ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थतन्त्रलाई चलायमान बनाउन प्राविधिक विज्ञ अध्ययन समिति गठन गरिदै

स्वदेशमै रोजगारी सृजना गर्ने कार्यक्रम ल्याउन विज्ञको सुझाव 

२०७६ चैत, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

चैत २१,  काठमाडौं  । सरकारले कोरोना संक्रमणले प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा प्राविधिक विज्ञ समेत संलग्न गरी अध्ययन समिति गठन गर्ने भएको छ ।

 कोरोना संक्रमण रोकथामका लागि अरु मुलुकहरुले चालेका कदमहरुको सूक्ष्म विश्लेषण गर्ने र नेपालले अपनाउनुपर्ने थप सावधानी तथा कोरोना जोखिम समाप्तिपछि गर्ने आर्थिक कामको लागि विज्ञ समित गठन गरिने भएको हो । 

कोरोनाको संक्रमण रोकथाम गर्न चालेका कदमले अर्थतन्त्रमा पारेको प्रभाव तथा आगामी दिनमा चाल्नुपर्ने कदम सम्बन्धमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु तथा स्वास्थ्य विज्ञसँग शुक्रवार अर्थ मन्त्रालयमा भएको छलफलपछि अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा खतिवडाले सो कुराको जानकारी दिएका हुन ।

छलफलमा सहभागीहरुले सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि थालेका प्रयास र उचित निर्णयहरुले मुलुकलाई थप जोखिमबाट बचाउन सहज बनेको धारणा राखेका थिए । 

उनीहरुले उनले स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने, न्यून आय भएका र दैनिक ज्यालादारी गर्ने मानिसलाई खानपानको लागि समयमै राहत पुर्‍याउन ध्यान केन्द्रित गर्न पनि सरकारलाई सुझाव  दिएका छन् ।

यस्तै उनीहरुले सामाजिक सुरक्षामा ध्यान दिदै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधिहरुको मनोवल बढाउनुपर्ने, आगामी बजेटमा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा बढी जोड दिनुपर्ने, मितव्ययिताको नीति अबलम्वन गर्नुपर्ने तथा खरीदविक्री पारदर्शी बनाउन सुझाव दिएका छन् । 

मन्त्री  खतिवडाले बैठकमा कोरोनाको संक्रमण तथा रोकथाम सरकारको मात्र नभई सबैको साझा दायित्व भएको भन्दै साझा समस्यालाई साझा रुपमै समाधान गर्नुपर्ने र सबै जना आ–आफ्नो क्षेत्रमा जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए ।

उनले राष्ट्रिय सोच र दृष्टिकोणलाई एकताबद्ध गर्दै संघीय सरकारले सबै राजनीतिक दल, सबै तहका सरकार र निजी क्षेत्रसँग छलफल र समन्वय गरी कोरोनाको संक्रमण रोकथाम तथा लक्षित वर्गसम्म राहत पुर्‍याउने कामलाई प्राथमिकतामा राखेको बताए । 

सरकारले समयमा नै चालेको कदमहरुबाट हालसम्म संक्रमित व्यक्तिको संख्या सानो रहेको उनको धारणा थियो ।

यस्तै उनले अन्तरराष्ट्रिय सीमा नाकाबाट थप जोखिम हुन नदिन सीमा बन्द गरिएको जानकारी दिँदै नेपालमा भएका विदेशी नागरिकलाई नेपालले सुरक्षा दिने र बिदेशमा रहेका नेपाली नागरिकलाई ती देशले सुरक्षाका साथ बस्ने व्यवस्था मिलाउन कुटनीतिक तहमा पहल भएकोे बताए । 

छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा मीन बहादुर श्रेष्ठ, डा शंकर शर्मा, डा.जगदीशचन्द्र पोखरेल, डा दिनेशचन्द्र देवकोटा, डा स्वर्णिम वाग्ले र स्वास्थ्य विज्ञ डा अर्जुन कार्की तथा  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेललगायतले कोरोना पछिको अर्थतन्त्र र आगामी कदम बारे सुझाव दिएका थिए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)