ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीका गाउँ-गाउँका नाका बन्द

गाउँमा नआउन र बाहिर नजान उर्दी

२०७६ चैत, २२  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

चैत २३, म्याग्दी । कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगिन म्याग्दीको ग्रामीण भेगका जनताले अपरिचितलाई गाउँमा छिर्न नदिन गाउँ छिर्ने नाकाहरू बन्द गरेका छन् ।
छिमेकी जिल्ला बागलुङको कुडुलेकी एक युवतीलाई कोरोना पोजेटिभ देखिएसँगै बागलुङ जोड्ने नाकाहरूमा पर्ने पक्की पुल, झोलुंगेपुल र पैदल यात्रामा समेत स्थानीयले कडाइ गरेका छन् ।

त्यसैगरी २ साता लामो लकडाउनका कारण घरमा बस्न दिक्क लागेपछि जिल्लाको पर्यटकीय स्थल टोड्केमा जाने मानिसको संख्या बढ्दा कोरोना संक्रमणको जोखिम बढ्ने भयले स्थानीयले पर्खाल लगाएर, सूचना बोर्ड नै टाँस गरी गाउँमा आउन पूर्ण निषेध गरेको स्थानीय युवा सन्देश आचार्यले जानकारी दिए ।


लकडाउनको उल्लंघन भइरहेको अवस्थामा नाका नै बन्द गरेर अत्यावश्यक सवारीबाहेक अन्य सवारीलाई गाउँ छिर्न नदिने एउटै उपाय नाका बन्द नै भएको मंगला गाउँपालिका २ भाइवाङका युवा सन्देश आचार्यले बताए । ‘सडक बन्द नगरेसम्म लकडाउनको प्रभावकारी कार्यान्वयन देखिएन, अति आवश्यक परेकालाई युवाहरूको सहयोगमा बाटो खुला गर्छौं,’ उनले भने ।


जिल्लाका मंगला गाउँपालिकाका कुहूँ, डडुवा, बेनी नगरपालिकाको रत्नेचौर, ज्यामरुककोट, अन्नपूर्ण गाउँपालिकाको घार लगायत गाउँका नाका बन्द गरिएको छ । अरू ठाउँबाट आफ्नो गाउँमा कोही पनि नआउन र अत्यावश्यक काम बाहेक आफ्नो गाउँबाट कोही पनि बाहिर नजान ती गाउँका जनप्रतिनिधि र सचेत युवाहरूले उर्दी नै जारी गरेका लाल युवा क्लब पूर्णगाउँका सचिव सागर सुवेदीले बताए । बाहिरबाट गाउँ भित्रनेलाई मात्रै होइन, गाउँमा पनि खेतबारीको काम गर्दा भीडभाड गर्ने, समूह बनाएर छलफल गर्ने, विनाकाम गाउँमा डुल्ने, साबुनपानीले नियमित हात नधुनेहरूलाई समेत सचेत बनाइएको उनको भनाइ छ ।


ग्रामीण सडकमा ठाउँ–ठाउँमा ढुंगा थुपारिएको छ भने केहीमा ह्युमपाइप समेत राखेर बाटो बन्द गरिएको छ । एउटै वडाभित्र रहेका अर्को गाउँमा जान समेत रोक लगाइएको छ । साथै स्थानीय तहहरूले स्वयम्सेवक दस्ता गठन गरेर परिचालन समेत गरेका छन् ।


लकडाउनको अवज्ञा गरी अनावश्यक सवारी साधन चलाउने क्रम बढेपछि यस्तो गर्नु परेको बेनी नगरपालिका १० पात्लेखेतका युवा भिमनाथ शर्माको भनाइ छ । केही बस्तीमा सडक छेक्न लगाइएको बारमै कोरोनाबाट बच्ने उपाय लगायत सन्देश लेखेर टाँसिएको छ ।


जिल्लाका ६ ओटै स्थानीय तहका ४५ वडामध्ये अधिकांश वडामा नाकाबन्दी गरीएको स्थानीयको भनाइ छ । यो अभियानलाई जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूले समेत सघाएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)