ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चुनौतीका चाङबीच केन्द्रीय बैंक सम्हाल्दै अधिकारी 

२०७६ चैत, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नयाँ गभर्नरका रूपमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद्को बैठकअघि सोमवारै बसेको गभर्नर सिफारिश समितिको बैठकले अधिकारीसहित राष्ट्र बैंकका कामु गभर्नर चिन्तमाणि शिवाकोटी र पूर्वसचिव केशव भट्टराइको नाम गभर्नरका लागि सिफारिश गरेको थियो । 

गभर्नरका रूपमा नियुक्त भएसँगै अधिकारी ४ वर्षपछि राष्ट्र बैंक फर्केका छन् । यसअघि डेपुटी गभर्नर भइसकेका अधिकारीको केन्द्रीय बैंकको प्रमुखका रूपमा आगमन भने चुनौतीपूर्ण समयमा भएको छ । 

राष्ट्र बैंकमा सहायक निर्देशकबाट प्रवेश गरी डेपुटी गभर्नरसम्म काम गर्दा वित्तीय क्षेत्रमा सफल व्यवस्थापकको छवि बनाएका अधिकारीका सामु अहिले कोरोना भाइरसका कारण देशको अर्थतन्त्रका साथै वित्तीय क्षेत्र समस्याग्रस्त हुँदै गर्दा मुलुकको वित्तीय व्यवस्थापनको बागडोर सम्हाल्नुपर्ने जिम्मेवारी आएको छ । 

हालका अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा शुरू गरिएका वित्तीय क्षेत्रका अधिकांश सुधारका पहलहरूमा डेपुटी गभर्नरका रूपमा अधिकारीको सहभागिता उल्लेख्य रहेको थियो । बैंक तथा वित्तीय क्षेत्रको सुपरिवेक्षण, समस्याग्रस्त वित्तीय संस्थामाथि कडाइ, बैंकर तथा उद्योगीलाई छुट्ट्याउनेलगायत सुधारका कामहरूको नेतृत्व उनले नै गरेका थिए ।

त्यस्तै, फाइनान्सियल एक्शन टास्क फोर्सको कालो सूचीबाट नेपाललाई जोगाउन सम्पत्ति शुद्धीकरणको नीतिगत व्यवस्था तर्जुमा गर्न र तिनलाई संसद्बाट पारित गराउन अधिकारी सक्रिय रहेका थिए । 

अहिले खतिवडा र अधिकारीको जोडी पुनः आएको बताउँदै राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले दुईबीचको तालमेलले सकारात्मक नतीजा ल्याउन सक्ने प्रतिक्रिया दिए । ‘अधिकारी र अर्थमन्त्रीको कामको तालमेल पहिलादेखि थियो । अधिकारीले डेपुटी गभर्नरका रूपमा आउँदा वित्तीय क्षेत्रमा समस्या धेरै थियो । त्यसलाई सम्हाल्दै उनले वित्तीय क्षेत्रमा थुप्रै सुधार गरे,’ क्षेत्री बताउँछन् ।

वित्तीय क्षेत्रका जानकारहरू गभर्नरका रूपमा अधिकारीका अगाडि वित्तीय स्थायित्व, आर्थिक वृद्धि, मूल्य वृद्धि, विदेशी विनिमय सञ्चितिलगायत व्यवस्थापनको चुनौती रहेको बताउँछन् । 

‘अहिले उद्योगी व्यवसायीले ऋणको अवधि सार्देऊ भनेर १ महीना पर सारियो । पछि अवस्था जटिल भए ऋण मिनाहा गर्न पनि दबाब आउन सक्छ । साथै सरकार लोकप्रिय बन्न जतिसक्यो खर्च गर्न थाले महँगी बढ्न सक्छ । यसको जिम्मा सरकारले लिँदैन । मूल्य वृद्धि रोक्ने जिम्मा केन्द्रीय बैंकको हुन्छ,’ पूर्वगभर्नर क्षेत्रीले भने, ‘शुरूमा कोभिडबाट आएको संकटबाट मुलुकलाई कसरी जोगाउने भन्ने चुनौती छ । त्यसमा काम गर्ने वातावरण कस्तो हुन्छ, यसमा पनि भर पर्छ ।’

सरकारले विस्तारकारी बजेट ल्याएमा त्यसअनुरूप मौद्रिक नीति व्यवस्था गर्नुपर्ने र लागू गर्ने चुनौती हुन सक्ने उनको ठहर छ । साथै केन्द्रीय बैंकको स्वायत्ततालाई जोगाउन जरुरी भएको उनले औंल्याए । 

नेपाली अर्थतन्त्र शिथिल भएका बेला गभर्नरले बहुआयामिक क्षेत्रतर्फ हेर्न सक्ने क्षमता राख्नुपर्ने पूर्वबैंकर अनलराज भट्टराई बताउँछन् । ‘चुनौती प्रशस्त छन्, त्यसलाई कुशल व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी नयाँ गभर्नरको काँधमा आएको छ,’ उनले भने । नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले राष्ट्र बैंकको क्याडर तथा समग्र वित्तीय क्षेत्रका बारेमा जानकार व्यक्ति गभर्नरका रूपमा आउनु सकारात्मक भएको बताए । ‘कोरोनाको चुनौतीलाई व्यवस्थापन गर्ने, पेमेन्ट प्रणालीलाई पूर्णरूपमा डिजिटल बनाउने काम उहाँले गर्नुपर्छ,’ दाहालले भने । 

नयाँ गभर्नरका अगाडि शुरूमै कोरोनाले पार्ने असर व्यवस्थापनको चुनौती रहेको ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले बताए । ‘ब्याजदर स्थायित्व, तरलता व्यवस्थापनलगायतमा नयाँ गभर्नर केन्द्रित हुनुपर्छ । अर्थ मन्त्रालयको सल्लाहकार भएका नाताले पनि समग्र अर्थतन्त्रको व्यवस्थापनमा गभर्नरको भूमिका महŒवपूर्ण हुन्छ,’ कुँवरले भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)