ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रधानमन्त्री–मुख्यमन्त्री भीडीयो कन्फरेन्स : लकडाउन छिट्टै अन्त्य नहुने

२०७६ चैत, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सरकारले लकडाउन अझै केही समय लम्बिने संकेत गरेको छ । शनिवार प्रधानीमन्त्री केपी शर्मा ओली तथा सातै प्रदेशका मुख्यमन्त्रीहरूबीचको भिडियो कन्फरेन्समा प्रधानमन्त्रीले लकडाउन चाँडै अन्त्य नहुने र सीमामा अझ कडाइ हुने बताउनुभएको छ । 

सरकारले पछिल्लोपटक लकडाउनको अवधि वैशाख ३ सम्म पुर्‍याएको छ । प्रधानमन्त्रीसँगको छलफलमा मुख्यमन्त्रीहरूले भारतमा कोरोना संक्रमणको अवस्थामा सुधार नआएकाले नेपालमा लकडाउन कायमै राख्नुपर्ने सुझाएका थिए । लकडाउनको अवधिमा परीक्षणलाई थप विस्तार तथा तीव्रता दिनुपर्ने मुख्यमन्त्रीहरूको भनाइ रह्यो । 

कोरोना संक्रमणपछिको अवस्था र अब अपनाउनुपर्ने रणनीतिका बारेमा प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भएको करीब ४ घण्टा लामो छलफल कोरोना संक्रमण फैलनबाट रोक्न संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, प्रशासन तथा सुरक्षाकर्मीले यथेष्ट ध्यान दिनुपर्ने विषयमा केन्द्रित थियो । ‘भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ (नेपालमा) लकडाउन खुला गर्ने कुरा हुन सक्दैन,’ प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्रीले कोरोना नियन्त्रणका प्रयासहरू सकारात्मक नै रहेका र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढाउन जरुरी रहेको बताउनुभयो । मुख्यमन्त्रीहरूले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण र उपचारका लागि गरिएका प्रयासहरूको स्थिति जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आफूले प्रधानमन्त्रीलाई लकडाउन कडाइका साथ लागू गर्न सुझाएको आर्थिक अभियानलाई बताए । ‘भारतको स्थिति नसुध्रिएसम्म हामीले लकडाउन अन्त्य गर्ने रहर गर्नु हुँदैन,’ उनले भने, ‘भारतमा फैलिएको कोरोना संक्रमण नियन्त्रणमा नआउँदै हामीले लकडाउन खोलेको अवस्थामा संक्रमण विकराल बन्न सक्छ ।’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका नागरिकको व्यवस्थापन तथा उद्धारमा सहयोग गरिदिन केन्द्र सरकारलाई आग्रह गरेको बताए । ‘कर्णालीका हजारौं युवा अहिले भारतका विभिन्न शहरमा अलपत्र परिरहेको खबर आइरहेको छ । संघीय सरकारले भारतसँग कुराकानी गरी ती नागरिकलाई त्यहीँ बस्ने व्यवस्था गरोस् वा कर्णाली फर्काउन पहल गरोस् भनी आग्रह गरें,’ उनले भने । 

सत्तारूढ दल नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालले कोरोना रोग संक्रमण रोक्न सर्वदलीय संयन्त्रको कुरा उठाइरहेको बेला प्रधानमन्त्रीले भने त्यस्तो संयन्त्र आवश्यक नरहेको बताउनुभयो । ‘सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो,’ सल्लाहकार थापाले भने । 

लकडाउनमा प्रशासनिक लापरबाही हुन नहुनेमा प्रधानमन्त्रीको जोड थियो । मेला लाग्ने तथा मान्छे जम्मा हुने आदि क्रियाकलाप रोक्न प्रशासन र प्रहरी सजग हुनैपर्ने प्रधानमन्त्रीले बताउनुभयो । ‘लकडाउनमा प्रशासनिक लापरबाही हुनै भएन, त्यसका लागि केन्द्रबाटै एकरूपताका लागि परिपत्र जारी गरिनेछ,’ प्रधानमन्त्रीले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले कोरोना संक्रमण परीक्षणकोे दायरा बढ्दै गएको र त्यसको नतीजाले नै लकडाउन लम्बिने वा चाँडै खोलिने निक्र्योल हुने बताएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)