ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाली काँग्रेसले भन्यो : राहत वितरणमा पक्षपातपूर्ण व्यवहार भयो

स्थानीय तहमा सर्वदलीय अनुगमनको ब्यवस्था गर्न माग

२०७७ बैशाख, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

वैशाख ६, काठमाडौं ।नेपाली कांग्रेसले राहत वितरण कार्य न्यायोचित, पारदर्शी र ब्यवस्थित बनाउन आग्रह गर्दै स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न माग गरेको छ । 

सत्तारूढ दलको नेतृत्वमा रहेका कयौं स्थानीय तहमा राहत वितरणमा पक्षपातपूर्ण व्यवहार भएको विवरण प्राप्त भएको भन्दै कांग्रसले सर्वदलीय अनुगमनको व्यवस्था गर्न माग गरेको  हो । 

शनिवार सो पार्टिका सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको कांग्रेस केन्द्रीय पदाधिकारीहरुको बैठकले अप्ठ्यारोमा परेका नागरिकलाई गाउँ पुग्ने प्रबन्ध अविलम्ब मिलाउन पनि सरकारलाई आग्रह गरेको छ । 

बैठकले केन्द्र र प्रदेश सरकारले घोषणा गरेको राहतको बजेट अझैसम्म निर्धारित क्षेत्र र व्यक्तिसम्म नपुगेको बिषयमा सरकारको ध्यानाकर्षण गराउने र तत्काल पुर्‍याउन आग्रह गर्ने निर्णय पनि गरेको छ ।

राजधानी लगायतका शहरमा खान बस्न संकट भएपछि पैदल घर फर्किरहेका नागरिकलाई सरकारले व्यवस्थापन गर्न ढिलाइ गरिरहँदा कहिंपनि कसैलाई पनि बाटोमा भोको पर्न नदिई गन्तव्यमा पुग्न सहजीकरण गर्न नेपाली कांग्रेसले आफ्ना कार्यकर्तालाई अपिल गरेको छ । 

यस्तै     साना ठूला सबै व्यवसायीहरुले व्यहोरिरहेको प्रतिकूल परिस्थितिमा निश्चित अवधिको व्याज मिनाहादेखि व्याज घटाउनेसम्मको निर्णयमा पुग्न सरकार र सम्बन्धित तहसमक्ष माग गर्ने निर्णय बैठकले गरेको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए । 

यसैगरी बैठकले संक्रमितको संख्या बढ्दै गएको एवं लकडाउनको अघिल्लो साता नेपाल फर्केका २ लाखभन्दा बढी नागरिकको न्यून संख्या मात्रै क्वारेन्टाइनमा बसेको पाइएको भन्दै परिक्षणलाई समुदाय स्तरमा पुर्‍याउन माग गरेको छ । 

नियमित रुपले संचालित अस्पतालमा कोरोना परिक्षण र उपचार गरिंदा त्यसले संक्रमण व्यापक फैलन भूमिका गरेको कतिपय देशको अनुभवबाट शिक्षा लिंदै ‘कोरोना उपचार केन्द्र’को अलग व्यवस्था गर्न बैठकले सरकार समक्ष माग गरेको छ । अन्य रोगका बिरामीले यस बीचमा कयौं जिल्लामा सहज उपचार पाउन नसकेको बिषयलाई गम्भीरतापूर्वक लिएर कार्य गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको प्रवक्ता शर्माले बताए । 

फ्रन्ट लाइनमा रहेर कार्य गरिरहेका स्वास्थकर्मीहरुलाई कतिपय ठाउँमा हतोत्साहित गर्ने व्यवहार भएको बिषयलाई गम्भीरतापूर्वक लिंदै बैठकले त्यस्तो स्थिति दोहोरिन नदिन एवं स्वास्थकर्मी र सुरक्षाकर्मीबीच कहीं पनि असमझदारी उत्पन्न हुन नदिन परिपक्व समन्वयका लागि पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले स्वास्थकर्मीहरुलाई पर्याप्त गुणस्तरीय पीपीई अझैपनि पुर्‍याउन नसकिएको बिषयलाई सरकारको गैह्र जिम्मेवारीको हदका रुपमा लिंदैं सबै अत्यावश्यक सामग्री तत्काल पर्याप्त प्रबन्ध गर्न र उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ । 

सामग्री खरीदको अनियमिततामा संलग्नलाई पदमुक्त गरेर अनुसन्धानलाई सघाउन अघिल्लो बैठकले गरेको माग पुनः दोहोर्‍याउँदै कांग्रेसले कुनैपनि प्रकृतिको दबाबबाट मुक्त रहेर अनुसन्धान गर्न अपिल गरेको छ । 

लकडाउन लम्बिएसँगै खाद्यान्नको अभाव बढ्दै जानेस्थिति दृष्टिगत गरेर अत्यावश्यक खाद्यान्न उत्पादनका लागि स्थानीय सरकारहरु मार्फत जरुरी छलफल, कृषकको स्वास्थ्य परिक्षण एवं कृषि क्षेत्रलाई आवश्यक राहतसम्मको प्रबन्ध गर्न र गराउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । 

बिदेशमा रहेका नेपाली श्रमिक, विद्यार्थी, व्यवसायी एवं अप्ठ्यारोमा परेका सबै नेपालीको सुरक्षा र राहतका लागि उच्च स्तरीय कुटनैतिक पहल बढाउन आग्रह गर्दै कांगैस बैठकले  नेपाली दूतावासहरुलाई नेपालीको हितमा बिशेष सक्रियता बढाउन तथा नेपाली जनसम्पर्क समिति, एनआरएन एवं अन्य सबै संस्थालाई साझा जिम्मेवारी बोधले कार्य गर्न अपिल गरेको प्रवक्ता शर्माले जानकार दिए ।      

अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्न आवश्यक अध्ययन र तयारी शुरु गर्न, उद्धार पश्चात् देशभित्र गर्नुपर्ने ब्यवस्थापन बारे पूर्व तयारीमा ढिलाइ नगर्न पनि बैठकले सरकारलाई सजग गराएको छ ।
 

महाकाली पारी धार्चुला आइपुगेका नागरिक लगायत अन्य सिमा नाकामा अलपत्र परेका नेपालीलाई ब्यवस्थित ढंगले प्रवेश दिने र क्वारेन्टाइनमा राख्ने कार्य अझैसम्म नगरिएकोमा सरकारप्रति दुःख व्यक्त गर्दै बैठकले मातृ शोकमा परेका युवालाई धार्चुलाबाट नेपाल ल्याई परिक्षण पश्चात् आमाको काममा सरिक हुन दिन र अन्य सबैलाई पनि क्वारेन्टाइनमा राख्ने गरि नेपाल ल्याउन पुनः माग गरेको छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)