ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विकास साझेदारसँग करीब ४१ अर्ब जुटाउन गृहकार्य शुरू

२०७६ चैत, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि झन्डै ४१ अर्ब रुपैयाँ वैदेशिक सहायता जुटाउन सरकारले गृहकार्य थालेको छ । विकास साझेदारहरू विश्व बैंक, एशियाली विकास बैंक (एडीबी) तथा अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग अर्थ मन्त्रालयले छलफल अघि बढाएको हो । 

सरकारले सबैभन्दा बढी विश्व बैंकसँग २४ अर्ब २२ करोड रुपैयाँ, एशियाली विकास बैंकसँग रू. ७ अर्ब २६ करोड रुपैयाँ, अन्तरराष्ट्रिय मुद्राकोषसँग १३ अर्ब ९ करोड रुपैयाँ सहायता लिन छलफल अघि बढाएको छ । ‘अहिलेसम्म ४१ अर्ब बराबरको सहायता लिनेबारे छलफल अघि बढाएका छौं । सहयोग गर्न दातृ निकायहरू सकारात्मक छन्,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

विश्व बैंकसँग लिन लागिएको सहयोगमध्ये ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको सहुलियत ऋणका लागि आज मंगलवार सम्झौता हुँदै छ । यो ऋण बैंकको आपत्कालीन, महामारी, पूर्वतयारी तथा नियन्त्रण योजनाअन्तर्गत लिन लागिएको हो । 

यसअघि विश्व बैंकले प्राकृतिक प्रकोप तथा स्वास्थ्यसम्बन्धी विपद् न्यूनीकरणका लागि नेपाल सरकारलाई ६ अर्ब रुपैयाँ बराबरको ऋण सहयोग गरिसकेको छ । रोगबाट पर्ने जोखिम व्यवस्थापनका लागि सरकारले आप्mनो क्षमता विकासमा समेत यो रकम खर्च गर्दै छ ।

एशियाली विकास बैंक (एडीबी) सँग तत्काल ७ अर्ब २६ करोड रुपैयाँ सहायता लिनेबारे छलफल भइरहेको र चालू वर्षमा अन्य कार्यक्रम सञ्चालनका लागि उसले छुट्ट्याएको बजेट कोरोना रोकथामका निम्ति परिचालन गर्नेबारे छलफल अघि बढाइएको मन्त्रालय स्रोतको भनाइ छ । 

देशभर गरिएको लकडाउनका कारण उत्पादन, सेवाक्षेत्र र विप्रेषण आप्रवाहमा ह्रास भई आर्थिक वृद्धि घट्ने प्रक्षेपण एडीबीले यसअघि गरिसकेको छ । 

विशेषगरी धानसहित कृषिजन्य वस्तुको उत्पादनमा कमी आउने, आन्तरिक माग घट्ने, सिमेन्ट, छड, इँटाजस्ता मुख्य उद्योग पूर्णक्षमतामा सञ्चालन हुन नसक्ने जस्ता कारणले आर्थिक वृद्धिमा प्रभाव पार्ने एडीबीले बताइसकेको छ । 

अन्तरराष्ट्रिय मुद्राकोषसँग भुक्तानी सन्तुलन तथा विदेशी विनिमय मौज्दात व्यवस्थापन गर्ने र्‍यापिड क्रेडिट फेसिलिटीअन्तर्गत १३ अर्ब ९ करोड रुपैयाँ लिने तयारी अर्थ मन्त्रालयको छ । 

कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि स्रोत व्यवस्थापन गर्न आगामी २ महीनाभित्रै उक्त सहायता ल्याउने गरी छलफल अघि बढेको छ ।

चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्रोत जुटाउन अन्तरराष्ट्रिय निकायहरूसँग छलफल अघि बढाउने निर्णय गरेको थियो । सरकारले स्रोत व्यवस्थापनका लागि वैदेशिक सहायता लिन दातृ निकायसँगको छलफललाई तीव्र पारेको छ ।

तर कोरोनाको असरले सृजना गरेको दायित्वको आकलन अझै गर्न सकेको छैन । अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले दायित्व यकिन गर्न अध्ययन भइरहे पनि टुंगोमा अझै नपुगिएको बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)