ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाले पर्यटनमा पारेको असर : ६०८ ओटा फर्मले मात्र बुझाए एक खर्ब लगानी विवरण 

२०७७ बैशाख, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

वैशाख ४, काठमाडौं । सरकारले कोरोनाबाट पर्यटन र यससँग अन्तरसम्बन्धित क्षेत्रमा परेको प्रभावबारे सर्वेक्षणमा एक साताको समयमा ६०८ ओटा कम्पनीले रू.१ खर्ब लगानीको विवरण मात्र बुझाएका छन् ।
 

संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको निर्देशनमा  नेपाल पर्यटन बोर्डले एक साता अघिबाट पर्यटनका सबै क्षेत्रमा कोरोनाबाट परेको प्रभावबारे सर्वेक्षण शुरु गरेको थियो । तर लकडाउनको कारण बोर्डले अपेक्षा गरे अनुरुपको सूचना पाउन भने सकेको छैन् । 

कोरोनाबाट परेको यथार्थ क्षति पत्ता लाग्ने भएकाले वृहत सर्वेक्षण थालिएको भएपनि एक सातामा केवल ६०८ फर्मको रू.१ खर्ब बढिको लगानीको तथ्यांक मात्र उपलब्ध भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले जानकारी दिए । उनले यसको समय अरु एक साता थप गरी सकेसम्म सबै क्षेत्रको तथ्यांक  समावेश गरिने बताए । 

पर्यटकीय संघसंस्थाले गरेको प्रारम्भिक अनुमान अनुसार कोरोनाको कारण रू.४० अर्बभन्दा बढीको क्षति हुने छ । यस्तै लाखौं रोजगारी गुम्ने सम्भावना छ । 

बोर्डको सामान्य जानकारीमा पनि नेपालमा साना ठूला गरी पर्यटनसँग सम्बन्धित करीब २० हजार फर्म रहेकोले सकेसम्म धरै फर्महरुको जानकारी समावेश गर्न सकियोस भनेर समय थप गरिएको उनले बताए ।

 ‘यो सबै तथ्यांक संकलन गर्दा समग्र पर्यटन क्षेत्रको तथ्यांक आउने र अहिलेको महामारीको कारण पर्न गएको क्षतिको पनि विवरण लिन सकिन्छ, पर्यटन क्षेत्रका नेतृत्वदायी संस्थाहरुका माध्यमबाट पनि सकेसम्म धेरै विवरण आउने गरी बोर्डले काम गरिरहको छ,’  उनले भने । पर्यटन क्षेत्रमा भएका कम्पनी र उनीहरुले गर्ने वार्षिक कारोबारको अहिलेसम्म आधिकारिक निकायहरुसँग समेत यथार्थ तथ्यांक छैन । 

तथ्यांक कै अभावमा गत महीना कोरोना संक्रमण तथा रोकथाम उच्च स्तरिय समन्वय समितिको बैठकमा पनि धेरै पर्यटन सम्बद्ध संस्थाहरुले आ– आफनो क्षेत्रको लगानी र क्षतिको विवरण दिन सकेका थिएनन् ।व्यवसायीहरुले कोरोनाबाट पर्यटन क्षेत्र सबैभन्दा बढि प्रभावित भएको भन्दै राहत प्याकेज ल्याउन माग गरिरहेका थिए । 

पर्यटन मन्त्रालयको समन्वयमा उच्चस्तरिय समितिले भने पर्यटनमा पुगेको यकिन क्षतिबारे ठोस प्रस्ताव ल्याउन माग गरेको थियो । तर कुनै पनि निकायले  सबै व्यवसायीलाई समेट्ने किसिमको तथ्यांक उपलब्ध गराउन नसकेपछि विवरण बुझाउन भनिएको थियो ।

पर्यटनमा तथ्यांकको सबैभन्दा ठूलो अभाव रहेको बताउँदै उनले यो तथ्यांकले आगामी दिनमा सरकारको पर्यटन रणनीति निर्माणमा समेत सहयोग पुग्ने बताए । बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीका अनुसार अनुसार सर्वेक्षणमा अनलाइन सर्भेका लागि एयरलाइन्स, होटल, टुरिस्ट भेहिकल, र्‍याफ्टिङ, ट्रेकिङ, माउन्टेनरिङ तथा ट्राभल एन्ड टूरलगायतको छुट्टा– छुट्टै विवरणका लागि फारम भर्ने व्यवस्था गरिएको छ । 

सरकारले गरेको यो काममा आफुहरुको पूर्ण सहयोग रहेपनि लकडाउनको कारण सबै व्यवसायीहरुले आ–आफ्नो विववरण भर्न नपाएको नेपाल एशोसिएसन अफ ट्रावल एण्ड टुर्स एजेन्ट्स (नाटा) का अध्यक्ष अच्युत गुरागाईले बताए । 

धरै व्यवासीहरुका कार्यालय बन्द रहेको र उनीहरूका  काजजात कार्यालयमै रहेकोले पनि विवरण भर्न नपाएको उनले जानकारी दिए । 

‘यो कामको लागि सम्बन्धित छाता संस्थाहरुले पनि मातहतका व्यवसायीहरुलाई निर्देशन र जानकारी दिएकै छन् तर परिस्थती सहज छैन्, त्यसैले यो विवरण आउन समय लागेको हो,’ उनले भने । अध्यक्ष गुरागाईले लकडाउन नखुल्दासम्म यो समस्या जारी रहने र त्यसपछि मात्र विवरण आउने बताए ।  

बोर्डले व्यवसायीबाट संकलन गरेको तथ्यांक विश्लेषण गरी आगामी दिनमा गर्नुपर्ने काम, व्यवसायीलाई दिनुपर्ने सहुलियतको सिफारिस गरी पर्यटन मन्त्रालयमा पठाउने र त्यहाँबाट नीतिगत निर्णय भई सहमतिका लागि अर्थ मन्त्रालय लगिने बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए ।  

लकडाउनले पर्यटन क्षेत्र सबैभन्दा प्रभावित बनको छ । पछिल्लो एक महीनाभन्दा बढि समयदेखि नेपालमा अन्तरराष्ट्रिय र आन्तरिक उडान ठप्प छन् । सम्पूर्ण पर्यटकीय गतिविधि नै बन्द भएका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)