ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज सुक्खा बन्दरगाहमा थुप्रिए कन्टेनर

२०७६ चैत, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न लगाइएको लकडाउनले ढुवानी असहज हुँदा सीमा नाकामा आयातित मालसामान थुप्रिन थालेका छन् । रेलमार्गबाट आएका आयातित सामान बोकेका कन्टेनर वीरगञ्ज सुक्खा बन्दरगाहमा अड्किएका हुन् । 

रेलमार्गबाट भित्रिने कन्टेनरको तुलनामा बन्दरगाह भन्सारबाट न्यून संख्यामा कन्टेनर जाँचपास हुँदा बन्दरगाहको क्षमताभन्दा दोब्बर कन्टेनर रोकिएका छन् । आयातकर्ताले कन्टेनर छुटाउन नसक्दा कन्टेनरको चाप व्यवस्थापनमा समस्या देखिएको सुक्खा बन्दरगाह सञ्चालक हिमालयन टर्मिनलका वरिष्ठ अधिकृत अनिमेष कुमारले बताए । 

बन्दरगाहमा कन्टेनरको संख्या शनिवारसम्म २ हजार ८७० पुगेको छ । यो संख्या बन्दरगाहको क्षमताको तुलनामा करीब दोब्बर हो । वीरगञ्ज बन्दरगाहको कन्टेनर भण्डारण क्षमता १ हजार ५४२ मात्र रहेको अधिकृत अनिमेष कुमारले बताए । ‘१५ दिनअघिसम्म बन्दरगाहमा मालसामान लोड भएका १ हजार ५०० कन्टेनर थिए । अहिले यो संख्या २ हजार ७५६ पुगिसकेको छ,’ उनले भने । 

कोलकाता र विशाखापत्तनम् बन्दरगाहबाट हिँडेका २३ ओटा रेल बाटोमै छन् । १ हप्ताभित्र ती सबै ¥याक बन्दरगाह आइपुग्छन् । एउटा र्‍याकमा ९० कन्टेनर आउँछन् । अहिले बन्दरगाहबाट दैनिक १०० को हाराहारीका कन्टेनर जाँचपास भइरहेको बन्दरगाह भन्सारका प्रमुख उमेश श्रेष्ठले बताए । 
यही अनुपातमा जाँचपास हुने र लकडाउन लम्बिने हो भने १ हप्तामै बन्दरगाहमा कन्टेनरको संख्या ४ हजार नाघ्ने अनुमान हिमालयन टर्मिनलको छ । ‘बन्दरगाहमा भित्रिएका कन्टेनर समयमै जाँचपास नहुँदा व्यवस्थापनमा समस्या भएको छ । कन्टेनर बढी भएपछि अहिले नै तीन तहसम्म खापेर राखिएको छ । त्योभन्दा माथि कन्टेनर राख्नु जोखिम हुन्छ,’ अनिमेष कुमारले आर्थिक अभियानसित भने । 

सामान्य अवस्थामा दैनिक ३०० देखि ३५० कन्टेनर जाँचपास हुनेमा कोरोनाको सन्त्रास र ढुवानी सहज नहुँदा बन्दरगाहमा कन्टेनर थुप्रिएको भन्सार प्रमुख श्रेष्ठले बताए । ‘जाँचपास कम हुँदा भन्सारको राजस्व पनि प्रभावित भएको छ । कोलकाता र विशाखापत्तनम्बाट थप ¥याक आउने प्रक्रियामा रहेको बन्दरगाह व्यवस्थापनले बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)