ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनले बैंकको नाफामा प्रभाव

२०७६ चैत, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । यति बेला बैंक तथा वित्तीय संस्थाहरूलाई तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदन तयारीको चटारो छ । तर, पछिल्लो १ महीना बैंकको अत्यावश्यकबाहेकका कारोबार ठप्प भएकाले आय तथा नाफामा कमी आउने बैंकरहरूको भनाइ छ । 

‘ग्राहक बैंकसम्म आउन नसक्दा विदेशी विनिमयको आम्दानी चैत १० गतेयता हुन सकेको छैन । पछिल्लो समय एकातिर कारोबार ठप्प छ भने अर्कोतर्फ ऋणीको किस्तासमेत असारमसान्तसम्म तिर्ने भनेर अवधि थपिदिएको छ,’ नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले भने, ‘चैतमसान्तभित्र किस्ता तथा ब्याज तिर्नेलाई १० प्रतिशत छूट दिने भनिएकाले बैंकको यसपटकको त्रैमासिक आम्दानी तथा नाफामा सीधै प्रभाव पर्नेछ ।’

लकडाउनका कारण यति बेला बैंकको कारोबार ठप्प छ । यति बेला बैंकमा सामान्य भुक्तानीबाहेक अन्य काम हुन नसकेको नेपाल बैंकर्स संघका अध्यक्ष दाहालको भनाइ छ । उनका अनुसार यसको प्रभाव तेस्रो त्रैमासिक वित्तीय विवरणमा देखिनेछ ।

लकडाउनमा बैंकहरूले डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएका छन् । तर, यसबाट प्राप्त हुने आयमा खासै अन्तर नपरेको संघका अध्यक्ष दाहालले बताए ।  एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीका अनुसार बैंकले कर्जाको कारोबार गर्ने उद्योग, पर्यटन, यातायात व्यवसाय नै ठप्प छ, जसले गर्दा तेस्रो त्रैमासमा असर पर्छ । पछिल्लो समय नयाँ ग्यारेन्टीहरू नगरेको, थप डिपोजिट संकलन तथा कर्जा प्रवाह हुन नसकेकाले पनि आय तथा नाफा घट्ने उनले बताए । ‘यसअघि प्रवाह भएका कर्जाको किस्ता तथा ब्याजहरू उठाउन कर्मचारीबाट पटकपटक फलोअप गरिन्थ्यो । यसले कर्जाहरू उठ्दै जान्थ्यो । पछिल्लो १ महीना यस्तो कामसमेत ठप्प भयो,’ उनले भने । 

यसपटक त्रैमासिक प्रतिवेदन तयार पारेर राष्ट्र बैंकलाई बुझाए पनि सार्वजनिक नगर्ने कि भन्ने सोचमा बैंकरहरू छन् । तर, हालको व्यवस्थालाई तोड्न नपाउने नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । ‘अन्तरराष्ट्रिय अभ्यासमा जे भए पनि यहाँ बैंकहरूले वित्तीय प्रतिवेदनबारे जानकारी दैनिक पत्रपत्रिकामार्फत दिने भन्ने व्यवस्था कायम छ । बैंकहरूले कारोबारको सूचना लुकाउन पाउँदैनन् । पारदर्शी भएर सार्वजनिक गर्नुपर्छ,’ भट्टको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)