काठमाडौं । नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै कोरोना परीक्षणलाई थप सशक्त बनाउने सरकारले निर्णय गरेको छ । शनिवार बसेको मन्त्रिपरिषद् बैठकले तीन जिल्ला कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड टेस्ट प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
शनिवारमात्रै स्वास्थ्य मन्त्रालयले थप तीन जनामा कोरोना भाइरस संक्रमण फेला परेको बताएको थियो । मन्त्रालयका अनुसार कैलालीमा दुईजना तथा कञ्चनपुरमा एक जनामा संक्रमण देखिएको छ ।
पछिल्लो समय सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा भारतमा काम गर्न गएका नेपालीहरू ठूलो संख्यामा फर्केका थिए । कैलाली कञ्चनपुर र बागलुङमा नयाँ संक्रमण देखा परेकाले ती क्षेत्रमा अन्य व्यक्तिमा संक्रमण नफैलियोस् भनेर र्यापिड परीक्षण गरिने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।
खतिवडाका अनुसार ती तीन जिल्लामा र्यापिड टेस्ट गरिने तथा त्यसमा पोजिटिभ देखिएकाहरूको पीसीआर प्रविधिबाट पुनःपरीक्षण गरिनेछ । सरकारले हालै चीनबाट ७५ हजार र्यापिड डाइग्नोस्टिक किट ल्याएको छ । संक्रमण फैलनबाट रोक्न सरकारले लकडाउनलाई थप कडाइ गर्ने निर्णय पनि गरेको छ । शनिवारको मन्त्रिपरिषद्को बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जानसमेत प्रतिबन्ध लगाउने निर्णय गरेको हो । बाहिरबाट आउनेमा कोरोना संक्रमण बढेको पाएपछि लकडाउनलाई पूर्ण पालना गर्न सबै निकायलाई निर्देशन दिने निर्णय भएको खतिवडाको भनाइ छ ।
लकडाउनमा थप कडाइ गरे पनि यसको अवधि बढाउने बारेमा भने मन्त्रिपरिषद्ले निर्णय गरेन । खतिवडाका अनुसार लकडाउनको समयावधि थप गर्ने विषयमा मन्त्रिपरिषद्को अर्को बैठकले निर्णय गर्नेछ । सरकारले शुरूमा चैत ११–१८ सम्म लकडाउन लगाएको थियो जुन १ साता थपेर चैत २५ सम्म पुर्याइएको छ ।
कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश
धनगढीकी एक स्थानीय महिलामा कोरोना भाइरस संक्रमण भेटिएसँगै नेपालमा कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ । अहिलेसम्म विदेशबाट आएका नेपालीमा मात्रै भेटिएकोमा शनिवार धनगढीकी एक स्थानीय महिलामा संक्रमण भेटिएको छ । कैलालीकी ३४ वर्षीया महिला दुबईबाट आएका चौथो संक्रमित व्यक्तिको नातेदार हुन् ।
स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार कैलालीमा बाहिरबाट आएको व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सरेको पाइयो, जुन नेपालमा पहिलो घटना हो । ‘नेपालमा संक्रमित व्यक्तिबाट भाइरस अर्कोमा सरेको यो पहिलो हो । यसले हामी कोरोना संक्रमणको दोस्रो चरण प्रवेश गरेको देखाउँछ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
शनिवार तीन जनामा कोरोना संक्रमण भेटिएसँगै नेपालमा कुल संक्रमितको संख्या ९ पुगेकोे छ । पछिल्लोपटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो । उनीहरूलाई आआफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनै जनामा संक्रमण देखिएको र उनीहरू सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको प्रवक्ता देवकोटाले बताए ।
प्रधान मन्त्रि ज्यू , अरु उप अनि मंत्रिहरुले यो आपतको घडीमा आपत -बिपत टार्ने सामान खरिदमा जति सक्दो कमिसन धोक्ने गरिब र सबै जनता मारा काम गर्ने अनि अखतीयार को मुख र आँखामा पट्टि बाँधेर 30%को नक्कली सामान खरिद गर्ने 70% कुम्ल्याउने सेना द्वारा गराई अलि अलि गन्ध आएको सेनाको हबिगत गराउने गरि डुंग - डुंग गनाउने पार्ने तिर त रक्ष्या मन्त्रि लगायतको ... ध्यान तानिएको त होइन ? बुझ्न त अति गाहारो भयोनि जनतालाई | सबै कोठरीमा बसेका बेला सडक तताउने पनि कोहि छैन भनि ढुक्क संग त होइन? यो पी एम लाइ भन्न खोजेको होइन तर सल्लाहकार भने खतम नै रहेछन भन्न खोजेको भने पक्कै हो , त्यसैले सल्लाहकार राम्रा राख्नुहोस , खकार र डकार होइन नत्र देश पद यीनले डुबाउछन | खड्ग ओलीको प्रधान मन्त्रि काल सुनको अक्षरले लेखियोस , आठराइको सुबास चलोस कामना !