ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक रोजगार बचतपत्रको विक्री ३ महीनासम्म खुला

२०७७ बैशाख, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । वैदेशिक रोजगारीमा गएका श्रमिकको काम अहिले कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण ठप्पप्रायः छ । केही श्रमिक नेपाल फर्किसकेका छन् भने विदेशमा भएकाले पनि लकडाउनले गर्दा आम्दानी गर्न सकेका छैनन् । यही बेला नेपाल राष्ट्र बैंकले भने वार्षिक १० प्रतिशत ब्याजदरमा विनाजोखिम आम्दानी गर्न सकिने ४० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्रको विक्री खुलाएको छ । 

अहिलेको परिस्थितिमा यो बचतपत्र विक्रीमा चुनौती भए पनि सरकारको वार्षिक तालिका सूचीअनुसार विक्री खुला गरिएको राष्ट्र बैंकको भनाइ छ । यस्तो बेला बचतपत्र झट्टै विक्री हुन नसक्ने भएकाले करीब ३ महीनासम्म खुला गरिने राष्ट्र बैंक, अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए  । यो बचतपत्र वैशाख १ गतेदेखि असार २१ गतेसम्म विक्री खुला गरिएको छ । 

यसअघि करीब ३ सातासम्म विक्री अवधि खुला गर्ने गरिएको थियो । ‘जोखिमरहित ऋणपत्र मानिएको यो बचतपत्रको खरीद खासै प्रभावकारी नभएकाले यसपटक लामो अवधिसम्म विक्री खुलाइएको हो । कोरोना महामारी तथा लकडाउनका कारण विक्रीमा चुनौती छ, तर अब बजारबाट कस्तो प्रतिक्रिया आउँछ, त्यो पनि हेर्छौं,’ उनले भने । वैदेशिक रोजगारीमा गएकाहरूको आर्जन राष्ट्रिय पूँजी निर्माणमा परिचालन गर्ने उद्देश्यले सरकारले वैदेशिक रोजगार बचतपत्र जारी गर्दै आएको छ । यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महीना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुवा–आमा, श्रीमान्–श्रीमती, छोरा–छोरी मात्र)को नाममा खरीद गर्न सक्नेछन् । यो बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिन्छ । लगानीकर्ताले घटीमा रू. १० हजार र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जानेगरी आह्वान गरिएको रकमसम्म खरीद गर्न पाउनेछन् ।

उक्त बचतपत्र विक्री अवधिभर वैशाख २७, जेठ २७ र असार २७ गते गरेर ३ पटकसम्म निष्कासन गरिनेछ । यसमा गरिएको लगानी रकम २०८२ वैशाख, जेठ र असार २८ गते सावाँसहित फिर्ता हुने राष्ट्र बैंकले बताएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकको राष्ट्रऋण व्यवस्थापन विभागले बचतपत्र खरीद गर्नेका लागि ५ वर्षको अवधिसम्म ६/६ महीनामा ब्याज भुक्तानी हुनेगरी उक्त बचतपत्र विक्री गर्न लागेको हो । तर आम्दानी भएको ब्याजमा कर भने लाग्नेछ । वैदेशिक रोजगारमा गएकालाई सम्मान गर्दै उनीहरूको बचत परिचालन गर्न आन्तरिक ऋणको रूपमा बचतपत्र जारी गरिएको कार्यकारी निर्देशक भट्टले बताए । वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरी निष्कासन हुँदै आएको बचतपत्रका फाइदाबारे खरीदकर्ताले विस्तृतमा थाहा नपाएकाले यसको विक्री कम हुन सक्ने उनको अनुमान छ । ‘वैदेशिक रोजगारीमा गएका अधिकांशको पहिलो प्राथमिकता आधारभूूत आवश्यकता पूरा गर्नु भएकाले पनि यस्तो बचतपत्र न्यून संख्यामा विक्री हुने गरेको छ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)