ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीटुजी वा निजीक्षेत्रबाट स्वास्थ्य उपकरण किन्न सकिने निर्णय

कोरोनाविरुद्धको अभियानमा देशैभर ५० हजार स्वयंसेविका परिचालन गरिने

२०७६ चैत, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar टीपी भुसाल

काठमाडौं । निजीक्षेत्रसँग गरिएको स्वास्थ्य सामग्री खरीद प्रक्रिया विवादास्पद हुन पुगेपछि सरकारले कोरोना उपचार र नियन्त्रणका लागि आवश्यक सामग्री जीटुजी वा निजीक्षेत्र दुवै प्रक्रियाबाट किन्न सकिने निर्णय गरेको छ ।

कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको आइतवारको वैठकले महामारीको समय भएकाले औषधि र उपकरणको खरीद सार्वजनिक खरीद ऐनको प्रावधानअनुसार जीटुजी माध्यममार्फत विदेशी सरकारसँग गर्न सकिने तथा निजीक्षेत्रबाट पनि खुला प्रतिस्पर्धाबाट किन्न सक्ने दुवै विकल्प अपनाइने निर्णय गरेको हो । 

‘सार्वजनिक खरीद ऐनको प्रावधानअनुरूप सरकारले विदेशी सरकार र संस्थाबाट जीटुजी प्रक्रियाबाट तथा नियमावलीअनुसार निजीक्षेत्रबाट पनि प्रतिस्पर्धाका आधारमा किनेर आपूर्ति गर्न सक्ने दुईओटै प्रक्रिया अपनाउने निर्णय भएको छ,’ उच्चस्तरीय समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले भने । 

यसअघि स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले निजीक्षेत्रको ओम्नी समूहसँग चीनबाट स्वास्थ्य सामग्री आपूर्तिका लागि १ अर्ब २४ करोड रुपैयाँ बराबरको सम्झौता गरेको थियो । सम्झौताअनुसार ओम्नीले पहिलो चरणमा करीब २९ करोड रुपैयाँ बराबरको १० ओटा सामग्री ल्याएको थियो । तर, ल्याइएका कतिपय सामग्रीको गुणस्तर र मापदण्डमा प्रश्न उठेपछि सरकारले ओम्नीसँगको खरीद सम्झौता रद्द गरेको थियो । 

सरकारले नेपाल वायुसेवा निगमको विमान चीनको क्वाङचाउ पठाएर चीनले दिएका उपकरणसहित ओम्नीले किनेका स्वास्थ्य सामग्रीसमेत ल्याएको थियो । 
ओम्नीसँगको सम्झौता रद्द गरेपछि सरकारले स्वास्थ्य सामग्री किन्ने जिम्मा नेपाली सेनालाई दिएको छ । ‘आवश्यक पर्ने औषधि, उपकरण रक्षा मन्त्रालयले नेपाली सेनामार्फत जीटुजी प्रक्रियाबाट खरीद गर्ने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । 

आइतवार नै नेपाली सेनाले पत्रकार सम्मेलन गरी स्वास्थ्य सामग्री खरीद प्रक्रियालाई पारदर्शी बनाउने बतायो । सेनालाई खरीदको जिम्मा दिने सरकारी निर्णयको चौतर्फी आलोचना भइरहँदा सेनाले खरीद प्रक्रियामा कुनै शंका नहोस् भन्नका लागि परीक्षणको छुट्टै संयन्त्र तयार पारेको बतायो । 

यसैबीच सरकारले १४ दिन क्वारेन्टाइनमा बसिसकेकाहरूको स्वाब परीक्षण गरेर मात्रै घर फर्किन दिने निर्णय गरेको छ । परीक्षणमा केही लक्षण देखिएमा उनीहरूलाई आइसोलेशनमा राखी उपचार गरिनेछ । ‘क्वारेन्टाइनमा राखिएकालाई परीक्षण गरेर मात्रै जान दिने निर्णय भएको छ,’ 
बिडारीले भने ।

यसका साथै, कोरोना नियन्त्रण अभियानमा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय सरकारले गरेको छ । मुलुकभर ५० हजार स्वयंसेविका परिचालन गर्ने तथा उनीहरूको पारिश्रमिक र बीमाको व्यवस्था गरिने बिडारीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)