ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयातमा लकडाउनको असर : दैनिक ७ सय गाडी भित्रिने वीरगञ्ज नाकामा ५० पुग्न कठिन

२०७६ चैत, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । दिनहुँ ७ सयभन्दा बढी गाडी मालसामान भित्रिने वीरगञ्ज नाकाबाट अहिले यो संख्या ५० नाघ्न सकेको छैन । कोरोना संक्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनले ढुवानी र भुक्तानीमा समस्या भएपछि आयात प्रभावित भएको हो । 

आयातनिर्यात कारोबारका हिसाबले मुख्य नाकास्थित वीरगञ्ज भन्सार कार्यालयका अनुसार लकडाउनयता मालसामानको आयात र जाँचपास दुवै घटेको छ । ‘सामान्य अवस्थामा यो नाकाबाट दैनिक ७ सय ट्रक आउजाउ हुन्थे । अहिले दिनमा ५० ओटाभन्दा बढी ट्रक भित्रिएका छैनन्,’ वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले आर्थिक अभियानसित भने । अहिले १ दिनमा ६० देखि ७० ट्रक मालसामान जाँचपास भइरहेको जानकारी उनले जानकारी दिए । 

नेपाल र भारत दुवैतर्फ लकडाउन भएपछि ढुवानी प्रभावित भएको छ । कोरोना संक्रमणको डरका कारण दुवैतर्फका भन्सार कर्मचारी र एजेन्टहरूले खुलेर काम गर्न सकेका छैनन् । भन्सारबाट मालसामान छुटाउन कोरोना संक्रमणको त्रासले आयातकर्ताका प्रतिनिधि नै आउन नमानेको भन्सारका कर्मचारी बताउँछन् । 

आयातकर्ताले भन्सारमा आइसकेको मालसामान छुटाउन राजस्वको जोहो गर्न सकेका छैनन् । अहिले वीरगञ्जको इनर्वा र एकीकृत जाँच चौकी भन्सार परिसरमा ३ सयभन्दा बढी मालसामान बोकेका ट्रक र ८०० नयाँ सवारीसाधन रोकिएको जानकारी भन्सार अधिकृत सुकमनीले दिए । 

औषधि आयात आधा 
सरकारले औषधि, खाद्यान्न, पेट्रोलियमलगायत अत्यावश्यक वस्तुको आयात र ढुवानी सहज बनाउने भने पनि त्यसमा कठिनाइ देखिएको छ । लकडाउनयता १५ दिनमा वीरगञ्ज नाकाबाट ४ लाख २९ हजार ९४० किलोग्राम (केजी) औषधि र यसको कच्चा पदार्थ भित्रिएको छ । यस अवधिमा १ लाख ८२ हजार केजी तयारी औषधि आयात भएको छ । यो परिमाण सामान्य अवस्थाको तुलनामा आधा भएको भन्सार अधिकृत सुकमनीले बताए । त्यस्तै २ लाख ४८ हजार केजी औषधिको कच्चापदार्थ आयात भएको भन्सारको तथ्यांकले देखाउँछ । 

खाद्यान्न पनि उस्तै 
खाद्यान्न आयातमा पनि यस अवधिमा कमी देखिएको छ । बितेको १५ दिनमा वीरगञ्ज नाकाबाट १० लाख ३५ हजार ४५० केजी चामल भित्रिएको छ । स्वदेशी चामल उद्योगको कच्चा पदार्थ धान भने २० लाख १३ हजार ६२० केजी भित्रिएको भन्सारको तथ्यांकले देखाउँछ ।   

पेट्रोलियम घट्यो 
खाना पकाउने एली ग्यासको आयात परिमाण करीब उस्तै भए पनि पेट्रोल र डिजेल स्वात्तै घटेको भन्सार तथ्यांकले देखाउँछ । ८२ लाख ५५ हजार ४०० केजी ग्यास भित्रिँदा पेट्रोल १ हजार ५ सय ६८ किलोलिटर (केएल) र डिजेल २ हजार ७ सय केएलमात्र आएको छ । सामान्य अवस्थामा १५ दिनमा पेट्रोल २० हजार केएल र डिजेल ७५ हजार केएल आयात हुने गरेको भन्सारले बतायो ।  

कच्चा पदार्थ पनि न्यून
लकडाउनले कलकारखाना बन्द रहँदा कच्चा पदार्थको आपूर्ति प्रभावित भएको छ । तयारी उत्पादन गन्तव्यमा पुर्‍याउन समस्या भएपछि आयातकर्ताले भन्सारबाट कच्चा पदार्थ कमैमात्र छुटाएका छन् । वीरगञ्ज भन्सारका अनुसार २३ लाख ९८ हजार १६० केजी कच्चा सोयाबिन आयल, २० लाख ९७ हजार ६५० केजी पाम आयल र ४ लाख १८ हजार ४६० केजी सूर्यमुखी कच्चा आयल भन्सारबाट छुटेको छ । 

त्यस्तै, निर्माण सामग्रीको कच्चा पदार्थको आयात पनि घटेको छ । ७ लाख ४१ हजार ६२१ केजी बिलेट र ६५ हजार ५६४ किलो वायर जाँचपास भएको भन्सारको तथ्यांकले देखाउँछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)