ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थतन्त्रलाई उकास्न पुनरुत्थान प्याकेज ल्याइने : प्रम ओली

आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत त्यस्तो प्याकेज आउने

२०७७ बैशाख, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सरकारले कोरोनाका कारण थलिएको अर्थतन्त्रलाई उकास्न पुनरुत्थान प्याकेज ल्याउने बताएको छ । नयाँ वर्ष २०७७ को शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो प्याकेज ल्याइने बताउनुभयो । 

अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन स्टीमुलस प्याकेज आवश्यक भएको सरोकारवालाहरूले बताइरहँदा प्रधानमन्त्री ओलीले पुनरुत्थान प्याकेज सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत सार्वजनिक गरिने बताउनुभयो । 

कोरोना महामारीको ग्राफलाई सीधा पारेपछि आर्थिक गतिविधिलाई तीव्रता दिन लगानीका नीति अपनाउने प्रधानमन्त्रीको भनाइ रह्यो । ‘जति बेला हामी यस महामारीको ‘ग्राफ’लाई सीधा पार्छौं त्यसपछि हाम्रा आर्थिक गतिविधिलाई तीव्रता दिन ‘लगानी, लगानी अनि फेरि लगानी’को नीति अपनाउने नै छांै,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । 

अहिले सरकारको अध्ययन तथा सर्वेक्षण, टुटेको उत्पादन सम्बन्धको कडी फेरि कसरी जोड्ने, अवरुद्ध उत्पादन प्रणालीलाई कसरी सुचारु गर्ने भन्नेमा केन्द्रित रहेको जनाउँदै उहाँले भन्नुभयो, ‘यसै अध्ययन र सिफारिशका आधारमा सरकारले ‘अर्थतन्त्रको पुनरुत्थानको प्याकेज’ नीति तथा कार्यक्रम र बजेटमार्फत सार्वजनिक गर्नेछ ।’

कोरोनापछिको क्षतिको आकलनका लागि सरकारले सम्बद्ध निकायहरूलाई परिचालित गरिसकेको तथा आउने हप्ता दिनसम्ममा महामारीको वेगको पूर्वानुमान हुन सक्ने हुँदा समग्र मूल्याङ्कनको प्रक्रिया त्यसपछि मात्रै निष्कर्षमा पुग्ने उहाँको भनाइ छ । 

प्रधानमन्त्रीकै शब्दमा आउँदा २ दिनको अवधिमा हुने प्रगतिका आधारमा कोरोना महामारीविरुद्धको नीति कस्तो हुने भन्ने सरकारले निर्णय गर्नेछ । 
कोरोना भाइरसबाट प्रभावित हुने सबै वर्ग र क्षेत्रका नागरिकको अभिभावकत्व सरकारले लिने प्रधानमन्त्रीको भनाइ थियो । सबैभन्दा पहिले जनतालाई महामारीबाट उम्काइनेछ, सँगसँगै रोजीरोटीको जोहो गरिनेछ । सरकार कोरोनाबाट प्रभावित निजीक्षेत्रलाई प्रोत्साहन उपलब्ध गराउन तथा कृषक र आम श्रमिकको आय निरन्तरताका लागि आवश्यक व्यवस्था गर्न लागिपरेको प्रधानमन्त्रीको भनाइ छ । 

महामारीका कारण धेरै कार्यक्रम स्थगित गर्नुपर्ने, केहीको निर्माणमा स्वतः विलम्ब हुने, बजेटलाई रकमान्तर गर्नुपर्ने, प्राथमिकताका क्षेत्रलाई पुनः व्यवस्थित गर्नुपर्ने अवस्थामा सरकार आइपुगेको उहाँको कथन थियो । ‘हामी सबैलाई थाहा छ, यति बेलाको सर्वोच्च र एकमात्र प्राथमिकता नागरिकको स्वास्थ्य सुरक्षा हो, यति बेलाको सबैभन्दा महत्त्वपूर्ण विकास निर्माण कार्य भनेको संक्रमण फैलिन नदिने कुरा सुनिश्चित गर्नु हो,’ उहाँले भन्नुभयो ।

संक्रमणको आशङ्का गरिएका व्यक्तिहरूको जति परीक्षण भइरहेको छ, पर्याप्त नभएको स्वीकार्दै संक्रमणमुक्त स्थितिको सुनिश्चितताका लागि परीक्षणको दायरालाई निरन्तर बढाउँदै लगिने उहाँले बताउनुभयो । 

प्रधानमन्त्रीका अनुसार विश्वव्यापी आर्थिक मन्दीका कारण वैदेशिक रोजगारी गुम्न सक्ने जोखिममा रहेका र मुलुकभित्रै बेरोजगार रहेका युवाहरूलाई केन्द्रित गरी रोजगारीका कार्यक्रम ल्याइनेछ । ‘कृषि, साना तथा मझौला उद्योगका अतिरिक्त स्वरोजगारीका नयाँ सम्भावनाहरूको खोजी गर्न सम्बद्ध क्षेत्रका व्यवसायी, विशेषज्ञहरू र स्वयं युवाहरूसँग मिलेर ठोस योजना अगाडि सारिनेछ,’ उहाँले भन्नुभयो । 

यो महामारीसँग जुध्न विकास साझेदारहरूबाट प्राप्त सहयोग प्रशंसनीय रहेको बताउँदै प्रधानमन्त्रीले विश्व बैंकसहित विभिन्न साझेदार संस्थाबाट १ हजार ५६३ मिलियन अमेरिकी डलर बराबरको रकमको व्यवस्था भइसकेको जानकारी दिनुभयो । 

चालू आवको बजेटको विभिन्न शीर्षकमा रहेका स्रोतलाई रकमान्तर गर्न तथा उच्च ओहोदामा रहेका र जनप्रतिनिधिले पाउने सुविधामा कटौती गर्न दिइएको सुझावमा आफ्नो गम्भीर रूपमा ध्यानाकर्षण भएको प्रधानमन्त्रीको भनाइ थियो । आवश्यक पर्दा ‘हुनेको गाँस काटेर, नहुनेलाई बचाउने’ नेपाली परम्परा रहेको बताउँदै मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म आफ्नो पारिश्रमिक ‘कोभिड १९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने प्रधानमन्त्रीले बताउनुभयो । 

परम्परागत सहायता नीति, कार्यक्रम तथा सहायताका उपकरणबाट मात्र अहिलेको संकटको समाधान नहुने भएकाले नियमित रूपमा उपलब्ध भइरहेकोभन्दा थप स्रोतसाधन अपरिहार्य हुने प्रधानमन्त्रीको धारणा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)