ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युत् खपत कम हुँदा प्राधिकरणको आम्दानी घट्ने

२०७६ चैत, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । लकडाउनका कारण मुलुकभित्र विद्युत् खपत उच्च मात्रामा घट्दा यो वर्ष नेपाल विद्युत् प्राधिकरणको आम्दानी पनि घट्ने देखिएको छ । करीब ३ सातादेखि जारी लकडाउनका कारण बढी विद्युत् खपत गर्ने क्षेत्रहरू उद्योग, व्यावसायिक भवन, होटेललगायत बन्द छन् जसका कारण विद्युत् उपभोग घटेको हो । 

प्राधिकरणको आम्दानीको मुख्य स्रोत विद्युत् खपत गरेबापत उपभोक्ताले तिर्ने महसुल हो । तर, लकडाउनका कारण अहिले विद्युत्को माग स्वात्तै घट्दा प्राधिकरणका अधिकारीहरू चालू आर्थिक वर्ष संस्थाको आम्दानीसँगै नाफामा समेत असर पर्ने बताउँछन् । 

सामान्य अवस्थामा चैत/वैशाखमा दैनिक २ करोड २० लाख युनिट खपत हुन्थ्यो । तर, अहिले दैनिक १ करोड ६० युनिटको हाराहारीमा मात्र विद्युत् खपत भएको प्राधिकरणको भनाइ छ । नेपालभर सबैभन्दा बढी विद्युत्को माग र खपत राजधानी काठमाडौंमा हुन्छ । तर, अहिले काठमाडौं उपत्यकामै विद्युत्को माग अत्यन्त न्यून रहेको प्राधिकरणले बताएको छ । 

पछिल्लो समय शहरी क्षेत्रका उपभोक्ताले इन्डक्शन चूल्हो प्रयोग गर्न थालेपछि विद्युत् खपत केही बढेको प्राधिकरणको कथन छ । ‘ग्यासको अभाव हुने देखिएपछि उपभोक्ताहरूले इन्डक्शन चूल्हो प्रयोग गर्न लागेका छन् । यसले प्राधिकरणलाई सहयोग त पुगेको छ । तर, सामान्य अवस्थामा जस्तो विद्युत् खपत भने छैन,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने ।

घिसिङ विद्युत् खपतमा आएको कमीले आम्दानीमा स्वतः असर पार्ने स्वीकार्छन् । विद्युत् खपतमा देखिएको कमीका कारण चैत महीनामै २५ प्रतिशतले आम्दानी घट्न सक्ने उनको आकलन छ । त्यसमाथि लकडाउन अवधि लम्बिएमा आगामी दिनमा आम्दानीमा असर पर्ने उनी बताउँछन् । 

‘यो सिजनमा प्राधिकरणले मासिक ६ अर्ब रुपैयाँ बराबरको आम्दानी गथ्र्याे । तर, अहिले त्यो बराबरको आम्दानी गर्न सक्ने स्थिति छैन,’ उनले भने, ‘अहिले विद्युत् महसुलबापत रू. ४ अर्बदेखि साढे ४ अर्बसम्म रकम उठ्न सक्ने अनुमान गरेका छौं ।’ उनका अनुसार चैतमा मात्र प्राधिकरणको आम्दानी डेढ अर्बले घट्ने देखिन्छ ।

अहिले प्राधिकरण सरकारी निकायमध्ये राम्रो नाफा कमाउनेमा पर्छ । प्राधिकरणले केही दिनअघि प्रेस विज्ञप्ति जारी गर्दै गत आवमा रू. १० अर्ब ६७ करोड नाफा कमाएको बताएको थियो । 

घिसिङ पनि आम्दानीमा आउने कमीका कारण नाफामा असर पर्ने बताउँछन् । ‘आम्दानी घटेपछि नाफामा स्वतः असर गर्छ नै, तर घाटामा जाँदैनौं । चालू आवमा साढे ८ अर्ब रुपैयाँ नाफा कमाउने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘यद्यपि, लकडाउन कति लम्बिन्छ भन्ने विषयले पनि यसमा असर गर्न सक्छ ।’

लकडाउनका कारण प्राधिकरणले विद्युत् महसुल पनि संकलन गर्न सकेको छैन । फलस्वरूप जलविद्युत् आयोजनाहरूको फागुनको बिल भुक्तानी गर्न प्राधिकरणलाई गाह्रो परेको बताइन्छ । यस्तो समस्या आए पनि जलविद्युत् आयोजनाहरूको फागुनको बिल भुक्तानी ५० प्रतिशतका दरले गरेको प्राधिकरणको भनाइ छ । लकडाउन खुलेपछि आवश्यक प्रक्रिया पु¥याएर पूरै बिल भुक्तानी गर्ने प्राधिकरणले बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)