ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संक्रमित थपिएसँगै सुदूरपश्चिममा सतर्कता बढाइयो

२०७६ चैत, २२  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

चैत २३, धनगढी । सुदूरपश्चिम प्रदेशमा करोना संक्रमितको संख्या चार पुगेपछि आइतवारदेखि सतर्कता बढाइएको छ । नेपाली सेनाको १० सदस्यीय चिकित्सक टोलीले बिहीवार ९२ जनाको स्वाब परीक्षण गरेकोमा दुई जनामा संक्रमण देखिएपछि स्थानीय प्रशासनले लकडाउनलाई समेत थप कडाइ गरेको छ ।


यसअघि अत्यावश्यक सामग्री खरीदका लागि बिहान–बेलुका ३/ ३ घण्टा लकडाउन खुकुलो पार्दै आएकोमा कोरोना संक्रमित थपिएपछि धनगढी उपमहानगरपालिकाले विज्ञप्ति प्रकाशित गरेर लकडाउन अवधिभर २४ घण्टा बजार बन्द र आवतजावतमा रोक लगाउने निर्णय गरेको छ ।


सुदूरपश्चिम प्रदेश सरकारले संकलन गरेको तथ्यांक अनुसार लकडाउन अघिपछि गरी १ लाख ३४ हजार ५०० व्यक्ति भारतबाट सुदूरपश्चिम प्रवेश गरेका छन् । नाका छलेर आएकाहरूको संख्या पनि धेरै रहेको भन्दै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कैलाली कञ्चनपुरमा र्‍यापिड टेस्ट गर्न संघीय सरकारसँग प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव केन्द्र सरकारको शनिवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पारित गरिसकेको छ । यस्तै विदेशबाट आएका सबैको परीक्षण गर्नुपर्नेलगायत निर्णय भएको प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले बताए ।


लकडाउन खुकुलो भएकाले संक्रमणको जोखिम बढेको स्थानीयको गुनासो छ । लकडाउन उल्लंघन गरेर चलाएको भन्दै यो अवधिभर जिल्ला प्रहरी कार्यालय कैलालीले करीब ९०० मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

लकडाउन खुकुलो भएको स्वीकार्दै प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले यही अवस्था कायम रहे कर्फ्यू लगाइने चतावनी दिएका छन् । 

प्रदेशका नौओटै जिल्लामा गरी ४ हजार ९०० क्वारेन्टाइन तथा साढे ७०० आईसोेलेशन वार्ड निर्माण गरिए पनि २ हजार ३०० क्वारेन्टाइन मात्र प्रयोगमा आएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । विदेशबाट आएकाहरू क्वारेन्टाइनमा बस्न नमान्ने गरेकाले संक्रमणको जोखिम बढेको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलेले बताए ।

 
कैलाली–कञ्चनपुरमा ¥यापिड टेस्टको प्रक्रिया अघि बढाउने निर्णय संघीय सरकारले गरिसकेकाले संक्रमण कम हुने अपेक्षा स्थानीय सरकारले गरेका छन् । सेती प्रादेशिक अस्पतालमा राखिएको ल्याबमा अहिलेसम्म ४९ जनाको नमूना संकलन गरिएकोमा तीन जनामा कोरोना पुष्टि भएको हो ।

एउटा मात्र ल्याब भएकाले नियन्त्रणमा समय लागेको चिकित्सकहरू बताउँछन् । सेती प्रादेशिक अस्पतालमा २३ ओटा आइसोलेसन वार्ड स्थापना गरिएको छ भने यो प्रदेशबाट चार जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

पछिल्लो अवस्था हेर्दा प्रदेशमा कोरोना संक्रमित बढेकाले यसको नियन्त्रण चुनौतीपूर्ण भएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । संक्रमणको रोकथामका लागि प्रदेश सरकारले ४० करोड रुपैयाँको कोष स्थापना गरेको छ । उक्त कोषमा यहाँ सञ्चालित विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गरी ४३ लाख कोषमा जम्मा भएको मुख्मन्त्री भट्टले जानकारी दिए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)