ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राप्रपाद्वारा तत्काल उपयुक्त वित्तीय र मौद्रिक कार्ययोजना तयार गर्न आग्रह

संकटको घडिमा अनियमितता, भ्रष्टाचार र कालोबजारी गर्नेलाई कार्वाही गर्न माग

२०७७ बैशाख, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

वैशाख ७, काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्रमा गंभीर मन्दि देखापर्न थालिसकेको उल्लेख गर्दै प्रतिकुल प्रभावलाई न्यूनिकरण गर्न अहिले नै उपयुक्त वित्तीय र मौद्रिक कार्ययोजना तयार गर्न आग्रह गरेको छ । साथै, मजदूर, रोजगारदाता, उद्योग वाणिज्य, कृषि, पर्यटन लगायतका क्षेत्रलाई सहुलियत र  सुविधा उपलब्ध गराउन पनि राप्रपाले माग गरेको छ । 

कोरोना भाइरसको नेपाल जस्तो अल्पविकसित देशलाई झन ठूलो असर पारेकोले अन्तरराष्ट्रिय समुदाय र फोरमहरुमा अल्पविकसित र बिकासोन्मुख राष्ट्रहरुले लिएको ऋणमा आगामी दुई वर्षसम्मको लागि  व्याज मिनाह गर्न, र अल्पविकसित राष्ट्रहरुले तिर्नुपर्ने कुल ऋणको कम्तिमा ५० प्रतिशत मिनाह गर्ने प्रस्ताव गर्न आग्रह गरेको छ । 

कोरोनाको कारण बैदेशिक रोजगारीको क्षेत्रमा नेपाललाई पर्ने प्रभावलाई न्यूनिकरण गर्न अहिलेदेखि नै अल्पकालिन र मध्यमकालिन रोजगारी प्रवर्द्धन सम्बन्धि कार्यक्रम तयार गर्न पनि उसले प्रेस विज्ञप्ति मार्फत आग्रह गरेको छ ।

जागिरबाट निकालिएका, सम्बन्धित सरकार र रोजगारदाताले  जिम्मेवारी नलिएका र अलपत्र परेका नेपाली नागरिकहरुलाई विमान चार्टर गरेर भएपनि स्वदेश फर्काउने तथा अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने र महामारीको बेला परिवारका साथ रहने चाहना बोकेर कष्टकर यात्रा सहंदै नेपाल–भारत सिमाना सम्म आईपुगेका नेपाली नागरिकहरुलाई स्वास्थ्य परीक्षण गरि देशभित्र ल्याउने र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न पनि राप्रपाले माग गरेको छ । 

कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानीको निमित्त बाहेक  भारत र चिनसंगको  सिमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यावसायिक अन्तरराष्ट्रिय उडान बन्द गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदै सयौं किमि हिंड्दै घर फर्किरहेका मजदूर, किसान र सर्वसाधारणलाई सर्वोच्च अदालतको आदेश अनुरुप प्रदेश तथा स्थानीय सरकारको सहयोगमा गन्तव्य सम्म पुर्‍याउन अनुरोध गरेको छ ।

यस्तै उसले कोरोनाको कारण प्रभावित पशुपालन, कुखुरापालन, माछापालन, दुग्ध व्यवसाय लगायत कृषी सम्बन्धि अन्य व्यवसायलाई परेको र भविष्यमा पर्न सक्ने नकरात्मक प्रभावलाई दृष्टिगत गर्दै अल्पकालिन र दीर्घकालिन राहत प्याकेज कार्यान्वन गर्न र भविष्यमा खाद्य संकट आउन नदिन आवश्यक तयारी गर्न पनि सरकारसँग आग्रह गरेको छ । 

यसैगरी उसले संकटको घडीमा अनियमितता, भ्रष्टाचार र कालोबजारी गर्ने जोसुकै भएपनि अबिलम्ब कार्वाही गर्न माग गरेको छ । । लकडाउन घोषणा गर्ने बाहेक अन्य कतिपय क्षेत्रमा सरकारको कार्य प्रभावकारी हुन नसकेको भन्दै राप्रपाले सरकारी काममा समन्वय र चेन अफ कमाण्ड अत्यन्त कमजोर रहेको टिप्पणी गरेको छ । 

लकडाउन लगायतका सरकारी निर्णयहरु कार्यान्वयन गर्ने क्रममा सरकारी संयन्त्र सहिष्णु र संवेदनशील रहनु जरुरी रहनु पर्नेमा महामारीको अग्रिम पक्तिमा रहेर कामगर्ने चिकित्सक र कतिपय स्थानमा सर्वसाधारण माथि ज्यादती भएको भन्दै यस्ता कार्य दोहोरिन नदिन आग्रह  छ ।

राप्रपाका अध्यक्षत्रय पशुपति शमसेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाद्वारा जारी संयुक्त विज्ञप्तिमा महामारी फैलिएको महीनौं भैसक्दा पनि स्वास्थ्य सामग्री र व्यक्तिगत सुरक्षा साधन अझै पर्याप्त मात्रामा आपूर्ति हुन नसक्नुले सरकारको कार्यशैली प्रभावकारी नरहेको भन्दै यसर्तफ तत्काल ध्यान दिन आग्रह गरिएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)