ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुल निर्माणमा सहजीकरण गरिने

२०७६ चैत, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । मुलुकभरको लकडाउनले पूर्वाधार निर्माण ठप्प रहेका बेला सडक विभागले अति जरुरी पुलहरू निर्माणका लागि सहजीकरण गर्ने भएको छ । सोमवार निर्माण व्यवसायीले पुल र नदी नियन्त्रणको निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने माग गरेसँगै सडक विभागले अति जरुरी पुल निर्माणका लागि सहजीकरण गरिदिने भएको हो ।

कोरोना संक्रमणबाट जोगिन आवश्यक सुरक्षा सतर्कता अपनाउँदै निर्माण स्थलभित्र क्याम्पमा रहेका कामदार तथा घर र निर्माणस्थलमा मात्रै आवतजावत गर्ने कामदारबाट काम गर्न निर्माण व्यवसायीहरूलाई विभागले आग्रह गरेको छ । निर्माण सामग्रीलगायत कामका लागि सवारी पास अनुमति दिन जिल्ला प्रशासन कार्यालयहरूलाई जानकारी गराइएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । 

पूर्वाधार निर्माणका अति जरुरी काममा सहजीकरण गर्न सम्बद्ध जिल्ला प्रशासन कार्यालयहरूलाई भनिएको उनको भनाइ छ । निर्माण व्यवसायीहरूलाई पनि आवश्यक सहयोग गरिने उनले बताए । निर्माणाधीन पुलमध्ये १० प्रतिशत जति पुलहरू तत्काल बनाउन आवश्यक देखिएकाले निर्माणस्थलमा रहेका क्याम्पभित्रका कामदारहरूलाई मात्रै परिचालन गरी बनाउन भनिएको शर्माले बताए ।

श्रमिक र कर्मचारीहरू निश्चित गरी भित्रको बाहिर नआउने र बाहिरका निर्माण स्थलमा नजाने तरीकाले काम गर्नुपर्नेछ । निर्माणाधीन पुलमध्ये अति जरुरी देखिएका पुलहरूमा सुरक्षाका सबै उपाय अपनाएर निर्माण अघि बढाउन निर्माण व्यवसायीहरूलाई भनिएको शर्माको भनाइ छ । 

निर्माण व्यवसायीहरूका अनुसार स्ल्याब ढलान गर्न फर्मा राखी रडसमेत बाँधिसकेको र टेन्डम तार जडान गरिसकेका पुलहरूको निर्माण कार्य वर्षायाम शुरू हुनुभन्दा पहिल्यै हुनु जरुरी छ । यस्ता पुलको निर्माणको काम वर्षा शुरू भएपछि गर्न कठिन हुने नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले बताए । वर्षायाममा काम गर्न नसकिने हुँदा व्यवसायीको अर्बाैंको लगानी जोखिममा पर्ने उनको भनाइ छ । 

पुल निर्माणका लागि आवश्यक पर्ने टेन्डम तार तान्ने मेशिनलगायत उपकरण र निर्माण सामग्री तथा आवश्यक पर्ने खाद्यान्नको ढुवानी, पुलका प्राविधिक र मजदूरहरू आवतजावतका लागि पासको व्यवस्था मिलाउन महासंघले आग्रह गरिसकेको छ । यस्तै त्यस्ता निर्माणस्थलमा नयाँ कामदार नलिन पनि विभागले सम्बद्ध निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । 

विभागअन्तर्गतको पुल महाशाखाका प्रमुख दीपक भट्टराईले सडक निर्माण तथा विस्तार जस्तो पुल निर्माण सहज नहुने बताए । भट्टराईले भने, ‘अहिले निर्माणाधीन अवस्थामा रहेका कतिपय पुल (ब्रिज)हरू प्रिस्ट्रेच कंक्रिट ब्रिज भएकाले यी ढलान भएको २८ दिनभित्र ढलानभित्रको तार तान्नुपर्छ, यसो गर्न सकिएन भने पुल निर्माणमा ठूलो क्षति बेहोर्नुपर्छ ।’ 

कति पुल तत्काल निर्माण गर्नुपर्ने हो र तत्काल निर्माण नहुँदा कति क्षति पुग्ने हो भन्ने विषयमा पुल निर्माणसँग सम्बद्ध १०० कार्यालयबाट विवरण माग गरिएको भट्टराईले जानकारी दिए । बहुवर्षीय ठेक्कामा मुलुकभर यो वर्ष १ हजार ५०० भन्दा बढी पुलहरू निर्माणाधीन अवस्थामा छन् । यी पुलमध्ये १० प्रतिशतको पुलका केही काम वर्षायाम शुरू हुनुभन्दा पहिला नै पूरा गरिसक्नु पर्नेछ । यस्ता पुल जेठ पहिलो सातासम्ममा ढलान गरी ढलान गरिएको पुलभित्रका तार (वायर)हरू तानिसक्नुपर्ने हुन्छ । 

महासंघअनुसार लकडाउनकै अवधिमा भए पनि काम अघि बढाउनुपर्ने पुलको संख्या १५० भन्दा बढी रहेको छ । उनले भने, ‘यस्ता पुलको काम अघि नबढाए लागत बढ्नुका साथसाथै अर्बौं रुपैयाँ क्षति हुन्छ ।’ एउटा पुल निर्माण गर्न कम्तीमा ३० देखि ४० जना कामदार आवश्यक पर्ने उनको भनाइ छ । विशेष गरी खोला तथा नदीमा बन्ने पुलहरूका लागि बढी समस्या हुने निर्माण व्यवसायीको भनाइ छ । यस्ता पुलको स्ल्याब तथा ढलानको काम जेठको पहिला सातासम्म सम्पन्न गर्नुपर्ने चुनौती देखिएको छ । यद्यपि व्यवसायीहरूले निर्माण स्थलमा गिट्टी, बालुवा, सिमेन्ट, रड, फर्मालगायत निर्माण सामग्री ढुवानी गरिसकेको दाबी गर्दै आएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)