ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनको असर : निजीक्षेत्रका जलविद्युत् आयोजनाको मर्मत ठप्प

२०७६ चैत, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । मुलुकमा जारी लकडाउनका कारण निजीक्षेत्रद्वारा सञ्चालित जलविद्युत् आयोजनाहरूको मर्मतसम्भार कार्य ठप्प भएको छ । समयमा मर्मत नहुँदा आयोजनाको आयु घट्ने भएकाले प्रवद्र्धकहरू चिन्तित भएका छन् । 

मर्मतसम्भार गरियो  भने आयोजनाहरू तोकिएको समयसम्म सञ्चालन गर्न सकिन्छ । तर, मर्मत गर्न सकिएन भने आयोजनाहरूको आयुमा नै प्रभाव पर्न सक्छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपाध्यक्ष कुमारले पाण्डेले भने, ‘यसपटक बाँधको मर्मत गर्न सकिएन भने अर्काेपटक त गर्नैपर्छ । तर, मर्मत गरे पनि त्यसको आयु भने तोकिएको जति नहुन पनि सक्छ, त्यसमाथि पैसा पनि बढी खर्च हुन्छ ।’ पाण्डेका अनुसार निरन्तर रूपमा काम हुँदा मेशिनको आयु घट्छ ।

खोलामा पानी कम हुने, सबै युनिट सञ्चालनमा नआउने हुँदा चैत, वैशाख तथा जेठ महीना नै जलविद्युत् आयोजनाको मर्मतसम्भार गर्ने याम मानिन्छ । तर, कोरोना भाइरस नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि सबै जलविद्युत् आयोजनाको मर्मत कार्य प्रभावित भएको हो । 

नेपालमा निजीक्षेत्रअन्तर्गत सञ्चालनमा रहेका ८५ ओटा जलविद्युत् आयोजनामध्ये प्राय  सबैको मर्मत कार्य ठप्प भएको (इप्पान) ले बताएको छ । 
आयोजनाहरूको बाँध, मेशिनलगायत पूर्वाधार तथा सामग्रीको मर्मत गर्ने समय नै यही बेला हो । असारदेखि वर्षा शुरू भई नदीहरूमा पानीको प्रवाह बढ्ने हुँदा आयोजनाको मर्मत गर्न सकिँदैन । तर, अहिले लकडाउनका कारण सिमेन्ट, छडजस्ता निर्माण सामग्रीको आपूर्ति रोकिएकाले मर्मत गर्न नसकिएको आयोजनाहरूले बताएका छन् । 

वर्षात्मा बालुवाले बिगारेका मेशिनहरू मर्मत गर्न बुटवल, काठमाडौं तथा विराटनगरजस्ता ठाउँमा रहेका वर्कशपमा लैजानुपर्ने हुन्छ । तर, लकडाउनका कारण वर्कशपसम्म मेशिन लग्न नसकिएको ऊर्जा उत्पादकहरूले बताएका छन् । 

काठमाडौंबाट मर्मतका सामग्री लैजान नसक्दा हाल तीन आयोजना पूर्णरूपमा बन्द भएका छन् । संखुवासभा, लमजुङ र सिन्धुपाल्चोकका गरेर तीन आयोजनाले अहिले विद्युत् उत्पादन गर्न नसकेको इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए । ‘अहिले सम्बद्ध आयोजनाको नाम नभनौं । तर, काठमाडौंबाट मर्मत सामग्री लैजान नसक्दा ती आयोजनाले विद्युत् उत्पादन गर्न सकेका छैनन्,’ गुरागाईंले भने ।

सञ्चालित आयोजनाहरूको मर्मत गर्ने विषयमा ऊर्जा मन्त्रालयले सहजीकरण नगरेको उनको गुनासो छ । ‘आयोजनाको मर्मतसम्भारका लागि विभिन्न ठाउँबाट आवश्यक सामग्री लैजानुपर्छ । तर, मन्त्रालयले त्यसका लागि अझ पासको व्यवस्था गरिदिएको छैन,’ उनले भने, ‘फलस्वरूप सञ्चालित आयोजनाहरूको मर्मत कार्य ठप्प भएको छ ।’

इप्पानका उपाध्यक्ष  पाण्डेले हाल आयोजनाहरूको मर्मतसम्भार गर्न नसकिएमा क्षमताअनुसार विद्युत् उत्पादन पनि नहुने बताए । ‘अहिले मर्मत गर्न सकिएन भने १ वर्षसम्म मर्मत गर्न सकिँदैन । यसकारण यस अवधिमा क्षमताअनुसारको विद्युत् उत्पादन हुँदैन,’ उनले भने, ‘उत्पादन कम हुँदा प्रवद्र्धक कम्पनीको आम्दानी घट्छ भने भारतबाट विद्युत् आयात बढ्छ ।’

