ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अग्रवाल प्रकरणले निजी क्षेत्रमाथि प्रश्न उठ्यो : व्यवसायी 

२०७७ बैशाख, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल author avatar मिलन विश्वकर्मा

काठमाडौं । स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा शंकर समूहका सञ्चालक सुलभ अग्रवाल पक्राउले निजीक्षेत्रको छवि धमिल्याएको उद्यमी/व्यवसायीले बताएका छन् । 

मुलुक कोरोना महामारीसँग जुध्दै गरेको अवस्थामा एक प्रतिष्ठित घरानाका उद्यमीले कालोबजारी गर्नु अनुचित कार्य भएको टिप्पणी गर्दै उद्यमी/व्यवसायीले उक्त घटनामा समग्र निजीक्षेत्रलाई जोडेर टीकाटिप्पणी गर्नु उचित नहुने बताए । यद्यपि, यस्तो संकटका बेला कुनै व्यवसायीले कालोबजारी वा गैरकानूनी काम गरेमा निजलाई कानूनी कारबाही गर्नुपर्ने उनीहरूको सुझाव छ ।

मुलुकको ठूलो व्यावसायिक समूहसँग सम्बद्ध अग्रवाल चैत २५ गते ज्वरो नाप्ने थर्मल गन बढी मूल्यमा विक्री गरेको आरोपमा रंगेहात पक्राउ परेका थिए । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको विशेष टोलीले गत चैत २५ गते उनलाई पक्राउ गरेको थियो । त्यसपछि महानगरीय प्रहरी परिसरले उनीमाथि कालोबजारी ऐनअन्तर्गत मुद्दा अगाडि बढाएको छ । 

प्रहरीका अनुसार अग्रवालले रू. ३ हजार ५०० पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा विक्री गरेका थिए । प्रहरीले उनीबाट ६७ थान थर्मल गन बरामद गरेको छ । 

नेपालका लागि किर्गिस्तानका अवैतनिक महावाणिज्यदूतसमेत रहेका अग्रवाल प्रकरणले समग्र निजीक्षेत्र शंकाको घेरामा आयो नै, अवैतनिक महावाणिज्यदूतहरूको औचित्यमाथि पनि प्रश्न उठ्यो । 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अग्रवाल पक्राउको विषयमा निजीक्षेत्रलाई जोडेर टिप्पणी गर्नु गलत भएको बताए । अग्रवाल प्रकरणपछि अवैतनिक वाणिज्यदूतहरूले पाउँदै आएको सुविधा नेपाल सरकारले तत्कालका लागि हटाएको छ । परराष्ट्र मन्त्रालयले अवैतनिक दूतहरूले पाउँदै आएको सवारीसाधनमा नीलो प्लेट र झन्डा राख्ने सुविधा खोसेको हो । नेपालका लागि दक्षिण अफ्रिकाका अवैतनिक दूत तथा महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठ सुलभको अनुचित कार्यले समग्र अवैतनिक दूतहरूमाथि नै प्रश्न उठाएको बताउँछन् । ‘यस्तो संकटका बेलमा सुलभले दुईओटा गलत काम गरेको देखिन्छ, एक, नीलो प्लेटको गाडीको दुरुपयोग र अर्को अनुचित नाफा लिने काम । यसमा कानूनअनुसार कारबाही हुनुपर्छ । सरकारले गर्ने कारबाहीका विषयमा हाम्रो केही भन्नु छैन । 

उनको बदमासीले गर्दा राम्रो काम गरिरहेका अन्य अवैतनिक दूतहरूको पनि सुविधा खोसियो । उनीहरूसमेत बदनाम हुनपुगे,’ श्रेष्ठले भने । महासंघका कार्यकारिणी सदस्य गणेशप्रसाद लाठले संकटमा कुनै व्यवसायीले कालोबजारी गरेको प्रमाणित भएमा कारबाही गर्नुपर्ने बताए । ‘व्यापारीले गलत गरेको छ भने ऊ अवश्य नै कारबाहीको भागीदार हुन्छ । तर, यो प्रकरणमा सबै व्यापारी उस्तै मनोवृत्तिका हुन्छन् भनेर प्रचार भइरहेको छ । त्यसमाथि पनि एउटा व्यापारिक समुदाय विशेषलाई लाञ्छित गर्ने प्रवृत्ति देखिएको छ, यो गलत हो,’ उनले भने । त्यस्तै भनाइ महासंघका वाग्मती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठको पनि छ । अग्रवाल गलत भएमा कानूनअनुसार कारबाही हुनुपर्ने श्रेष्ठ बताउँछन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया संकटको समयलाई कसैले पनि अनुचित आर्जनको माध्यम बनाउनु हुँदैन भन्ने धारणा आफ्नो संघको रहेको बताउँछन् । ‘हामीले लकडाउन शुरू भएदेखि नै यो आग्रह गर्दै आएका छौं । थर्मल गनमा कालोबजारी भएको प्रकरण अहिले अनुसन्धानमै भएकाले अनुसन्धानपछि सत्यतथ्य बाहिर आउने नै छ । कालोबजारी गर्ने छूट कसैलाई पनि हुनु हुँदैन,’ उनले भने । अग्रवाल प्रकरणको बाछिटा नेपाल स्टील रोलिङ मिल्स एशोसिएशनमा पनि देखिएको छ, जसमा अध्यक्ष सुलभका भाइ साहिल अग्रवाल अध्यक्ष छन् । सुलभको पक्राउपछि साहिलले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने एशोएिशनका अन्य सदस्यको माग छ । त्यससँगै साहिलले एशोसिएशनका तर्फबाट सरकारसँग विभिन्न विषयमा सहयोग मागेको कुराप्रति पनि उनीहरूको आपत्ति छ ।

जगदम्बा सिमेन्ट, छड र धागो उद्योगका सञ्चालक अग्रवाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुईपटक गरेर १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ, जुन म्याद शनिवार सकिएको छ । थप म्यादका लागि प्रहरीले आज (आइतवार) अग्रवाललाई जिल्ला प्रशासनमा पेश गर्दै छ । साथै, जिल्ला सरकारी वकीलको कार्यालयले अनुसन्धान अपुरो भएको भन्दै अनुसन्धानको प्रतिवेदन (मिसिल) प्रहरीलाई नै फिर्ता पठाएको छ । अब थप अनुसन्धान गरेर उक्त मिसिल जिल्ला सरकारी वकीलको कार्यालयमा पेश गरिने प्रहरीको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)