ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक वृद्धि संकुचित हुने : विश्व बैंक

चालू आवको वृद्धिदर १.५ देखि २.८ प्रतिशतको हाराहारी

२०७७ बैशाख, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । मुलुकको आर्थिक वृद्धिदर सरकारले राखेको लक्ष्यभन्दा निकै कम हुने विश्व बैंकले जानकारी दिएको छ । आइतवार साउथ एशिया इकोनोमिक फोकस सार्वजनिक गर्दै बैंकले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर १ दशमलव ५ प्रतिशतदेखि २ दशमलव ८ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको छ । 

कोरोनाका कारण दक्षिण एशियाको अवस्था ४ दशकयताकै खराब रहेको जनाउँदै बैंकले विप्रेषणमा कमी, पर्यटन तथा व्यापार क्षेत्रमा गिरावट, महामारीका कारण सीमाक्षेत्रमा भएको अवरोधका कारण नेपालको आर्थिक वृद्धि घट्ने बताएको हो । 

बैंकले कोरोना महामारीको प्रभावले हस्पिटालिटी, खुद्राव्यापार तथा यातायात क्षेत्रमा काम गर्ने न्यून आय भएका अनौपचारिक कामदारलाई बढी प्रभावित पार्ने बताएको छ । साथै, यसले नेपाललगायत दक्षिण एशियाली मुलुकमा असमानता तथा गरीबी बढाउनेसमेत बैंकले बताएको छ ।

बैंकका अनुसार अहिलेको अवस्था आर्थिक वर्षको अन्त्यसम्म रहेमा वृद्धि दर १ दशमलव ५ प्रतिशतमा सीमित हुनेछ भने त्यसअघि सुधार भए पनि वृद्धिदर २ दशमलव ८ प्रतिशतभन्दा माथि हुने छैन ।

आउँदा केही वर्ष अर्थतन्त्रका लागि कठिन रहने बैंकले बताएको छ । आगामी २ वर्ष पनि नेपालको आर्थिक वृद्धि सुस्त नै रहने प्रक्षेपण बैंकको छ । आउँदो आव २०७७/७८ मा पनि आर्थिक वृद्धि १ दशमलव ४ प्रतिशत देखि २ दशमलव ९ प्रतिशतसम्म हुन सक्ने बैंकको अनुमान छ । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा सामान्य सुधार भई आर्थिक वृद्धि दर २ दशमलव ७ प्रतिशतदेखि ३ दशमलव ६ प्रतिशतका बीच रहने बताइएको छ । 

अत्यावश्यक वस्तुबाहेकको आयात पनि रोकिएको छ । एकातिर सरकारी खर्च बढ्दै जाने र अर्कातिर राजस्व पनि न्यून संकलन हुने अवस्थामा बजेट घाटा बढ्दै जाने बैंकले अनुमान गरेको छ । मुलुकभरको लकडाउन, विप्रेषण र पर्यटन आगमनमा आउने कमीले सेवाक्षेत्रको वृद्धिलाई असर पुर्‍याउने बैंकको विश्लेषण छ । 

कोरोना संक्रमण रोकथाम र उपचारमा हुने खर्च, स्वास्थ्य सुविधा बढाउन हुने खर्च, सामाजिक सुरक्षा र स्थानीय तहहरूले महामारी नियन्त्रणका लागि खर्च गर्न तिनलाई दिइने वित्तीय स्थानान्तरणका कारण बजेट घाटा वृद्धि भई ७ दशमलव ३ प्रतिशत पुग्ने बैंकले बताएको छ । अर्कोतर्पm सुस्त आर्थिक वृद्धि र आयात संकुचन हुँदा सरकारको राजस्व प्रभावित हुने बैंकले जानकारी दिएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले कोरोनाले मुलुकको अर्थतन्त्रमा पारेको असरका कारण मुलुकको अर्थतन्त्रको गति कम्तीमा २ वर्ष पछि धकेलिएको बताउँछन् । उनका अनुसार यही अवस्था २ महीना रहिरहने हो भने मुलुकको अर्थतन्त्रले पुरानै लय लिन त्यति समय लाग्नेछ । २०७२ को भूकम्पपछि बाह्य स्रोत सहजै प्राप्त भएकाले मुलुकको अर्थतन्त्रले छिटो गति लिएको उनको विश्लेषण छ । ‘अहिले स्रोत जुटाउन सहज परिस्थिति छैन,’ उनले भने ।

बैंकका अनुसार सीमित स्रोत परिचालन क्षमताका कारण यस वर्ष नेपालको खुद ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ३५ प्रतिशत पुग्नेछ । ‘नेपालमा कोरोना प्रभावलाई हामीले नजीकबाट नियालिरहेका छौं,’ विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद जर्भोसलाई उद्धृत गर्दै विश्व बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो तत्कालको प्राथमिकता सरकार, निजीक्षेत्र र अन्तरराष्ट्रिय दातृ निकायसँग समन्वय गरी स्वास्थ्य सामग्री र उपकरण सहज उपलब्धताको सुनिश्चितता गर्नु र गरीब तथा जोखिमयुक्त समस्याका लागि सहायता उपलब्ध गराउनु हो ।’

अर्को बहुपक्षीय दाता एशियाली विकास बैंकले केही दिनअघि आफ्नो प्रक्षेपण सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धि यस वर्ष ४ दशमलव ३ देखि ५ दशमलव ३ प्रतिशतको बीचमा रहने बताएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)