अहिले आयोजनाहरूको मर्मत गर्न सकिएन भने ठूलो मात्रामा नोक्सानी बेहोर्नुपर्ने पाण्डे बताउँछन् । यद्यपि, हालै यतिको नोक्सानी हुन्छ भनेर भन्ने स्थिति नभएको उनको भनाइ छ । ‘वैशाख ३ गतेसम्म मात्र लकडाउन र⋲यो भने त्यसलाई व्यवस्थापन गर्न सकिन्छ होला । तर, १ हप्ता मात्र थपियो भने पनि आयोजनाहरू थप प्रभावित हुन्छन्,’ उनले भने, ‘तसर्थ, सरकारले आयोजनाहरूको मर्मत गर्नका लागि सहजीकरण गर्न आवश्यक छ ।’ 

नेपाल विद्युत् प्राधिकरणका आयोजनाहरूमा भने कुनै प्रभाव नपर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले भने, ‘हाम्रा आयोजनाहरूको मर्मत कार्य कार्यतालिकाअनुसार नै भएको छ । तसर्थ, लकडाउनका कारण मर्मतमा कुनै समस्या हुँदैन ।’

लकडाउनका कारण निर्माणाधीन जलविद्युत् आयोजनाहरू पनि प्रभावित भएका छन् । नेपालमा ३ हजार मेगावाटका १२० ओटा निजी जलविद्युत् आयोजना निर्माणाधीन छन् । लकडाउनका कारण ती सबै आयोजनाको निर्माणकार्य प्रभावित भएको तथा तिनको निर्माण अवधिसँगै लागत पनि बढ्ने इप्पानको आकलन छ । 

सरकारले हालै सुरक्षाका उपाय अपनाएर पूर्वाधार आयोजनाहरूको निर्माण गर्न दिने बताए पनि जलविद्युत् आयोजनाहरूको निर्माणकार्य अगाडि बढ्न नसकेको इप्पानले बताएको छ । अधिकांश आयोजनाहरूमा बाँध, सुरुङ बनाउने काम अधुरै छ । सरकारले पहिलो चरणमा लकडाउन लगाएपछि घर फर्केका अधिकांश कामदार अहिले आयोजना स्थल फर्किन नमानेको प्रवद्र्धकहरूको भनाइ छ । कामदार नआएपछि काम अघि बढाउन नसकिएको उनीहरूको गुनासो छ । 

असारपछि काम गर्न सकिँदैन । तसर्थ, असारअघि नै बाँध तथा सुरुङ निर्माणलाई पूर्णता दिनुपर्ने हुन्छ । त्यसो गर्न नसकिए वर्षात्मा आउने सक्ने बाढी तथा पहिरोले त्यसलाई पनि असर गर्न सक्ने इप्पान उपाध्यक्ष पाण्डे बताउँछन् । उनले भने, ‘यसरी निर्माणाधीन आयोजनाहरू पनि प्रभावित भएका छन् । यसमा सरकारले सहजीकरण गर्न आवश्यक छ ।’

चालू आवमा निजी र सार्वजनिक आयोजनाका गरेर १ हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखिएको थियो । तर, कोरोना भाइरसकै कारण त्यो पनि सम्भव देखिएको छैन । 

त्यसमाथि निजी आयोजनाहरूको लागत पनि करीब २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । बैंकको ब्याज, व्यवस्थापन खर्च तथा डलरको मूल्य बढ्नुजस्ता कारणले आयोजनाहरूको लागत २० प्रतिशतले बढ्ने इप्पान अध्यक्ष गुरागाईं बताउँछन् । ‘डलरको मूल्य १०० रुपैयाँ हँुदा विदेशी सामानको एलसी गरेका थियौं । तर, अहिले डलरको मूल्य १२२ रुपैयाँ पुगिसकेको छ । यसअनुसार अब यसै पनि सामानको लागत २२ प्रतिशतले बढ्छ,’ उनले भने, ‘त्यसमाथि आयोजनाको निर्माण अवधि लम्बिँदा बैंकको ब्याज बढी तिर्नुपर्ने, कर्मचारीलाई लामो तलब दिनुपर्ने र व्यवस्थापन खर्च पनि बढ्ने हुँदा आयोजनाहरूको लागत पनि बढ्ने देखिन्छ ।’ यद्यपि, आयोजनाहरूले लकडाउनका कारण यतिका नोक्सानी भयो भनेर यकिन तथ्यांक भने ननिकालेको उनको भनाइ छ । 

निजीक्षेत्रका १२० आयोजनामा ६ खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । त्यसमा हालसम्म १ खर्ब लगानी आइसकेको छ । इप्पान अध्यक्ष गुरागाईंले भने, ‘हाम्रो अनुमानका आधारमा हामीले प्रत्यक्ष रूपमा २० अर्ब नोक्सानी बेहोर्दै छौं । अप्रत्यक्ष रूपमा पर्ने प्रभावबारे ठ्याक्कै भन्न सक्ने अवस्था छैन ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)