ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नवनियुक्त अध्यक्ष सुशील घिमिरेलाई  वायुसेवा निगम  सुधार गर्ने आफ्नै सुझाव चुनौती   

२०७७ बैशाख, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

वैशाख ३, काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्व सचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलवारको बैठकले पूर्वसचिव घिमिरेलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो । 

गत माघ महीनामा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजिनामा दिएपछि कार्यकारी अध्यक्षको पद रिक्त थियो । नेपाल सरकारका पूर्व पर्यटन सचिव घिमिरे नागरिक उड्डयन क्षेत्रका जानकार मानिन्छन् ।

निगमको सुधारको लागि निगमको बारेमा जानकारलाई नेतृत्व दिँदा सुधार ल्याउन सकिने अपेक्षासहित घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए । 

मन्त्री भट्टराईले मन्त्रायलको जिम्मेवारी सम्हाल्नासाथ घिमिरेलाई ‘नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल’ को संयोजक बनाएका थिए ।

मन्त्री भट्टराईले नेपाल वायुसेवा निगममा समग्र सुधार ल्याउने गरी आवश्यक सुझाव दिन घिमिरेको संयोजकत्वमा विसं २०७६ साउन २२ मा ५ सदस्यीय ‘नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेका थिए । घिमिरेको कार्यदलले १ असोज विसं २०७६ असोज १ मा प्रतिवेदन बुझाएको थियो । 

घिमिरे नेतृत्वको कार्यदलले निगमलाई पब्लिक लिमिटेड कम्पनीमा लैजान सुझाव दिएको थियो ।

यस्तै कार्यदलले व्यवस्थापकीय सुधार गर्न विदेशी रणनीतिक साझेदार ल्याउन पनि सुझाएको थियो । कार्यदलको सुझावमा  निगमलाई रू.२०० अर्ब अधिकृतपूँजी, रू.१५० अर्ब जारीपूँजी र १०० अर्ब चुक्तापूँजी सहीत सार्वजनिक निजी साझेदारीको नेपाल वायसुेवा कम्पनी लिमिटेड बनाउनु पर्ने उल्लेख थियो ।

कार्यदलले बुधवार पर्यटनमन्त्री योगेश भट्टराईलाई निगम सुधारको लागि १३ ओटा तत्कालीन र १२ ओटा दीर्घकालीन सुझाव सहीतको प्रतिवेदन बुझाएको थियो । 
पूर्व पर्यटन सचिवसमेत रहेका घिमिरेको काँधमा आफैले निगम सुधारको लागि दिएको प्रतिवेदन कार्यान्वयन गर्दै जटिल अवस्थामा रहको निगमलाई माथि उठाउनु पर्ने जिम्मेवारी आएको छ ।

घिमिरेले निगमको पुनसंरचना, व्यवस्थापकीय पुनसंरचना, संस्थागत पुनसंरचना, गन्तव्य विश्लेषण, बजार व्यवस्थापन, मानव श्रोत व्यवस्थापन लगायतको बिषयमा सुझाव दिएका थिए । 

नवनियुक्त  अध्यक्ष घिमिरेले आर्थिक अभियानसँग कुरा गर्दै निगमको सुधारका लागि विशेष कार्ययोजना बनाएर अघि बढ्ने बताए । उनले आफुले दिएका सुझावमात्र नभएर पछिल्लो पटक कोरोना महामारीबाट सिर्जित संकटलाई समेत चिर्दै निगमको सुुधार गर्नुपर्ने बताए । 

‘विश्वभरी नै कोरोनाले सबैभन्दा बढि प्रभावित बनाएको क्षेत्र उड्यन क्षेत्र नै हो, त्यो समस्याबाट हामी पनि अछुतो छैनौं, यो चुनौतीको सामना एकांकी रूपमा नभई सामुहिक प्रयासबाट मात्रै गर्न सकिन्छ,’ उनले भने ।

कार्यकारी अध्यक्ष घिमिरेले पहिले कोरोनाको संक्रमणको अवस्था हेर्दै थप रणनीति बनाउने बताए । उनले आफुहरुले दिएका सुझावहरु यस अघिको निगम नेतृत्वले कसरी कार्यान्वयन गरिरहेको छ, त्यो हेरेर मात्र अन्य सुझाव कार्यान्वयनमा जाने बताए । 

कार्यकारी अध्यक्ष घिमिरेले कोरोनाको. संक्रमणले विश्वका ठूला–ठूला विमान सेवा कम्पनीहरु आर्थिक संकटमा परेको र तिनीहरुलाई त्यहाँका सरकारहरुले राहत प्याकेज घोषणा गरिरहेकोले नेपाल सरकारले पनि राहतको विषेश प्याकेज ल्याउनु पर्ने हुन सक्ने बताए ।

‘यो सरकार मातहतकै निकाय हो, यसलाई कसरी बचाउने राज्य र सरकारको पनि चासोको विषय हो’, उनले भने, ‘तर के गर्ने भन्ने विषयमा निगमले वस्तुगत आधारहरु पक्कै पनि दिने छ ।’ उनले कार्यभार सम्हालेपछि पछिल्लो अवस्थाको अध्यन गर्दै नयाँ योजना अगाडि ल्याउने बताए ।  
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)