ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनको मारमा उद्यमी : नयाँ लगानीका उद्योग आएनन् सञ्चालनमा पुरानाको रोकियो क्षमता विस्तार

२०७७ बैशाख, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । वैशाख महीनाभित्रै सञ्चालन गर्ने लक्ष्य राखिएका मोरङ र सुनसरीका नयाँ उद्योगहरू लकडाउनको मारमा परेका छन् । युवा उद्यमीहरूले उद्योग स्थापना गर्न लगानी गरेको अर्बौंको लगानी जोखिममा परेको छ । साथै बैंकको ब्याजको भार पनि थपिएको छ । 

इटहरीका युवा उद्यमी विनोद पौडेलले रू. ६० करोडको लगानीमा तालतलैयामा ६ बिगाहाको क्षेत्रफलमा सुविधासम्पन्न वाटर पार्क चैतमा निर्माण सम्पन्न गरेका थिए । नयाँ वर्षअगाडि नै खोल्न ठिक्क पारिएको वेट एन्ड डाइनो एम्युजमेन्ट एन्ड वाटर पार्क (इपिल्यान्ड) लकडाउनकै कारण अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।

काठमाडौं बाहिरको सबैभन्दा ठूलो लगानीमा खुल्न लागेको यस वाटर पार्कमा ५० कर्मचारी छन् । आन्तरिक र भारतीय पर्यटकलाई लक्ष्य गरेर स्थापना गरिएको पार्क शुरू नै गर्न नपाएपछि आर्थिक भार परेको उनले गुनासो गरे । लकडाउनका कारण आम्दानी नभएपछि कर्मचारीको तलब र बैंकको ब्याज तिर्न निकै हम्मे परेको पौडेलले बताए । 

विराटनगरकै युवा व्यवसायीहरूको अर्को समूह अमेरिकी कम्पनी आरसी कोलाका ६ प्रकारका पेय पदार्थलाई नेपाली बजारमा वैशाखदेखि ल्याउने तयारीमा थियो । ८० करोड रुपैयाँको लागतमा मकवानपुरको मनहरी गाउँपालिका ६ सुनाचुरीमा भेन्चुरा बोटलर्स नामको उद्योग स्थापना गरी ६ ओटै पेय पदार्थको परीक्षण उत्पादनसमेत गरिसकिएको थियो । 

विराटनगरका उद्धवप्रसाद आचार्य नेतृत्वको दुर्गालक्ष्मी समूहले फ्रेन्चाइज लिएर आरसी कोला ब्रान्डका पेय पदार्थ नेपाली बजारमा ल्याउने तयारी गरेको थियो । तर, कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गतेबाट गरेको देशव्यापी लकडाउनको असर उनीहरूको उद्योगमा समेत पर्‍यो । 

बैंकको ब्याज र उद्योगका कर्मचारीलाई तलब दिनसमेत अहिले उनीहरूलाई गाह्रो हुने अवस्था आएको छ । ‘बजारमा उत्पादन ल्याउनै पाइएन । अब लक डाउन खुल्दाखुल्दै वर्षात् शुरू हुन्छ जुन पेयका बजारका लागि राम्रो समय मानिँदैन,’ आचार्यले भने, ‘चिसो पेयको बजार चैत अन्तिमदेखि जेठ अन्तिमको ३ महीना हो । यो बेला बजारमा पुग्न नसक्नु भनेको जितिसकेको खेल हार्नु जत्तिकै हो ।’ 

सञ्चालक आचार्यका अनुसार भेन्चुरामा प्रभु बैंकको ८० करोड रुपैयाँ ऋण लगानी छ । भेन्चुराले कोला, ओरेन्ज, लेमन, माउन्टेरियन, इनर्जी र जीराको स्वादमा पेय पदार्थ र माउन्ट भिटा ब्रान्डमा पानीको उत्पादन र बजारीकरण गर्ने अन्तिम तयारी गरेको थियो । जर्मनी, फ्रान्स र अमेरिकाबाट झिकाइएका मेशिन जडान गरी परीक्षण उत्पादनसमेत सकेर बजारमा जाने अन्तिम तयारी हुँदाहुँदै भएको लकडाउनले दाँतमा ढुंगा लागेसरह भएको आचार्यले बताए । 

स्थायी कर्मचारी २० जना रहे पनि १५० ले रोजगारी पाउने अवसरसमेत केही दिनलाई पछि सरेको उनले बताए । 

नेपालमा चप्पलको उत्पादन गर्ने विराटनगरको म्याजिक समूहले काठ र प्लाइउडको विकल्पमा प्रयोग गर्ने गरी ‘प्लास्टिक बेस’ वस्तुको उत्पादन र मार्केटिङ शुरू गर्दागर्दै लकडाउनकै कारण उत्पादन नै ठप्प पार्ने अवस्थामा पुर्‍यायो । 

इटहरी उपमहानगरपालिकाको खनारमा रहेको यो समूहको वन्डर म्याटेरियलले ‘अल्टवुड’ ब्रान्डमा पीभीसी र डब्ल्यूपीसीको चौखट बजारमा पुर्‍याउने तयारीमा थियो । करीब २५ करोड रुपैयाँको लागतमा स्थापना गरिएको नयाँ उद्योग बन्द गर्नु परेको उद्योगका प्रबन्धक महेश बाहेतीले बताए । 

नयाँ उद्योग मात्र होइन, पुराना उद्योगहरूले पनि आफ्नो क्षमता विस्तार गर्दागर्दै लकडाउन भएपछि मारमा परेका छन् । रिजाल ग्यास कम्पनीका सञ्चालन तथा मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजालले ग्यास उद्योग बढाउन ग्यास सञ्चित गर्ने तीन ठूला बुलेट ल्याए । सञ्चालन गर्न नै नपाई लकडाउन भएपछि ५ करोड रुपैयाँको उनको लगानी त्यतिकै भयो । ५० जनालाई रोजगारी दिनसक्ने गरी प्लान्ट थप गर्न लागेका उनलाई बैंकको ब्याजको भार थपियो । कोरोनाको समस्या यसरी महामारीकै रूपमा आउला भन्ने कल्पना नगरेका उद्योगीहरूले अहिले दैनिक घाटा बेहोर्नु परेको छ भने दैनिक रूपमा बढिरहेको बैंक ब्याजका कारण मानसिक तनाव पनि खप्नु परेको छ । ‘सरकारले सही ढंगले सम्बोधन गरेन भने उद्योगहरूको भविष्य राम्रो छैन,’ रिजालको भनाइ छ । 

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेलले युवाहरूले स्थापना गरेका नयाँ उद्योग मात्र होइन, सञ्चालनमा रहेका उद्योगसमेत लकडाउनका कारण समस्यामा रहेको बताए । सञ्चालनमा रहेका उद्योगले यो सिजनमा नै राम्रो व्यापार गर्ने भएकाले कच्चा पदार्थमा लगानी बढाएका बेला भएको लकडाउनले सबैलाई समस्यामा पारेको बताए । ‘उद्योगले आफ्ना मजदूरलाई घरमा नै बसे पनि तलब दिनुपर्छ,’ उनले भने । 

मजदूर समस्यामा पर्दा उद्योगीले हेर्नुपर्ने र उद्योगी समस्यामा पर्दा बैंकले आफ्ना सेवाग्राहीलाई हेर्नुपर्ने प्याकुरेलको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)