चैत २९, धनगढी । कोरोना संक्रमण भए नभएको यकिनका लागि सुदूरपश्चिम प्रदेशबाट पहिलो चरणमा ५ हजार व्यक्तिको स्वाबको द्रुत परीक्षण (र्यापिड टेस्ट) गरिने भएको छ ।
प्रदेशका ९ ओटै जिल्लामा क्वारेन्टाइनमा बसेका तथा कोरोनाको शंका भएका व्यक्तिको स्वाबको नमूना संकलनका लागि नेपाली सेना र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।
सुदूरपश्चिममा कार्यरत ५ हजार स्वास्थ्यकर्मीलाई परिचालन गरी नमूना संकलनलाई तीव्रता दिइएको सेती प्रादेशिक अस्पताल धनगढीका प्रवक्ता डा. जगदीश जोशीले बताए । यसका लागि ५ हजार किट प्राप्त भएको उनले जानकारी दिए ।
यसअघि काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोली कैलालीमा २३० तथा कञ्चनपुरबाट ७० नमूना संकलन गरेर फर्किएको थियो । अब सबै जिल्लाबाट र्यापिड टेस्ट गरेर संक्रमण भए/ नभएको आरटी पीसीआर मेशिनबाट यकिन गरिने प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताए ।
सुदूरपश्चिममा अहिलेसम्म करीब ८०० जनाको स्वाबको नमूना संकलन गरिएकोमा चार जनामा मात्र कोरोना पुष्टि भएको छ ।
लकडाउन अवधिमा मात्र भारतका विभिन्न राज्यबाट डेढ लाख व्यक्ति वैध तथा अवैध रूपमा सुदूरपश्चिम प्रवेश गरेको प्रदेश सरकारले बताएको छ । अवैध रूपमा आउने क्रम अझै नरोकिएपछि शनिवार भारतसँग सीमा जोडिएका १२० किलोमिटर क्षेत्रमा शिल गरिएको छ ।
यस्तै लकडाउनलाई दिनप्रतिदिन कडाइ गर्दै आएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिने र विपन्न परिवारको पहिचान गरी प्रतिपरिवार रू. ३ हजारका दरले उपलब्ध गराउने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको उनले जानकारी दिए ।