ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विप्रेषण १० % ले घट्न सक्ने : विज्ञ

लकडाउनपछि लाखौं नेपाली स्वदेश फर्किए रोजगारीमा चुनौती

२०७७ बैशाख, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

वैशाख ५, काठमाडौं । कोरोना महामारीका कारण चालू आर्थिक वर्षमा नेपालको विप्रेषण आप्रवाह करीब १० प्रतिशतले घट्न सक्ने अनुमान गरिएको छ । नेपाली कामदार वैदेशिक रोजगारीका लागी जाने मुलुकहरु स्वयम कोरोनाका कारण प्रभावित हुँदा श्रमिक कटौती हुनसक्ने र त्यसले समग्र विप्रेषण आप्रवाह प्रभावित हुने सरोकारवालाहरु बताएका छन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रवार आयोजना गरेको भीडीयो बार्तामा यो वर्ष नेपाल भित्रने विप्रेषण १० प्रतिशत घट्न सक्ने अनुमान गरिएको नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टले बताए ।

गएको वर्षमा नेपालमा रू.८ खर्ब ७९ अर्ब विप्रेषण भित्रिएको थियो । केन्द्रीय बैकले चालू आवमा ५ प्रतिशतले विप्रेषण बढ्ने अनुमान गरेको थियो । तर अब रू.८ खर्ब पनि आउन नसक्ने अनुमान केन्द्रीय बैकको छ । 

‘गत वर्ष १६ दशमलव ५ प्रतिशतले रेमिट्यान्स आप्रवाह वृद्धि भएको थियो, यो वर्ष हामीले सामान्य ५ प्रतिशत बढेर रू. ९ खर्बको हाराहारीमा  पुग्ने अनुमान गरेका थियौं’, उनले भने, ‘कोरोना महामारीले श्रम बजारलाई प्रभावित पार्दा विप्रेषण  आय घट्ने देखिएको छ ।’

उनले बहुपक्षीय दाताहरुबाट ऋण सहयोग लिनुपर्ने बताए । विश्व बैंक, एशियाली विकास बंैक जस्ता बहुपक्षीय दाताबाट सहयोग लिन सकिने बताए । 

‘सामान्य अवस्थामा हामी अन्तरराष्ट्रिय मुद्रा कोषबाट सहयोग लिदैनौं तर यतिबेला मुद्रा कोषले सरकारलाई बजेटरी सपोर्ट गर्न सकिने शर्तमा सहयोग गर्ने भनेको छ, त्यस्तो सहयोगलाई पनि सरकारको साधन परिचालनमा प्रयोग गर्न सकिन्छ’, उनले भने ।

राष्ट्र बैकले बहुपक्षीय संस्थाहरुबाट कर्जा लिएर निजी क्षेत्रलाई सहुलियत पूर्ण कर्जा दिनु राम्रो विकल्प हुन सक्ने भट्टले बताए । 

सहयोगी संस्थाहरु पनि यस बिषयमा सकारात्मक रहेको उनले बताए । यसले निजी क्षेत्रलाई उत्पादनको वातावरण सृजना हुने उनले दाबी गरे । 

‘अर्थतन्त्रमा स्थिर व्याजदर महत्वपूर्ण हो, पछिल्लो एक वर्षमा व्याज स्थिर अवस्थामा छ, अर्थतन्त्रमा व्याजदर स्थायित्व कायम गर्न सक्यौं भने त्यसले उद्योगी व्यापारी मात्रै नभएर निक्षेपकर्तालाई पनि सुनिश्चितता दिन्छ, बचत गर्नेलाई प्रोत्साहीत गर्छ’, उनले भने ।

कोरोना संक्रमणका कारण भुक्तानी सन्तुलनमा चुनौती ल्याउने भट्टको भनाइ छ । उनका अनुसार संक्रमणले सबैभन्दा बढी रेमिट्यान्स, पर्यटन, बैदेशिक लगानी, वैदेशिक सन्चितीबाट प्राप्त हुने आम्दानी प्रभावित हुन्छ । 

अहिले वैदेशिक रोजगारी अफ्ठयारो अवस्थामा रहेको भएपनि आगामी दिनमा विश्वका विभिन्न मुलुकमा नेपाली कामदारको थप माग हुनेसमेत उनले बताए । 

उनका अनुसार अवस्था सामान्य भएपछि कामदारको माग हुन्छ । तर त्यतिबेला हामीले तालिम प्राप्त कामदारलाई उच्च पारिश्रमिकका साथ गन्तब्य मुलुकमा पठाउन सकिन्छ । 

कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा नेपाली कामदार विचल्लीमा परेको श्रम आप्रवास विज्ञ एवं इक्वीडेम रिसर्च सेन्टरका दक्षिण एशिया निर्देशक रामेश्वर नेपालले बताए । 

श्रम सम्झौता भएका मुलुकहरुले समेत आप्रवासी कामदार र स्वदेशी कामदारमा विभेद गरेको उनले बताए । त्यसैले नेपाल सरकारले कुटनीतिक छलफल बढाउनु उनले सुझाए । 

‘धेरै मुलुकले आफना कामदार फिर्ता लैजान दबाब दिईरहेका छन् ,यहि अवस्थामा नेपाल आफैले लगानी गरी कामदार फिर्ता ल्याउनु भनेको मुलुकका लागि आर्थिक भार थपिनु हो, त्यसैले सरकारले कुटनीतिक तवरबाट नै छलफल चलाउनुपर्छ’, उनले भने  ।

अहिलेको अवस्थामा वैदेशिक रोजगारीमा रहेका कामदार स्वास्थ्य र आर्थिक रुपमा जोखिममा रहेको नेपालको भनाइ छ । धेरै कामदार एउटै क्याम्पमा बस्नु पर्ने तथा रोजगारदाताले सुरक्षाका लागि अपनाउनुपर्ने उपकरण प्रदान नगरेका कारण कामदारमा स्वास्थ्य जोखिम बढेको उनले बताए । 

इक्वीडेम रिसर्च सेन्टरले गरेको खाडीका ६ ओटा मुलुकमा गरेको अध्ययनले कतिपय नेपाली कामदार बेतलवी विदामा रहन रोजगारदाताले दबाब दिएका छन् । केही कामदारले भुक्तानी पाए पनि अधिकाशं कामदारले पारिश्रमिक पाएका छैनन् । 

त्यसैले यतिबेला संक्रमणको अवस्था सामान्य भए पनि नेपाल फर्कन चाहने नेपाली कामदारको संख्या धेरै भएको उनले बताए । 

‘यतिबेला सबै कामदारलाई फिर्ता गर्न सम्भव छैन, तर अलपत्र र अप्ठेरोमा परेको कामदारलाई सरकारले उद्धार गर्नुपर्छ’, उनले भने । जसरी व्यवसायीलाई अनुदानमा ऋण दिइएको छ, त्यसैगरी यस्ता कामदारलाई पनि निव्याजी कर्जा दिएर मुलुक भित्र नै रहने सक्ने वातावरण बनाउनु पर्ने उनले बताए । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)