ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रका नाममा प्रमको सम्बोधन

२०७६ चैत, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न सरकारविरुद्ध विभिन्न प्रचारबाजी चलाइएको बताउनुभएको छ । कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य उपकरण खरीदलगायतका काममा सञ्चारमाध्यम, नागरिक समाज, आम नागरिक तथा आफ्नै पार्टीका जिम्मेवार नेताहरूबाट समेत असन्तुष्टि व्यक्त भइरहेका बेला उहाँले त्यस्तो प्रवृत्तिलाई बेमौसमी बाजाको संज्ञा दिनुभएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारबाट मंगलवार राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारको निराधार कुप्रचारले कमजोर पार्न नसक्ने बताउनुभयो । उहाँले कहीँ कतै अनियमितता र भ्रष्टाचारका कुरा देखिएमा निर्ममतापूर्वक कारबाही गर्न वर्तमान सरकार किञ्चित पछि नपर्ने समेत बताउनुभयो ।

‘मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नुपर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहित स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन,’ उहाँले भन्नुभयो ।

कोरोना प्रकोपले विकसित, सम्पन्न र सुदृढ स्वास्थ्य प्रणाली भएका देशहरूलाई समेत आच्छुआच्छु पारिरहेको सन्दर्भमा सीमित साधनस्रोत भएको मुलुकलाई यस महामारीविरुद्ध जुझ्न हम्मेहम्मे पर्नु स्वाभाविकै भएको प्रधानमन्त्रीको धारणा थियो । 

उहाँले नागरिकको जीवनरक्षाभन्दा महत्त्वपूर्ण कुरा अरू हुन नसक्ने उल्लेख गर्दै सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरू यस्तो असामान्य अवस्थाका लागि पर्याप्त नहुने बताउनुभयो । त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको उहाँले बताउनु भयो । यद्यपि प्रधानमन्त्रीले ती प्रक्रिया भने विधिसम्मत हुनपर्नेमा जोड दिनुभयो । ‘अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारबाहीहरू विधिसम्मत हुनुपर्छ र सुशासनका मानकमा ती खरो उत्रिनै पर्छ’ उहाँले भन्नुभयो, ‘सरकारका काम कुनै पनि संवैधानिक अंगहरूको सम्परीक्षणभन्दा माथि हुँदैनन् । तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेसा तयार रहन्छ ।’ 

प्रधानमन्त्रीले कामै गर्न नसक्ने र प्रक्रिया नै शुरू हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरूलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा ध्यान दिन आग्रह गर्नुभयो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनका क्रममा सिंगो मानवजाति कोरोना भाइरसविरुद्ध लडिरहेको भन्दै आउदो दुई साता राष्ट्रकै लागि चुनौती भएको बताउनुभएको छ । 

यसैबीच, प्रधानमन्त्री ओलीको सम्बोधनमा उत्तरदायित्वभन्दा दम्भ देखिएको प्रमुख प्रतिपक्ष दलले टिप्पणी गरेको छ । प्रधानमन्त्रीको सम्बोधन जनतालाई आडभरोसा दिने भन्दा सामान्य र हल्का भएको नेपाली कांगे्रसका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए । ‘प्रधानमन्त्रीको सम्बोधनले जनतामा ढाडस दिन सक्नुपथ्र्यो । उहाँको सम्बोधनले कोरोनाविरुद्ध अग्रिम मोर्चामा लडिरहको स्वास्थ्यकर्मीहरू तथा नागरिकहरूको  आत्मविश्वास बढाउनु पथ्र्यो । तर, सम्बोधनमा त्यो छनक कतै देखिएन,’ नेता खाँडले टिप्पणी गरे । उनले स्वास्थ्य सामग्रीको खरिद प्रक्रियामा देखिएका अनियमिततादेखि ढिलासुस्तीका विषयलाई सम्बोधन गर्न नसकेको बताए ।  

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले प्रधानमन्त्रीको सम्बोधन मनोगत भएको बताए । उनले प्रधानमन्त्रीको सम्बोधनमा १४ दिनको लकडाउनको उपलब्धि र थपिएको समयको कार्ययोजना आउनु पर्नेमा मनोगतभावना व्यक्त भएको बताए । ‘सम्बोधनले जनतामा उत्साह, उमंग थप्नुपथ्र्यो तर भ्रष्टाचारमा संलग्नलाई संरक्षण र मिडियालाई पीडा दिने भन्दा केही देखिएन । यो साह्रै निराशाजनक देखियो,’ उनले भने । उनले जनता लकडाउनमा बसेको बेला सरकार जताततै देखिनुपर्नेमा सरकार नै लकडाउनमा परेजस्तो देखिएको र प्रधानमन्त्रीको सम्बोधनले कुनै पनि मानिसमा आशा र भरोशा सञ्चार गर्न नसकेको टिप्पणी गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)