ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३५०० पर्ने थर्मल गनलाई १५ हजारमा बेचेको आरोपमा अग्रवाल पक्राउ

२०७६ चैत, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

चैत २५, काठमाडौं । स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा शंकर ग्रूपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको विशेष टोलिले मंगलवार काठमाडौंको बालुवाटारबाट अग्रवाललाई पक्राउ गरेको हो । 

प्रहरीकाअनुसार अग्रवालले चीनबाट ज्वरो नाप्ने थर्मल गन लिएर महंगोमा विक्री गरेको पाइएको छ । अग्रवालले सामान्यतया रू.३ हजार ५०० पर्ने थर्मल गनलाई रू.१५ हजार सम्ममा विक्री गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनीबाट ६७ थान थर्मल गन बरामद गरेको छ ।
 
उनले गत शनिवार चीनको क्वान्चाओबाट विमान चाटर्ड गरेर स्थास्थ्य सामग्री ल्याएको प्रहरीको भनाइ छ । प्रहरीकाअनुसार अग्रवालले कूटनीतिक नियोगले प्रयोग गर्ने निलोप्लेटको २०९ एचसीसी १ नम्बरको गाडी दूरुपयोग गरी थर्मल गन विक्री गरेका थिए । जगदम्बा सिमेन्ट, छड र धागोका मालिक अग्रवाल नेपालका लागि कीर्गिस्तानका अवैतनिक महावाणिज्य दूतसमेत हुन् । 

अग्रवालले चीनबाट २० हजार थान थर्मलगन ल्याएको बताउँदै बाकी थर्मल गनको बिषयमा भने खोजी भइरहेको प्रहरीले बताएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण र त्रासबढेपछि ज्वरो नाप्न मिल्ने उक्त गनको माग बढेको छ । थर्मल गन मंहगोमा बेचिएको सूचना पाएपछि प्रहरीले अग्रवालमाथि  निगरानी बढाएको थियो ।

त्यसैक्रममा महाशाखाले प्रहरी उपरिक्षक हृदय थापाको नेतृत्वको विशेष टोलिलाई ग्राहक बनाएर अग्रवालकहाँ थर्मल गन खरीद गर्न पठायो र खरीद गर्ने क्रममा निजलाई पक्राउ गरिएको बताएको छ ।

प्रहरीको विशेष टोलिले ग्राहकका रुपमा अग्रवालसँग थर्मल गन किन्ने डिल गरेका थिए । त्यसक्रममा अग्रवाल पक्षको एक व्यक्तिले एउटा थर्मलगनलाई रू.२० हजार पर्ने बताएका थिए । तर प्रहरीले  प्रतिगोटा रू.१५ हजारमा किन्ने भनेर मनाए, त्यसपछि मंगलवार दुई पक्षबीच भेट्ने सहमित भएको थियो ।

भेट्न बोलाइएको ठाउँमा अग्रवालले कूटनीतक नियोगको गाडीमा रू.१० लाख बराबरको ६७ थान थर्मल गन लिएर आएको प्रहरीको भनाइ छ । आफुमाथि लागेको आरोप अग्रवालले भने स्वीकार गरेका छैनन् । महाशाखाका प्रमुख सहकुल थापाकाअनुसार अग्रवालले अझै पनि आरोप स्वीकार गरेका छैनन् ।

‘उहाँ (अग्रवाल) ले चीनबाट विमान नै चाटर्ड गरेर यस्तो सामग्रीले ल्याएको हामीले जानकारी पाएका छौं, तर उहाँले स्थानीय बजारमा नै थर्मल गन संकलन गरेको बताउदै आउनु भएको छ, यसमा विषयमा अनुसन्धान भइरहेको छ ।’

पक्राउपछि अग्रवाललाई महानगरीय अपराध महाशाखाको टेकुस्थित कार्यालयमा राखिएको छ । उनी माथि कालोबजारी ऐन, २०३२ अनुसार मुद्दा अगाडि बढाउने प्रहरीको तयारी छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)