ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूर्वाधार र अत्यावश्यक खाद्य उद्योग सञ्चालनका लागि मापदण्ड तयार

२०७६ चैत, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । कोरोना रोकथाम उच्चस्तरीय समितिको बिहीवारको बैठकले पूर्वाधार आयोजना र अत्यावश्यक उद्योग सञ्चालन गर्न दिने निर्णय गरेसँगै पूर्वाधार निर्माण र उद्योग सुचारु गर्न सम्बद्ध मन्त्रालयले संयुक्त रूपमा मापदण्ड बनाएका छन् । 

उद्योग तथा पूर्वाधार निर्माणलाई निरन्तरता दिने समितिको निर्णय कार्यान्वयन गर्न सम्बद्ध मन्त्रालयलाई समेटेर मापदण्ड बनाइएको समितिका सदस्यसचिव नारायणप्रसाद बिडारीले बताए ।

भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रूपमा यो मापदण्ड बनाएका हुन् । मुख्यमुख्य आयोजना र अत्यावश्यक खाद्यका साथसाथै निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरूले यो मापदण्ड पालना गर्नुपर्ने हुन्छ । 

मापदण्डमा आयोजना तथा उद्योगका कामदारहरूले सुरक्षाका उपायहरू अपनाउनुपर्ने, एकआपसमा दूरी कायम राख्नुपर्ने, समयसमयमा शरीरको तापक्रम जाँच्ने, स्यानिटाइजरको प्रयोग गरेर काम गर्नुपर्ने उल्लेख छ । 

उद्योगभित्र नै कामदार र कर्मचारी भएका खाद्य गोदाममा उत्पादन, प्याकेजिङलगायत काम गर्न सकिने भएकाले अत्यावश्यक खाद्य उद्योगका लागि पनि मापदण्ड बनाइएको छ । ‘यो मापदण्ड खासखास आयोजना तथा उद्योगका लागि हो,’ समितिका सदस्यसचिव बिडारीले भने । 

सुरूङमार्गलगायता पूर्वाधार आयोजनामा बाहिरका कामदार भित्र जान नमिल्ने र भित्रका कामदार तथा कर्मचारी पनि बाहिर आउन नपाउने गरी मापदण्ड बनाइएको छ । 

सरकारले प्रमुख पूर्वाधार आयोजना सुचारु गर्ने निर्णय गरेपछि मुलुकका ठूला आयोजनाका प्रमुखहरूले आयोजनाको कामलाई कसरी अघि बढाउने भन्ने विषयमा प्रस्ताव बनाउन लागेको आर्थिक अभियानलाई बताए । लकडाउनपछि आपूर्ति सहज नहुँदा सीमित स्रोतसाधन तथा कम जनशक्तिका बीच प्रमुखहरूले काम अघि बढाउने व्यवस्थापनमा जुटेका छन् ।

नेपालकै पहिलो सुरुङमार्ग मानिएको नागढुंगा—नौबीसे सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले पूर्वाधार निर्माणलाई अघि बढाउन मापदण्ड बनाइएकाले अब सुरुङको काम अघि बढाउने विषयमा परामर्शदाता तथा इन्जिनीयरलाई प्रस्ताव तयार गर्न निर्देशन दिएको उनले बताए । निर्माण सामग्री बालुवा, गिटी, सिमेन्टको आपूर्ति सहज बनाउने र आयोजनाभित्र सुरक्षित भएर काम गर्ने विषयमा तयारी गरिएको उनको भनाइ थियो ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्ची आयोजनाको काम तीव्रगतिमा हुन नसकेको बताए । ३०० भन्दा बढीले काम गरिरहेको अवस्थामा अहिले ५० देखि ६० जनाको भरमा काम भइरहेको भन्दै खत्रीले भने, ‘यो अवस्थामा बाहिरबाट तुरुन्त कामदार पनि ल्याउन सकिँदैन ।’ यद्यपि सरकारको निर्णयले निर्माण सामग्रीको ढुवानी तथा आपूर्तिमा भने सहज भएको उनको भनाइ छ । 

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले विमानस्थलभित्र नै रहेका २७० जना चिनियाँ तथा १०० जति नेपाली कामदारबाट काम भइरहेको बताए । तर, भारत र चीनबाट निर्माण सामग्रीहरू नआउँदा काम गर्न समस्या भएको भन्दै उनले भने, ‘भारतबाट सिमेन्ट आएको छैन भने निर्माणका सामग्रीहरू सहितका पाँचओटा कन्टेनर केरुङ नाकामै रोेकिएका छन् । निर्माण सामग्रीको अभावले काम गर्न बाधा पुगेको छ ।’ यद्यपि आयोजनाको काम हालसम्म ५६ प्रतिशत सम्पन्न भइसकेको छ । 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा स्वदेशी तथा बाहिरका गरी १ हजार १०० कर्मचारी तथा कामदार आयोजनाभित्र रहेको भए पनि मानसिक रूपमा कामका लागि तयार हुन समय लाग्ने बताइएको छ । आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले आयोजनामा काम गर्ने वातावरण बनाउँदै गरेको बताए । उनले भने, ‘अप्ठ्यारो अवस्था छ, धेरै कामदारको भीड हुने खालका काम निर्माण गरिएको छैन । अहिले सुरक्षाका केही उपाय अपनाएर काम अघि बढाउने तयारीमा छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)