ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोभिड–१९ बीमालेख जारी : अब कोरोना भाइरसले ल्याउने जोखिमको पनि बीमा

संक्रमित हुने वित्तिकै दावी भुक्तानी

२०७७ बैशाख, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

वैशाख ४, काठमाडौं । आम मानिसहरूले अब कोभिड–१९ (कोरोना भाइरस) बाट हुन सक्ने सम्भावित जोखिमको पनि बीमा गर्न सक्ने भएका छन् । बीमा समितिले बिहीवार लघुबीमा अन्तरगत कोभिड–१९ बीमा लेख जारी गरेपछि सेवाग्राहीहरुले यस्तो सुविधा पाउने भएका हुन् ।

 नेपालमा हालसम्म प्रचलित कुनै पनि बीमा लेखले कोरोना भाइरसको जोखिमलाई कभर गरेको थिएन ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दै गएपछि समितिले यस्तो बीमा लेख ल्याएको हो । बीमा समिति र नेपाल बीमक संघको बिहीवार सम्पन्न संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । 

समितिले निर्जीवन बीमा कम्पनीहरुलाई घातक रोगको बीमा लेख सरह नै यो बीमा कार्यक्रम अगाडि बढाउन निर्देशन पनि दिएको छ । समितिकाअनुसार आममानिसहरुले निर्जीवन बीमा कम्पनीहरुको लघुबीमा पुलमार्फत यस्तो बीमा गर्न सक्ने छन् ।

बीमा लेखको इस्यु म्यानेजर भने शिखर इन्स्योरेन्सलाई तोकिएको छ । यसमा २० प्रतिशत जोखिम नेपाल पुनर्बीमा कम्पनीले लिने बताइएको छ । बाँकी रहेको ८० प्रतिशत जोखिम भने २० निर्जीवन बीमा कम्पनीहरू बराबर रुपमा बिभाजन गरिने छ, जसअनुसार एक कम्पनीको भागमा ४ प्रतिशतमात्र जोखिम पर्ने देखिन्छ । 

समितिले यो बीमालाई रू. १ लाख र रू.५० हजारको बीमांक गरि दुई श्रेणीमा बिभाजन गरेको छ । रू.१ लाखको बीमा गर्ने व्यक्तिले रू. १ हजार बीमाशुल्क तिर्नु पर्नेछ । परिवारको नै बीमागर्दा भने प्रतिव्यक्ति रू.६०० मात्र बीमाशुल्क लाग्ने समितिको भनाइ छ । 

यस्तै रू.५० हजारको बीमागर्दा प्रतिव्यक्ति रू.५०० बीमाशुल्क लाग्ने बताइएको छ । परिवारको नै बीमागर्दा प्रतिव्यक्ति रू.३०० मात्र बीमाशुल्क लाग्ने समितिको भनाइ छ । 
समितिकाअनुसार बीमित व्यक्ति कोरोना भाइरस संक्रमित भएको पूष्टि हुनासाथ बीमांक बराबरको रकम भुक्तानी गरिनेछ । यद्यपि यसमा दावी १५ दिनको प्रतिक्षा अवधि लागू हुने बताइएको छ । 
यस्तै, कृषि बीमा तथा घुम्ती बीमाका लागि तोकिएको जिल्लामा कार्यरत कम्पनीहरुले सम्बन्धित जिल्लामा अनिवार्य रुपमा यसको कार्यान्वयन गर्नुपर्ने समितिको भनाइ छ । 

समितिका कार्यकारी निर्देशक राजु रमण पौडेले न्यून आयभएका नागरिकलाई लक्षित गरि यस्तो बीमालेख ल्याइएको बताए । ‘हामीले यो न्यून आयभएका नागरिकलाई लक्षितगरि ल्याएको योजना हो, तसर्थ यसलाई स्थानीयतह तथा गाउँ–गाउँमा पुर्‍याउन आवश्यक छ,’ उनले भने, ‘यसलाई सफल बनाउन बीमा क्षेत्र मात्र लागेर हुँदैन, स्थानीयतहले पनि सहयोग गर्न आवश्यक छ ।’

यस्तै युनाइटेड इन्स्योरेन्सका कामू कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले यस कदमले नेपाली बीमाबजार नयाँ उचाईमा पुगेको बताए ।

‘बीमाले महामारीलाई नसमेट्ने प्रचलन छ, तर हामीले महामारीलाई स्वीकार गर्ने बीमालेख ल्यायौं, यो राम्रो पक्ष हो,’ उनले भने, ‘साथै पुलमार्फत गर्दा यसमा जोखिम पनि न्यून छ, एक्लै भएको भए दावी भुत्तानी गर्न समस्या हुने थियो, पुलमार्फत गर्ने हुँदा यसमा त्यति आत्तिनुपर्ने अवस्था छैन ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)