ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामाजिक सुरक्षा कोष : ३३ हजार योगदानकर्ताको चैत महीनाको रकम जम्मा गर्न पत्राचार

२०७७ बैशाख, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३३ हजार योगदानकर्ताले चैत महीनामा सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने योगदान रकम कोषमा जम्मा गरिदिन अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । श्रम मन्त्रालयका अनुसार अहिलेसम्म कोषमा योगदान गर्न थालेका ८६१ प्रतिष्ठानमा कार्यरत ३३ हजार ३२७ योगदानकर्ताको ८८ करोड ६६ हजार रुपैयाँ जम्मा गर्न शुक्रवार पत्राचार गरिएको हो । कोषमा श्रमिक तथा कर्मचारीको न्यूनतम मासिक तलबबाट ११ प्रतिशत, निजी तथा गैरसरकारी क्षेत्रका रोजगारदाताका तर्फबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम हरेक महीना जम्मा गर्नुपर्ने कानूनी व्यवस्था छ । रोजगारदाताले आफ्ना श्रमिकलाई न्यूनतम पारिश्रमिकको २० प्रतिशत रकम उपदान तथा सञ्चय कोषबापत कोषमा जम्मा गर्नुपर्छ ।

कोभिड–१९ का कारण प्रभावित क्षेत्रहरूका लागि राहत प्रदान गर्ने सरकारद्वारा घोषित कार्ययोजनामा सामाजिक सुरक्षा कोषमा आबद्ध रोजगारदाता र तिनका श्रमिक तथा कर्मचारीले योगदान गर्नुपर्ने रकम सामाजिक सुरक्षा कोषमा सरकार आफैले जम्मा गर्ने निर्णय भएको उल्लेख छ । मन्त्रालयका सहसचिव सुमन घिमिरले सरकारले नै चैत महीनामा कोषमा जम्मा गर्नुपर्ने रकम बेहोर्ने गत चैतको पहिलो हप्ता निर्णय गरेकाले सोहीअनुसार सिफारिश गरिएको बताए । उनका अनुसार अर्थ मन्त्रालयले मन्त्रालयको सिफारिशका आधारमा रकम कोषमा जम्मा गरिदिनेछ । कोभिड–१९ को विश्वव्यापी महामारीको संकट लम्बिएमा सरकारले कोषमा आबद्ध रोजगारदाता कम्पनी र श्रमिक तथा कर्मचारीलाई यस्तो राहत प्रदान गर्दै जाने जानकारी घिमिरेले बताए । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिक तथा कर्मचारी र आश्रित परिवारले उपचार खर्च, दुर्घटना बीमा, अवकाशपछि पेन्सन र कार्यरत अवस्थामै मृत्यु भएमा पेन्सन या उपदान सुविधा पाउने कानूनी व्यवस्था छ । श्रम मन्त्रालयका अनुसार ग्लोबल आईएमई ग्रूप, गोल्यान समूह जम्ता ठूला व्यावसायिक घरानाहरूले सामाजिक सुरक्षामा योगदान गर्न थालिसकेका थिए । यस्तै अन्नपूर्ण, याक एन्ड यती, ह्यात रिजेन्सी, ¥याडिसनजस्ता पाँचतारे होटलसहितका विभिन्न रोजगारदाता कम्पनी र तिनमा कार्यरत श्रमिक तथा कर्मचारीको रकम समेत सामाजिक सुरक्षा कोषमा जम्मा हुँदै आएको थियो । 

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनेको संख्या बढिरहे पनि योगदानकर्ताको संख्या कम थियो । योगदानकर्तालाई मात्रै अहिले कोषमार्फत राहत दिइएको श्रम मन्त्रालयका अधिकारीहरू बताउँछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)