ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनमा ह्याकरहरू सक्रिय

२०७६ चैत, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । मुलक लकडाउनमा रहेको मौकामा ह्याकरहरू सलबलाउन थालेका छन् । फूडमान्डुमा ह्याकरहरूले ह्याक गरेका छन् भने इन्टरनेट सेवाप्रदायक भायनेटमा पनि क्षति पुर्‍याएका छन् । यस्तोमा बैंक तथा वित्तीय क्षेत्रमा पनि ह्याकिङ हुन सक्ने भएकाले बैंक तथा वित्तीय संस्था एवम् ग्राहकलाई सुरक्षा सावधानी अपनाउन राष्ट्र बैंकले सचेत पारेको छ । 

भाइबर, म्यासेन्जर, ह्वाट्स एपलगायतको आईडी ह्याक गरी ईसेवालगायतबाट सहयोग स्वरूप पैसा ट्रान्सफर गर्न सन्देश आएकोबारे राष्ट्र बैंकमा गुनासो आउन थालेको छ । आफू वित्तीय संस्थाको कर्मचारी भएको बताउँदै ह्याकरले ईमेल आईडी, फोन नम्बर, पिन नम्बरलगायत सूचना माग्न सक्ने भएकाले त्यस्तो व्यक्तिगत सूचना कसैलाई नदिन राष्ट्र बैंकले सचेत बनाएको छ । 

राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार यति बेला बैंक तथा वित्तीय संस्था, भुक्तानी कारोबार गर्ने संस्थाहरूलाई केन्द्रीय बैंकले मौखिक रूपमा साइबर सुरक्षामा बढी ध्यान दिन भन्दै आएकोे छ । ‘ईसेवा वा कुनै डिजिटल कारोबार गर्ने संस्थामार्फत आर्थिक सहयोग माग्ने तथा ग्राहकका ईमेल, फोन नम्बरलगायत सूचना मागेको भन्ने धेरै गुनासो राष्ट्र बैंकमा आएको छ,’ उनले भने ‘बजारमा विभिन्न प्रकारका ह्याकर छन् । यो बेला अवैध रूपमा काम गर्नेहरू सलबलाउन थालेका छन् ।’

राष्ट्र बैंकले वित्तीय संस्था एवम् भुक्तानी सेवाप्रदायकहरूलाई साइबर सुरक्षामा ध्यान दिन तथा आफ्ना ग्राहकलाई सतर्क पार्न सूचना जारी गर्नका लागि मौखिक जानकारी दिएको छ । यसै अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकले बिहीवार आफ्ना ग्राहकलाई कसैलाई पनि अनलाइन बैंकिङ पासवर्ड, एटीएम कार्ड पिन, मोबाइल पिनलगायत सूचना नदिन ध्यानाकर्षण गराएको छ । ‘यस्ता महत्त्वपूर्ण सूचना कुनै पनि फोन, भाइबर, ह्वाट्स एप, ईमेललगायतबाट मौखिक तथा लिखित रूपमा कसैलाई नभन्नु होला,’ नेपाल इन्भेष्टमेन्टको सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले ग्राहकका यस्ता सूचना वित्तीय संस्थाका कर्मचारीले समेत फोनमार्फत माग्न नहुने बताएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बैंकहरूले लकडाउनका बेलामा साइबर सुरक्षामा कडा निगरानी राख्नुपर्ने बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)