ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मल र बीउ नपाउँदा म्याग्दीका किसानले खेती गर्न पाएनन्

२०७६ चैत, २४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

चैत २५, म्याग्दी । म्याग्दीका फाँटैभरि गहुँपाकेर पहेँलै भएका छन् । तोरी निकालेर मकै रोपेका किसानले मकै गोड्ने समय भएको छ । गहुँ थन्क्याउन चटारो छ ।
तर, कोरोना संक्रमणको रोगथामका लागि देशमा जारी लकडाउनका कारण किसानहरू घरबाट बाहिर निस्कने वातावरण नहुँदा लगाइएको बाली बिग्रन थालेको छ । यस्तै कृषि ज्ञान केन्द्र, कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङले बेलैमा मल ढुवानी गर्न नसक्दा मकै छर्न र तरकारी लगाउन ढिलाइ भएको छ ।

म्याग्दीको मंगला गाउँपालिका सहस्रधाराका किसान राम पौडेलले १५ मुरी खेतमा लगाएको गहुँ पाकेर झर्न थालेको तर मकै छर्नका लागि मल नहुँदा मकै छर्न पछ्याएको (ढिला भएको) बताए ।
कृषक पौडेललाई जस्तै यतिबेला जिल्लाका ६ ओटै स्थानीय तहका कृषकलाई खेतमा हाल्न युरिया मल र नाइट्रोजन चाहिएको छ । लकडाउनका कारण कृषकहरू घर बाहिर निस्कन पाएका छैनन् । किसानले सबैतिर फोन सम्पर्क गर्दा पनि कतै पनि युरिया मल नपाइएको बताएका छन् ।

त्यसैगरी अर्का किसान रामबहादुर बानियाँले ६ रोपनी खेतमा लगाएको तरकारी बालीमा समेत युरिया हाल्न नपाएको बताए । यतिबेला बोडी, काँक्रा, सिमी, टमाटर, घिरौला, करेला लगायत तरकारी लगाउने बेला हो । यो बेलामा मल नहाल्दा तरकारी नै नफल्ने भएकाले आफ्नो लगानी जोखिममा पर्ने उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले  जिल्लामा युरिया लगायत मलको अभाव भएको र लकडाउनका कारण ल्याउन नसकिएको बताए । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख कोइरालाले भने, ‘लकडाउनका कारण घरबाट निस्कन नसकेर होला, कृषकहरू पनि मल र बीउ चाहियो भनेर आएका छैनन् ।’

म्याग्दीमा २१ हजार ६६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३ हजार ८ सय ९५ हेक्टरमा धान,११ हजार १ सय १५ हेक्टरमा मकै, ३ हजार २० हेक्टरमा गहुँ, ८२० हेक्टरमा तरकारी  र ६३९ हेक्टर क्षेत्रफलमा फलफूल खेती गरिँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीले बताएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)