न नसक्ने भएकाले टेस्ट किट आवश्यक पर्ने सरकारको भनाइ छ । 

पछिल्लोपटक स्वास्थ्य मन्त्रालयको कोरोना जाँचसम्बन्धी स्वास्थ्य उपकरण खरीद टेन्डर प्रक्रिया र गुणस्तरका बारेमा प्रश्न उठिरहेको छ । उपकरण खरीदमा प्रश्न उठेसँगै स्वास्थ्य सेवा विभागले स्वास्थ्य उपकरण आयातको जिम्मेवारी पाएको ओम्नी समूहसँगको सम्झौता रद्द गरेको छ । विभागले नयाँ सम्झौताका लागि बोलपत्र आह्वानसमेत गरिसकेको छ । 

यसैबीच सरकारले बिहीवारदेखि सातै प्रदेशबाट कोरोना भाइरस (कोभिड–१९) को नमूना परीक्षण गर्ने तयारी थालेको छ । यसका लागि आवश्यक जनशक्ति र उपकरण सम्बद्ध क्षेत्रमा पुगिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । प्रदेश नं १ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमवारदेखि र गण्डकी प्रदेशको पोखरामा मंगलवारदेखि नमूना परीक्षण शुरू भइसकेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

प्रदेश नं २ को जनकपुर, सुदूरपश्चिमको धनगढी, कर्णालीको सुर्खेत र प्रदेश नं ५ को बुटवल र वाग्मती प्रदेशको हेटौंडामा नमूना परीक्षणको तयारी छ । प्रवक्ता डा. देवकोटाका अनुसार सबै स्थानमा नमूना परीक्षणका लागि आवश्यक उपकरणसहित सम्पूर्ण सामग्री पुगिसकेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)