पर्वत । पर्वतमा लकडाउनका बेला पनि विकासे आयोजनाको काम नरोकिने भएको छ । लकडाउनको कारण रोकिएका सडक, खानेपानी, सिँचाइ, भवन निर्माण लगायत काम नरोक्न शनिवार जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो । प्रशासनले सुरक्षाका न्यूनतम शर्त पालना गरी विकास निर्माणका कामलाई निरन्तरता दिन भनेको छ ।
त्यस्तै दैनिक अत्यावश्यक उपभोगका खाद्यवस्तु उत्पादन गर्ने उद्योग, चिनी तथा चिया उद्योग, पशुपन्छीको दाना उत्पादन गर्ने उद्योग र इँटाभट्टाहरू सञ्चालनमा ल्याउन पनि प्रशासनले अनुमति दिएको छ ।
प्रशासनले श्रमिक र अन्य जनशक्ति अनिवार्य रूपमा कार्यस्थलभित्रै रहनुपर्ने, उनीहरूलाई आवास तथा खानाको व्यवस्था कार्यस्थलभित्र गर्नुपर्ने, कार्यस्थलबाट बाहिर जान र कार्यस्थल बाहिर रहेका परिवारका सदस्य लगायत कुनै पनि व्यक्तिसँग सम्पर्कमा आउन नदिने शर्त तोकिएका छन् । त्यस्तै कार्यस्थलमा व्यक्ति–व्यक्तिबीच न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने मापदण्ड तय गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी प्रोटोकलको पालना गर्न, श्रमिक लगायत कार्यस्थलमा रहने सवैको दैनिक ज्वरो नाप्न, नियमित स्वास्थ्य जाँच गर्न, मास्क, स्यानिटाइजर तथा साबुनपानीको प्रयोग गर्न र एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
जिल्ला प्रशासनले तोकेको मापदण्डभित्र रहेर काम गरे–नगरेको प्रदेश सरकार, स्थानीय प्रशासन र स्थानीय तहबाट अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताएकी छिन् ।
जिल्लामा राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग, कालीगण्डकी लोकमार्ग, मोदी–लेखनाथ विद्युत् प्रसारण लाइन, कालीगण्डकी कोरिडोर विद्युत् प्रसारण लाइन लगायत ठूला आयोजना निर्माणाधीन छन् । लकडाउनका कारण सबै विकासका आयोजनाको काम बीचमै रोकिएको छ ।
प्रशासनको आदेशपछि मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा उपलब्ध मजदूर खटाएर नालीमा स्ल्याब राख्न शुरू गरिएको छ । तर कामदारको अभावले अन्य काम भने शुरू हुन नसकेको आयोजना प्रमुख आशिष थापामगरले जानकारी दिए । मोदीखोलामा निर्माणाधीन दुई जलविद्युत् आयोजनाले पनि काम थाल्ने तयारी गरेका छन् । यद्यपि मजदूर घर गएकाले तत्काल भौतिक निर्माण अगाडि बढाउन समस्या छ । तल्लो मोदीखोला जलविद्युत् आयोजना परीक्षणको तयारीमा छ भने मध्यमोदी जलविद्युत् आयोजनाको विद्युत्गृहको काम बीचमै काम रोकिएको छ ।
लकडाउनका कारण बीचमै रोकिएका आयोजनाको काम शुरू गर्न प्रशासनले अनुमति दिए पनि कामदार र कच्चापदार्थको समस्या रहेको लामा कन्स्ट्रक्सनका प्रतिनिधि गोविन्द भुसालले बताए ।