ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाली वस्तु उत्पत्ति प्रमाणपत्रविनै भारत निर्यात गर्न सकिने

२०७६ चैत, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । लकडाउन अवधिमा नेपालमा उत्पादित वस्तुको उत्पत्ति प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजन) विना नै भारत निर्यात गर्न सकिने भएको छ । लकडाउनका कारण उत्पत्तिको प्रमाणपत्र बनाउन नसक्ने अवस्था आएपछि दुवै मुलुकको सहमतिमा यस्तो व्यवस्था गरिएको हो । तर, लकडाउन खुलेपछि निर्यात भइसकेको वस्तुको उत्पत्तिको प्रमाणपत्र बनाएर भारतलाई बुझाउनुपर्ने छ ।

भारतमा उत्पादित हुने वस्तु आयात गर्दा पनि उत्पत्तिको प्रमाणपत्र अनिवार्य नगरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । भन्सार तिरेर निर्यात हुने सामानमा भने यसले कुनै असर नगर्ने मन्त्रालयको भनाइ छ । 

नेपालमा उत्पादित वस्तु भारतमा निर्यात गर्दा सम्बद्ध वस्तु नेपालमा नै बनेको भनेर प्रमाणित गर्ने काम नेपाल उद्योग वाणिज्य महासंघले गर्दै आएको छ । तेस्रो मुलुकमा निर्यात गरिने वस्तुको हकमा भने नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले प्रमाणीकरण गर्दै आएका छन् ।

मन्त्रालयका सहसचिव नवराज ढकालले लकडाउनका कारण नेपाल र भारतमा परेको प्रभावलाई दृष्टिगत गर्दै द्विपक्षीय व्यापारमा उत्पत्तिको प्रमाणपत्र हाललाई नचाहिने व्यवस्था गरिएको बताए । ‘अहिले भारतबाट आउने सामानमा यस्तो प्रमाणपत्र अनिवार्य गरेको छैनौै । साथै, नेपाली व्यवसायीले पनि उत्पत्तिको प्रमाणपत्रविना नै सामान निर्यात गर्न सक्छन्,’ उनले भने, ‘तर, लकडाउन खुलेपछि पुरानै पद्धतिमा द्विपक्षीय व्यापार हुन्छ । साथै, अहिले पैठारी भएका सामानको पनि पछि उत्पत्तिको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ ।’ अन्य मुलुकबाट आउने सामानमा भने आवश्यक कागजपत्र सबै बुझाउनुपर्ने उनको भनाइ छ । 

यद्यपि, लकडाउनका कारण कुनै पनि सामान निर्यात गर्न नसकेको व्यवसायीहरू बताउँछन् । तर, नीतिगत रूपमा यस्तो व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ । 

लकडाउनका कारण सामान निर्यातमा कमी आएपछि अहिले यस्तो प्रमाणपत्र पनि कम मात्रामा जारी भएको छ । पहिला देशभर गरेर दैनिक ४०० भन्दा बढी उत्पत्तिको प्रमाणपत्र जारी हुने गर्दथ्यो । अहिले वीरगञ्ज र विराटनगरबाट नगण्य मात्रामा यस्तो प्रमाणपत्र जारी भएको छ । काठमाडौंबाट भने यस्तो प्रमाणपत्र जारी नभएको महासंघका उपनिर्देशक विष्णुकुमार अधिकारीले बताए । 

आपत्कालीन अवस्था आए पनि उत्पत्तिको प्रमाणपत्र अनिवार्य गर्नुपर्ने उपनिर्देशक अधिकारीको भनाइ छ । ‘पहिला हामीले उत्पत्तिको प्रमाणपत्र जारी गथ्र्याैं र व्यवसायीले सोहीअनुसार वस्तु निर्यात गर्दथे । तर, हाललाई उनीहरू वस्तु निर्यात गर्न स्वतन्त्र भए,’ उनले भने, ‘यो अवस्थामा व्यवसायीले भारततर्फ सीधै निर्यात गर्न लागे पनि नेपालमा खाद्यवस्तुको अभाव हुन सक्छ । तसर्थ, यस विषयमा सरकारले विचार गर्न आवश्यक छ ।’

सरकारले भारतबाहेक दक्षिण एशियाका अन्य मुलुकसँग गर्दै आएको व्यापारलाई पनि सहजीकरण गर्ने तयारी गरेको छ । त्यसका लागि मंगलवार दक्षिण एशियाका आठओटै देशका वाणिज्य प्रतिनिधिबीच भिडियो कन्फरेन्स गर्न लागिएको मन्त्रालयका सहसचिव ढकालले जानकारी दिए । नेपालले दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)सम्बद्ध मुलुकहरूसँग व्यापार गर्दै आएको छ । 

साफ्टाअनुसार गरिने व्यापारलाई सहज बनाउन सम्बद्ध मुलुकका अधिकारीसँग भिडियो कन्फरेन्स गर्न लागिएको सहसचिव ढकालको भनाइ छ । ‘भिडियो कन्फरेन्समा साफ्टामार्फत हुने व्यापारलाई सहजीकरण गर्ने विषयमा छलफल हुन्छ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)