ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनमा ढुवानी सहजीकरण : कोलकाता र हल्दिया बन्दरगाहमा जरीवाना मिनाहा

२०७६ चैत, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । कोभिड–१९ बाट ढुवानीमा देखिएको गतिरोध समाधानका निम्ति भारतको कोलकाता र हल्दिया बन्दरगाहले कन्टेनर र बल्क कार्गोमा लाग्ने जरीवाना मिनाहा गर्ने भएका छन् ।

नेपालको तेस्रो मुलुकसँगको व्यापारमा अधिक चल्तीमा रहेको कोलकाता बन्दरगाहले गत मार्च २२ देखि अप्रिल १४ सम्म आएका कार्गोमा यो अवधिमा निःशुल्क समय गणना नहुने बताएको हो । 

पोर्टले सूचना निकालेर यो अवधिमा बन्दरगाहमा अनलोड भएका कार्गोलाई यस्तो सहुलियत घोषणा गरेको हो । बन्दरगाहले रेलमार्फत ढुवानी हुने कार्गोलाई २० र सडकमार्गमा १० दिन निःशुल्क समय दिन्छ । बन्दरगाहमा अनलोड भएको कार्गो यो समयभन्दा बढी बन्दरगाहमा राख्नुपरेमा जरीवाना तिर्नुपर्छ । बन्दरगाहको सूचनाअनुसार २२ मार्चदेखि १४ अप्रिलसम्म यो निःशुल्क समय गणना हुँदैन ।

रेल र सडक दुवै मार्गबाट हुने ढुवानीमा यो सहुलियत दिइनेछ । रेलमार्गबाट ढुवानी हुने कार्गो २२ मार्चमा बन्दरगाहमा अनलोड भएको रहेछ भने त्यस्तो कार्गोको २० दिनको निःशुल्क समयको गणना १४ अप्रिलबाट हुने पोर्ट ट्रस्टले बताएको छ ।

‘कोभिड १९ ले ढुवानीमा निम्त्याएको असहजतालाई ध्यानमा राखेर आयातकर्तालाई यो सहुलियत दिइएको हो । यो व्यवस्था हल्दिया बन्दरगाहमा पनि लागू हुन्छ,’ कोलकाता पोर्ट ट्रस्टका अध्यक्ष विनीत कुमारले आर्थिक अभियानसित भने । 

हल्दिया पनि कोलकाता पोर्ट ट्रस्टले सञ्चालन गरेको बन्दरगाह हो । नेपालका लागि आउने कोइलाको अधिकांश परिमाण यही बन्दरगाहबाट आउँछ । बन्दरगाहको टर्मिनल सञ्चालन शुल्कमा पनि ५० प्रतिशत छूट दिइएको अध्यक्ष विनीत कुमारले बताए । 

सामान्य अवस्थामा यस्तो शुल्क प्रतिकन्टेनर १ हजारदेखि १५ सय भारतीय रुपया लाग्ने गरेको उनले जानकारी दिए । सीएफएस चार्जमा पनि सहुलियत दिइएको बन्दरगाहले बताएको छ । नेपालका लागि आउने कन्टेनर कार्गोमध्ये ६० प्रतिशत कार्गो कोलकाता बन्दरगाहबाट आउँछ ।

तेस्रो मुलुकबाट भारतीय बन्दरगाह र वीरगञ्ज सुक्खा बन्दरगाहसम्म कन्टेनर ढुवानी गर्ने सिपिङ कम्पनीले पनि आयातकर्तालाई दिने निःशुल्क समयमा यही प्रावधानलाई पछ्याएका छन् । यस्ता कम्पनीले ५ देखि २१ दिनसम्म यस्तो समय दिन्छन् । सहुलियत समयको गणना १४ अप्रिलपछि मात्रै गरिने भएको छ । 

भारतीय रेलवेले पनि यो समयका लागि ढुवानीमा डेमरेज र वारफेज दुवै जरीवाना छूट दिएको छ । त्यहाँको रेलवे मन्त्रालयले मातहतका सबै क्षेत्रीय कार्यालयलाई यसअघि नै पत्राचार गरी जरीवाना मिनाहा गर्न भनेको छ । 

हल्दियामा संक्रमित भेटिएपछि त्रास 

हल्दिया बन्दरगाहको वर्थ सञ्चालन गर्ने एक जना कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि त्रास फैलिएको छ । ती कर्मचारीमा शनिवार कोरोना पुष्टि भएको थियो ।  ती कर्मचारीको सम्पर्कमा आएका बन्दरगाहका आठ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको बन्दरगाह व्यवस्थापनले बताएको छ । 

बन्दरगाहमा कीटनाशक औषधि छर्किएर उच्च सतर्कतामा काम भइरहेको अध्यक्ष विनीत कुमारले बताए । बन्दरगाहमा क्वारेन्टाइन, आइसोलेशन र चौबीसै घण्टा चिकित्सकको सेवा उपलब्ध गराइएको पनि उनले जानकारी दिए ।

त्रासका कारण आयातकर्ताका प्रतिनिधि काममा जान सकेका छैनन् । लकडाउनका कारण बन्दरगाहसम्म आउजाउमा समेत कठिनाइ भइरहेको कस्टम हाउस एजेन्ट अमृत श्रेष्ठले बताए ।

जसोतसो बन्दरगाहमा पुगे पनि कर्मचारी नभेटिने गरेको उनले गुनासो गरे । वीरगञ्ज सुक्खा बन्दरगाहबाट आयातकर्ताले कन्टेनर नउठाउँदा कोलकाताबाट कन्टेनर पठाउन समस्या भएको पनि उनले बताए । ‘वीरगञ्ज बन्दरगाहमा कहिले कन्टेनर खाली हुन्छन् भन्ने निश्चित नभएपछि कोलाकाताबाट तत्काल पठाउन पनि जोखिम भयो,’ उनले आर्थिक अभियानसित भने ।

सुक्खा बन्दरगाहमा घटेन चाप  

जारी लकडाउनले ढुवानी असहज हुँदा वीरगञ्ज नाकामा आइपुगेका अधिकांश मालसामान भन्सारमा रोकिएका छन् । सुक्खा बन्दरगाहबाट सोमवार १३ ओटा कन्टेनरमात्र बाहिरिएको बन्दरगाह सञ्चालक हिमालयन टर्मिनलका वरिष्ठ अधिकृत अनिमेष कुमारले बताए ।

१ हजार ५४२ कन्टेनर क्षमताको बन्दरगाहमा अहिले २ हजार ६४५ ओटा कन्टेनर रोकिएका छन् । २६ ओटा रेल बाटोमा रहेको बन्दरगाहले बताएको छ । ९० कन्टेनरका दरले यी रेलले २ हजार ३४० ओटा कन्टेनर बन्दरगाहमा थप्छन् । बन्दरगाह सञ्चालकलाई ती कन्टेनर कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)