ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जहाजकोे बीमालाई ‘ग्राउन्ड रिस्क’मा रूपान्तरण गर्न अनुरोध

२०७७ बैशाख, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । लकडाउनका कारण उडान नभएपछि वायुसेवा सञ्चालक संघले जहाजहरूको बीमालाई ‘ग्राउन्ड रिस्क कभर’मा मात्र रूपान्तरण गर्न बीमा कम्पनीहरूलाई अनुरोध गरेको छ । वायुसेवा कम्पनीहरूले पठाएको पत्रको कुनै प्रतिक्रिया नआएपछि संघले नै सम्बद्ध बीमा कम्पनीहरूलाई आइतवार एक पत्र पठाइ यस्तो अनुरोध गरेको हो । हाल शिखर, हिमालयन जनरल र प्रभु इन्स्योरेन्सले मात्र हवाई बीमा गर्दै आएका छन् । वायुसेवा कम्पनीहरू आफैले सम्बद्ध बीमा कम्पनीहरूलाई ग्राउन्ड रिस्क कभरमा रूपान्तरण गर्न पत्र पठाएका थिए । तर, पत्रको प्रतिक्रिया नआएको संघको भनाइ छ । संघका प्रवक्ता योगराज कँडेलले कम्पनीले पठाएको पत्रको प्रतिक्रिया नआएपछि यस विषयमा बीमा समितिलाई समेत पत्राचार गरेको बताए ।

सामान्यतया हवाई बीमाले उडान गर्दा हुने जोखिम (फुलफ्लाइट रिस्क) र पार्किङ गर्दाको जोखिम (ग्राउन्ड रिस्क) गरेर दुई प्रकारको जोखिम वहन गर्छ । तर, कोरोना भाइरसको संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि वायुसेवा बन्द छ । त्यसैले हाललाई ग्राउन्ड रिस्क कभर हुने गरेर जहाजहरूको बीमा गराइदिन अनुरोध गरिएको कँडेलले बताए । 

बीमा पोलिसीमा नै निश्चित समयसम्म जहाजहरू सञ्चालन नभएमा पार्किङ गर्दा हुने जोखिमको मात्र रक्षावरण हुने व्यवस्था गरिएको हुन्छ । तर, विगतमा पनि बीमा पोलिसीहरू रूपान्तरण गरिएको छ । यसो गर्दा वायुसेवा कम्पनीहरूले पहिला भुक्तानी गरेको बीमाशुल्कमा ठूलो रकम फिर्ता पाउन सक्छन् ।

विमान उडान गर्दा दुर्घटनालगायत जोखिम बढी हुन्छन्, त्यसको दायित्व पनि धेरै हुन्छ । तर, विमान पार्किङ गर्दा जोखिम अत्यन्त न्यून हुन्छ । त्यो बीमालाई ग्राउन्ड रिस्कमा रूपान्तरण गरेमा तोकिएको अवधिको ९० प्रतिशतसम्म बीमा शुल्क फिर्ता हुन सक्ने संघको भनाइ छ । प्रवक्ता कँडेलले बीमा कम्पनीहरूले यस्तो व्यवस्था गरिदिए वायुसेवा कम्पनीहरूको सञ्चालन खर्च पनि कम हुने बताए । उनले भने, ‘लकडाउनका कारण अहिले वायुसेवा कम्पनीहरूले उडान गर्न सकेका छैनन् । यो अवस्थामा हाम्रो आम्दानी पनि छैन । लकडाउन अझै बढ्ने संकेत पनि छ । तसर्थ, बीमा कम्पनीहरूले ग्राउन्ड रिस्क कभरमा बीमा पोलिसी रूपान्तरण गरिदिनुपर्छ ।’

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सोमवारसम्म संघको पत्र प्राप्त नभएको बताए । ‘शायद, त्यो पत्र हाम्रो हात नपरेको होला । तर, हवाई बीमाका पोलिसीलाई कसरी रूपान्तरण गर्ने भन्ने विषय पुनर्बीमा कम्पनीमा भर पर्छ,’ उनले भने, ‘हवाई बीमामा अधिकांश जोखिम पुनर्बीमा कम्पनीलाई नै हस्तान्तरण गरिन्छ । त्यसैले बीमा कम्पनीहरूले त्यस्ता बीमाको कसरी पुनर्बीमा गरेका छन्, यो विषय त्यसमा भर पर्छ ।’

बीमा कम्पनीहरूले सीमित जोखिम आफूले राखेर अधिकांश जोखिम नेपाल पुनर्बीमा कम्पनी तथा विदेशी पुनर्बीमा कम्पनीलाई दिँदै आएका छन् । 

हिमालयन जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुशील वज्राचार्यले हवाई बीमाको पोलिसीलाई ग्राउन्ड रिस्क कभरमा रूपान्तरण गर्नु सामान्य प्रक्रिया नै भएको बताए । तर, बीमाशुल्क केकसरी मिलान गर्ने भन्ने विषय भने पोलिसी र पुनर्बीमा कम्पनीसँग गरिएको सम्झौतामा भर पर्ने उनको भनाइ छ । 

‘उडान नगर्दा जोखिम हुँदैन, त्यसैले पोलिसीका आधारमा सीमित सुविधाहरू दिनुपर्ने हुन्छ । तर, त्यो पोलिसीलाई पुनर्बीमा कम्पनीले कसरी लिएको छ, त्यसमा भर पर्छ । जुन विमानको साइज, पोलिसी र कम्पनीपिच्छे नै फरकफरक हुन सक्छ,’ उनले भने, ‘हाम्रो कम्पनीमा वायुसेवा कम्पनीहरूले पठाएको अनुरोध पत्रलाई प्रक्रियामा अगाडि बढाइसकेका छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)