ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्माणाधीन दुई अन्तरराष्ट्रिय विमानस्थलमा नदीजन्य सामग्री र सिमेन्ट अभाव 

२०७७ बैशाख, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । कोरोना महामारीका कारण मुुलुुक लकडाउनमा रहँदा त्यसको प्रत्यक्ष असर निर्माणाधीन दुई अन्तरराष्ट्रिय विमानस्थलमा पनि देखिएको छ । सरकारले पछिल्लोपटक लकडाउनको अवधि लम्बाएर वैशाख ३ गतेसम्म पुर्‍याउँदा पनि निर्माण कार्य जारी रहेका यी दुई विमानस्थल आयोजनाका लागि अहिले आवश्यक उपकरणहरू विदेशबाट आउन पाएका छैनन् भने निर्माण सामग्री पनि सहज उपलब्ध हुन सकेको छैन । अहिले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा उपलब्ध स्रोतसाधन प्रयोग गरी काम जारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलले बताए । 

लकडाउनकै अवधिमा भैरहवास्थित निर्माणाधीन गौतमबुुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम जारी रहे पनि नदीजन्य सामग्री (ढुुंगा गिट्टी र बालुुवा) को अभाव हुन थालेको छ । विमानस्थल निर्माण आयोजना प्रमुुख प्रवेश अधिकारीका अनुसार विमानस्थल निर्माणमा अहिले १ सय नेपाली र २८ जना विदेशी कामदार गरी १२८ जनाले काम गरिरहेका छन् । 

‘पहिला २ सयभन्दा बढी कामदार रहेकोमा अहिले क्याम्पभित्र रहेका मात्र प्रत्यक्ष निर्माणमा संलग्न छन्,’ अधिकारीले भने । अहिले विमानस्थलको पुुरानो धावनमार्गमा लाइट जडान, टर्मिनल भवनको फिनिसिङ, सेन्ट्रल एसी जडान, टायल लगाउने र तारबारको काम चलिरहेको छ । 

‘विदेशबाट उपकरणहरू ल्याई जडान गर्न हाल समस्या भए पनि त्यसअघिको तयारीका लागि कामलाई निरन्तरता दिइएको छ । तर, नदीजन्य सामग्रीको अभाव हुन थालेको छ,’ उनले भने, ‘चाँडै सामग्री व्यवस्थापन गरिएन भने वर्षाको समयमा सामग्री पाउन सकिँदैन, त्यसले परियोजनाको अन्य काममा समेत प्रभाव पार्न सक्छ ।’ 

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि सिमेन्टको अभाव देखिएको छ । सिमेन्ट भारतबाट ल्याउनुपर्ने भएकाले अभाव भएको हो । उपकरण आउन ढिलाइ र अन्य निर्माण सामग्रीको आपूर्तिमा समस्या देखिएपछि आयोजनाको काम प्रभावित हुने आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । 

‘विमानस्थलका लागि प्रयोग भइरहेको भारतको डाल्मिया सिमेन्टको अभावले आयोजनामा केही सुस्ती आएको छ । अब उही गुणस्तरको नेपाली सिमेन्ट प्रयोग गरेर कामलाई निरन्तरता दिने प्रयासमा छौं,’ उनले भने । भारतीय सिमेन्टको विकल्पका रूपमा नेपाली सिमेन्टको गुणस्तर परीक्षण गरी प्रयोग गर्ने भनिए पनि लकडाउनले समस्या भएको र यसलाई सुचारु गर्न प्रयास भइरहेको मुनकर्मीले बताए । उनका अनुसार विमानस्थलमा जडान गर्न विदेशबाट ल्याइएका उपकरण हाल भारतको कोलकाता बन्दरगाहमा रोकिएको छ । 

सन् २०१७ बाट निर्माण शुरू भएको पोखरा विमानस्थल सन् २०२१ को जुलाई १० सम्ममा सक्ने योजना छ । यसअघिको कामको प्रगतिले निर्माण कार्य ६ महीनाअघि नै सकिने अनुमान गरिएकोमा अब त्यो सम्भव नभएको आयोजना प्रमुख मुनकर्मी बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)